महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति गगन थापाको अपिल

२०८३ भाद्र ३१ बुधवार
सारांश
  • नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन्

काठमाण्डौ, ३१ भाद्र । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन् ।

 

सभापति थापाले संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् । पार्टीभित्र फरक मत र असमझदारी हुनसक्ने भए पनि संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।

 

उनले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने बताएका छन् । वडा तहदेखि केन्द्रसम्मका अधिवेशनमा उच्च मनोबलका साथ सहभागी हुन उनले पार्टीका सबै तहका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

 

पार्टीले २०८२ पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागी गराउने निर्णय गरेको थापाले बताएका छन् । उनका अनुसार सदस्यता व्यवस्थापन समितिले सोहीअनुसार सदस्यताको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ ।

 

यसैगरी, विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने व्यवस्था गरिएको उनले बताएका छन् । त्यसैले उनीहरू १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुने भन्दै कुनै द्विविधामा नपर्न थापाले आग्रह गरेका छन् ।

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा हुने कार्यतालिका छ । असोज ३ गते वडा तहबाट सुरु हुने अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न उनले सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार