काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत

२७ असोज, २०८३
सारांश
  • काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ।

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ। 

 

सोमबार कार्यवाहक प्रमुख एवं समितिका अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले मार्गदर्शन स्वीकृत गरेको हो ।

 

मार्गदर्शनले विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सीप विकासमा जोड दिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर र आवश्यकताअनुसार फरक–फरक गतिविधिमा सहभागी गराइनेछ ।

 

कक्षा १ देखि ३ सम्म ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ मा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालन गरिनेछ । सिर्जनात्मक सिकाइअन्तर्गत अबाकस, विज्ञान तथा प्रविधिमा आधारित अभ्यास, सङ्केत लेखन, कृत्रिम बुद्धिमत्ता, योग, ध्यान, गायन, नृत्य र हस्तकलाजस्ता विषय समेटिएका छन् ।

 

कक्षा ९ का विद्यार्थीलाई पाककला, केश सज्जा, विद्युत् जडान तथा मूर्तिकला र चित्रकलासम्बन्धी व्यावहारिक सीप सिकाइनेछ । खेलकुदअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते, क्रिकेट र फुटबलको प्रशिक्षणसमेत सञ्चालन गरिनेछ ।

 

‘सुन्दर विद्यालय’ कार्यक्रममार्फत विद्यार्थीको सहभागितामा कक्षाकोठा तथा शौचालय सरसफाइ, फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र वातावरण संरक्षणका गतिविधि सञ्चालन हुनेछन् । विद्यालयले हरेक शुक्रबार तीन घण्टा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

मार्गदर्शनमा प्रशिक्षकको योग्यता, अनुदान, खर्चको अभिलेख, नियमित अनुगमन र सिकाइ उपलब्धिको मूल्याङ्कनसम्बन्धी व्यवस्था पनि गरिएको छ । सिर्जनात्मक सिकाइका प्रत्येक उपसमूहलाई अधिकतम ८७ हजार ५०० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।

 

बैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णयसमेत गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार