पपुलिजमबाट देश रूपान्तरण सम्भव छैन भन्ने छर्लङ्ग भयो- शंकर पोखरेल
२९ आषाढ़, २०८३, सोमवार
- सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले देशको दीर्घकालीन विकासका लागि स्पष्ट वैचारिक आधार, योजनाबद्ध नेतृत्व र राजनीतिक इमानदारिता अपरिहार्य रहेको बताएका हुन् ।
काठमाडौँ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश परिवर्तन गर्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएकाले त्यस्तो प्रवृत्तिबाट देश रूपान्तरण सम्भव नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले देशको दीर्घकालीन विकासका लागि स्पष्ट वैचारिक आधार, योजनाबद्ध नेतृत्व र राजनीतिक इमानदारिता अपरिहार्य रहेको बताएका हुन् ।
उनले भनेका छन्- 'चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ ।' वास्तवमा देश बदल्नका लागि स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र त्यसप्रतिको निरन्तर समर्पण आवश्यक पर्दछ ।'
पोखरेलले देशका विकृति, विसङ्गति र बेथिति अन्त्य गर्ने जिम्मेवारी आफैंभित्रका कमजोरी सुधार्न नसकेका नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको अनुभूति हुन थालेको उल्लेख गरेका छन् । उनले पपुलिजम र सामाजिक सञ्जालको प्रभावका कारण जनअसन्तोषलाई राजनीतिक दल र राज्यविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्।
उनले विगतमा देशमा कुनै विकास नै नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै पूर्वाधार र सूचना प्रविधिको विस्तारका कारण नागरिकको अपेक्षा बढे पनि त्यसअनुसार वैधानिक आय वृद्धि हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन्। अपेक्षा र आम्दानीबीचको यही असन्तुलनले समाजमा भ्रष्टाचार, अपराध, सामाजिक अराजकता, पैतृक सम्पत्तिको क्षयीकरण र वैदेशिक पलायनजस्ता समस्या बढाएको उनको भनाइ छ।
पोखरेलले यस्ता संरचनागत समस्याको समाधान सस्तो लोकप्रियता वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने स्पष्ट पार्दै वैचारिक स्पष्टता, दूरदृष्टि र राजनीतिक इमानदारिताका आधारमा मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।