पोखरा र जापानको कोमागानेबीच श्रम सहकार्यका लागि समझदारी गर्ने तयारी

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • भ्रमणका क्रममा पोखरा महानगरपालिका र कोमागाने सहरबीच दक्ष जनशक्तिलाई जापानमा रोजगारीका अवसर उपलब्ध गराउने तथा श्रम सहकार्यलाई व्यवस्थित बनाउने विषयमा दुवै सहरका प्रमुखले समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

पोखरा: पोखरा महानगरपालिका र जापानको कोमागाने सहरबीचको द्विपक्षीय सम्बन्ध तथा श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाइएको छ ।

 

आगामी असोजमा कोमागाने सहरका प्रमुखसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल पोखरा आउने र सोही क्रममा रोजगारी मेला सञ्चालन गर्नुका साथै दुई सहरबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको हो ।

 

कार्यक्रमको तयारीका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एआईसी कर्पोरेसनका प्रतिनिधि तथा सूचना प्रविधि अधिकृत सुवास ढुङ्गानाबीच भेटघाट भएको छ। साथै कोमागाने सहरका प्रतिनिधिसँग अनलाइन माध्यमबाट संवाद गरी आगामी कार्यक्रमको विस्तृत कार्ययोजनाबारे छलफल गरिएको छ ।

 

जापानको कोमागाने सहरका प्रमुख युजो इतोको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी असोज १७ गते पोखरा आउने कार्यक्रम तय भएको छ। प्रतिनिधिमण्डलको भ्रमणका क्रममा असोज १७ र १८ गते पोखरामा विशेष रोजगारी मेला सञ्चालन गरिनेछ ।

 

रोजगारी मेलामार्फत पोखराका दक्ष तथा प्राविधिक जनशक्तिलाई जापानमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको नगर प्रमुख आचार्यले बताएका छन् ।

 

भ्रमणका क्रममा पोखरा महानगरपालिका र कोमागाने सहरबीच दक्ष जनशक्तिलाई जापानमा रोजगारीका अवसर उपलब्ध गराउने तथा श्रम सहकार्यलाई व्यवस्थित बनाउने विषयमा दुवै सहरका प्रमुखले समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ।

 

यसैगरी पोखरा र कोमागानेबीचको भगिनी सम्बन्धको प्रतीकका रूपमा रहेको ‘कोमागाने पार्क’को स्तरोन्नति गर्ने विषयमा समेत छलफल अघि बढाइएको छ। पार्कमा कोमागाने सहरको पहिचान, संस्कृति र विशेषता झल्किने स्थायी संरचना निर्माण तथा आवश्यक पूर्वाधार विकासका लागि सहकार्य गर्ने तयारी गरिएको छ।

 

पोखरा महानगरपालिकाले पोखरा र कोमागानेबीचको सम्बन्धलाई आर्थिक, सांस्कृतिक, पर्यटन तथा जनस्तरको सहकार्यसँग जोड्दै थप विस्तार गर्ने योजना बनाएको छ।

 

आगामी कार्यक्रमले पोखराका युवालाई जापानमा सुरक्षित तथा दक्ष रोजगारीका अवसरसँग जोड्नुका साथै दुई सहरबीचको भगिनी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार