अमेरिकासँग वार्ता गर्न इरानका सात सर्त फेरि अघि

८ मार्ग, २०८३
सारांश
  • अमेरिकाले दिइरहेको धम्की र अपमानजनक अभिव्यक्तिलाई उसकै निराशाको संकेतका रूपमा व्याख्या गर्दै उनले इरान आफ्नो अडानबाट पछि नहट्ने बताएका छन्।

काठमाडौं : अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि आफ्नो देशको अडान यथावत् रहेको बताएका छन्। उनले अमेरिकासँग सम्झौता गरी युद्ध अन्त्य गर्न इरानले अघि सारेका पुरानै सात सर्त पूरा हुनुपर्ने स्पष्ट पारेका छन्।

 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्सका अनुसार गलिबाफले सात सर्त पूरा नभएसम्म इरानले कुनै कदम नचाल्ने र वार्तासमेत नगर्ने बताएका हुन्।

 

अमेरिकाले दिइरहेको धम्की र अपमानजनक अभिव्यक्तिलाई उसकै निराशाको संकेतका रूपमा व्याख्या गर्दै उनले इरान आफ्नो अडानबाट पछि नहट्ने बताएका छन्।

 

‘हाम्रो अडान पहिले नै स्पष्ट छ। इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन्।

उनले अमेरिका र इजरायलबाट हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन्। अमेरिका र इजरायलले गलत आकलन गरेमा युद्धको भौगोलिक दायरा थप विस्तार हुन सक्ने उनको भनाइ छ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला अभिव्यक्ति तथा धम्कीको जवाफमा आफूले यस्तो धारणा सार्वजनिक गरेको गलिबाफले बताएका छन्।

 

यसअघि अमेरिकी अर्थमन्त्री बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए।

 

यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानसँग सम्बन्धित दुई दर्जनभन्दा बढी मुद्रा विनिमय केन्द्र, नक्कली कम्पनी तथा विभिन्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। इरानको विश्वव्यापी छाया बैंकिङ सञ्जाललाई कमजोर बनाउने उद्देश्यले प्रतिबन्ध लगाइएको अमेरिकाको दाबी छ।

 

इरानले अमेरिकासँगको वार्ताका लागि अघि सारेका सात सर्तमा इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, आर्थिक प्रतिबन्धमा राहत दिनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम लागू गर्नुपर्ने र युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।

 

यी सर्त पूरा नभएसम्म वार्तामा अघि नबढ्ने इरानको अडानले अमेरिका र इरानबीचको कूटनीतिक प्रयास थप जटिल बन्ने संकेत गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार