सभामुख अर्याल र यूएईका विदेश व्यापारमन्त्री जेयोउदीबीच भेटवार्ता

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • उनले आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा दैनिक उडान सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्दै यूएईका पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह गरेका थिए । साथै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईका हवाई सेवा कम्पनीलाई ‘पाँचौँ स्वतन्त्र उडान अधिकार’सहितका सहुलियत उपलब्ध गराउने सरकारी निर्णयबारे पनि जानकारी गराए ।

काठमाडौं: सभामुख डोलप्रसाद (डीपी) अर्याल र संयुक्त अरब इमिरेट्स (यूएई)का विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोउदीबीच शिष्टाचार भेटवार्ता भएको छ । 

 

शुक्रबार भएको भेटमा सभामुख अर्यालले वर्तमान संसद गठनपछि यूएईबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यसले नेपाल-यूएई सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै सहकार्यका नयाँ आयाम खुल्ने विश्वास व्यक्त गरेका थिए । उनले सन् १९७७ मा स्थापित दुई देशबीचको कूटनीतिक सम्बन्ध मित्रता, सहयोग र पारस्परिक विश्वासमा आधारित रहेको उल्लेख गर्दै सन् २०२७ मा मनाइने स्वर्ण जयन्तीलाई उपलब्धिमूलक बनाउन नेपाल इच्छुक रहेको बताए ।

 

सभामुख अर्यालले प्रतिनिधिसभाले हालै यूएईसँग संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै दुवै देशका संसदबीच अनुभव, विचार र असल अभ्यास आदानप्रदानमा यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, यूएईको संघीय राष्ट्रिय परिषद्ले पनि यस्तै समूह गठन गरे द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने धारणा राखेका थिए । उनले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी–७७, एसिया सहयोग संवाद र अबुधाबी संवादलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–यूएई सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे ।

 

उनले आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले पोखरा–दुबई सिधा दैनिक उडान सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्दै यूएईका पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह गरेका थिए । साथै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईका हवाई सेवा कम्पनीलाई ‘पाँचौँ स्वतन्त्र उडान अधिकार’सहितका सहुलियत उपलब्ध गराउने सरकारी निर्णयबारे पनि जानकारी गराए ।

 

जवाफमा यूएईका विदेश व्यापार मन्त्री अल जेयोउदीले नयाँ सरकार गठनपछि नेपालमा आफ्नो पहिलो भ्रमण भएको बताउँदै यसले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणप्रति यूएई सकारात्मक रहेको र प्रविधि, पूर्वाधार तथा शिक्षालगायत क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए । मन्त्री अल जेयोउदीले यूएईको विकासमा नेपाली श्रमिकले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल–यूएई सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन दुवै देशबीचको सहकार्य थप विस्तार गरिने विश्वास व्यक्त गरेका थिए । उनीसँग १८ सदस्यीय प्रतिनिधिमण्डल पनि नेपाल भ्रमणमा रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार