के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

२०८३ जेठ २२ शुक्रवार
सारांश
  • जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणमा पहिलो पटक ४८ टोलीको सहभागिता रहनेछ । साविक विजेता अर्जेन्टिना पुनः कप्तान लियोनेल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

 

छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने अवसर

 

मेसीले पहिलो विश्वकप सन् २००६ मा खेलेका थिए । त्यसपछि उनले २०१०, २०१४, २०१८ र २०२२ संस्करणमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका छन् । २०२६ को विश्वकपमा मैदान उत्रिएसँगै उनी आफ्नो छैटौँ विश्वकप खेल्ने खेलाडी बन्नेछन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ पनि यो उपलब्धिनजिक रहेका छन् । तर मेसी अर्जेन्टिनाबाट छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन् ।

 

विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान पछ्याउँदै मेसीले हालसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल गरेका छन् । उनी अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा छ । उनले २४ खेलमा १६ गोल गरेका थिए । यदि मेसीले २०२६ विश्वकपमा चार वा सोभन्दा बढी गोल गर्न सके, उनले क्लोजेलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् । अर्जेन्टिनाको बलियो टोली र मेसीको अनुभवलाई हेर्दा यो उपलब्धि असम्भव मानिएको छैन ।

 

पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी बन्ने सम्भावना

 

मेसीले २००६, २०१४, २०१८ र २०२२ विश्वकपमा गोल गरिसकेका छन् । यदि उनले २०२६ संस्करणमा पनि कम्तीमा एक गोल गरे भने पाँच फरक विश्वकपमा गोल गर्ने विश्वका दोस्रो खेलाडी बन्नेछन् । हाल यो कीर्तिमान केवल क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकपमा गोल गरेका थिए । मेसीले यो उपलब्धि हासिल गरे दक्षिण अमेरिकाबाट पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बन्नेछन् ।

 

सर्वाधिक निर्णायक असिस्टको कीर्तिमान पनि नजिक

 

मेसी केवल गोलकर्ता मात्र होइनन्, गोल सिर्जना गर्ने खेलाडीका रूपमा पनि परिचित छन् । उनले विश्वकपमा हालसम्म आठ निर्णायक असिस्ट गरेका छन् । यस सूचीमा उनी अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनासँग बराबरीमा छन् । यदि २०२६ विश्वकपमा उनले एक निर्णायक असिस्ट थप्न सके अर्जेन्टिनाका लागि विश्वकप इतिहासमा सर्वाधिक निर्णायक पास दिने खेलाडी बन्नेछन् । विश्वकप इतिहासमा सर्वाधिक नौ निर्णायक असिस्ट दिने कीर्तिमान पश्चिम जर्मनीका फ्रिट्ज वाल्टरको नाममा छ । मेसी यो कीर्तिमान बराबरी गर्न एक र तोड्न दुई निर्णायक पास टाढा छन् ।

 

कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्ने लक्ष्य

 

मेसीले २०२२ मा अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए । यदि उनले २०२६ मा पनि टोलीलाई उपाधि दिलाउन सके विश्व फुटबल इतिहासमा कप्तानका रूपमा दुई पटक विश्वकप जित्ने पहिलो खेलाडी बन्नेछन् । विश्व फुटबलका धेरै महान कप्तानले विश्वकप उचाले पनि कसैले दुई पटक कप्तानका रूपमा यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

 

अर्को ऐतिहासिक उपलब्धिको सम्भावना

 

मेसीको कप्तानीमा अर्जेन्टिना २०१४ र २०२२ विश्वकपको फाइनलमा पुगिसकेको छ । यदि अर्जेन्टिना २०२६ मा पनि फाइनलमा पुग्यो भने मेसी विश्वकप इतिहासमा आफ्नो टोलीलाई तीन पटक फाइनलसम्म पुर्‍याउने पहिलो कप्तान बन्नेछन् । कतार विश्वकप २०२२ जितेपछि धेरैले मेसीको विश्वकप यात्रा समाप्त भएको अनुमान गरेका थिए । तर २०२६ मा उनी फेरि अर्जेन्टिनाको आशा र भरोसाको केन्द्र बनेका छन् । यसपटक उनको लक्ष्य केवल अर्को विश्वकप उपाधि जित्नु मात्र होइन, दशकौँदेखि कायम रहेका ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाउनु पनि हुनेछ । यदि मेसीले आफ्नो लय कायम राख्न सके, फिफा विश्वकप २०२६ ले उनको महान करियरमा अर्को स्वर्णिम अध्याय थप्न सक्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार