भारतीय सेनाको शक्ति र सुरक्षामा नेपाली वीरताको प्रशंसा

२०८२ माघ २८ बुधवार
सारांश
  • सुरक्षा चुनौतीका बारेमा बोल्दै इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले सीमा–पार आतंकवादको प्रत्यक्ष प्रभाव भारतसँगै नेपालमा पनि पर्ने जोखिम औंल्याए।

काठमाडौं: नेपाल–भारत सम्बन्धलाई सामरिक, सुरक्षा र जनस्तरमा थप सुदृढ बनाउने उद्देश्यका साथ राजधानीमा ‘नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न भएको छ। नेपाल–भारत अन्तर्राष्ट्रिय सहकार्य तथा संलग्नता संस्थाद्वारा आयोजित उक्त कार्यक्रम ‘क्षेत्रीय लचिलोपन: नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरण’ विषयमा केन्द्रित थियो। कार्यक्रममा दुवै देशका सुरक्षा विज्ञ, कूटनीतिज्ञ र प्राज्ञिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

भारतीय सेनाको प्रतिष्ठित थिंक ट्यांक ‘युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डिया’ का महानिर्देशक एवं अवकाशप्राप्त उप–नौसेना प्रमुख संजय जसजित सिंहले भारतीय सेनाको गौरवमय इतिहासमा नेपाली साहसको प्रशंसा गरे। उनले भने, “भारतीय सेनाको शक्ति र राष्ट्रिय सुरक्षाको अग्रपंक्तिमा नेपाली वीरता सधैं अग्रणी रहँदै आएको छ।”

 

चर्चित ‘अग्निवीर’ योजनाबारे स्पष्ट पार्दै सिंहले यो योजना नेपाली युवाहरूका लागि पनि भारतीय नागरिक सरह नै खुला रहेको जानकारी दिए। उनले यसलाई १९७० अघिको ‘कलर सर्भिस’ (गैर-पेन्सनयोग्य सेवा) सँग तुलना गर्दै यो योजनाले अनुशासित र सशक्त युवा जनशक्ति उत्पादन गरी समाजलाई समृद्ध बनाउन र मानव पुँजीमा लगानी गर्न मद्दत पुर्‍याउने दाबी गरे।

 

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा ‘नेटस्ट्र्याट’ (NatStrat) का संयोजक राजदूत पंकज सरनले नेपालका युवाहरूसँगको संवादबाट आफू निकै उत्साहित भएको बताउँदै भविष्य निर्माणमा दुवै देशका युवाहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।

 

सुरक्षा चुनौतीका बारेमा बोल्दै इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले सीमा–पार आतंकवादको प्रत्यक्ष प्रभाव भारतसँगै नेपालमा पनि पर्ने जोखिम औंल्याए। त्यस्तै, ‘काउन्सिल फर स्ट्राटेजिक एण्ड डिफेन्स रिसर्च’ का सह-संस्थापक डा. गौरव सैनीले खुला सीमाका कारण फाइदा र चुनौती दुवै रहेको बताए। उनले मानव बेचबिखन, लागूऔषध ओसारपसार र नक्कली मुद्रा को समस्या साझा चुनौती रहेको उल्लेख गर्दै सन् २०२६ जनवरीमा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे।

 

राजनीतिक तथा सुरक्षा विश्लेषक अवकाशप्राप्त मेजर जनरल बिनोज बस्न्यातले नेपालको वर्तमान राजनीतिक अवस्था र ‘जेन-जी’ (Gen Z) पुस्ताको असन्तुष्टिबारे चर्चा गरे। उनले केवल निर्वाचनले मात्र रणनीतिक स्थिरता नआउने तर्क गर्दै पुस्तागत नवीकरण र संस्थागत सुधारको आवश्यकता औंल्याए। निर्वाचनपछिको अवस्थालाई ‘रणनीतिक समाधान’ भन्दा पनि ‘रणनीतिक विराम’ को संज्ञा दिँदै उनले सबै पक्षबीच समावेशी संवाद हुनुपर्नेमा जोड दिए।

 

पीईआई (PEI) का निर्देशक अनुराग आचार्यले नेपाल-भारत सम्बन्धलाई भौतिक, व्यापारिक र डिजिटल कनेक्टिभिटीका तीन खम्बाले बलियो बनाएको बताए। उनले प्रविधि, धार्मिक-सांस्कृतिक पर्यटन र खेलकुद जस्ता क्षेत्रमा सहकार्य बढाएर दुवै देशको अर्थतन्त्रलाई लाभ पुर्‍याउन सकिने धारणा राखे।

 

NIICE का कार्यक्रम संयोजक बिबेक ध्वज थापाले भारतलाई ‘उपनिवेशोत्तर शक्ति’ का रूपमा नभई एक ‘रणनीतिक साझेदार’ का रूपमा हेर्नुपर्ने बताए। उनले जलवायु परिवर्तन र जलस्रोत व्यवस्थापन जस्ता साझा मुद्दामा ‘युवा जलवायु फेलोसिप’ जस्ता कार्यक्रममार्फत ‘सफ्ट पावर’ विस्तार गर्नुपर्ने सुझाव दिए।

 

जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक संगीता थाप्लियालले थिंक ट्यांक र प्राज्ञिक केन्द्रहरूले नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै दुवै सरकारले अनुसन्धान र सहकार्यमा थप लगानी गर्नुपर्ने बताइन्।

 

कार्यक्रमको समापन गर्दै NIICE की निर्देशक सुमित्रा कार्कीले दुई देशबीचको समझदारीलाई अझ गहिरो बनाउन संस्थागत सहयोग अपरिहार्य रहेको बताइन्। उनले भारतमा ‘नेपाल अध्ययन’ र नेपालमा ‘भारत अध्ययन’ लाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै ज्ञानको आदानप्रदानले मात्रै आपसी विश्वासको आधार बलियो हुने विश्वास व्यक्त गरिन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार