शेयर बजारको इतिहासदेखि बर्तमानसम्म

२०८१ माघ १० विहिबार
सारांश
  • समाजको सामाजिक परिवर्तनलाई पनि वामपन्थी र कम्युनिष्टहरूले बुझ्दैनन्। समाजको स्वाभाविक परिवर्तनले माग गरेको कुराहरू पनि उनीहरू देख्दैनन् । उनीहरू आफुलाई भन्न चाहिं वैज्ञानिक भन्छन तर त्यो वैज्ञानिक हुँदै होइन, विज्ञानकै आँखाबाट हेर्दा पनि ।

शेयर बजारको इतिहास, यसको पृष्ठभूमि र विकाससँगै नेपालमा यसको शुरुवात कसरी भयो साथै समग्रमा पछिल्लो शेयर कारोबार, यसले आर्थिक विकास र समृद्धिमा खेल्न सक्ने भूमिकाका सन्दर्भमा आर्थिक विषयका जानकार लेखक तथा विश्लेषक मुरहरि पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

 

ईष्ट ईण्डिया कम्पनी जो व्यापारिक प्रयोजनकालागि भारतमा आएको थियो, पछि उसले सिंगो भारतलाई राजनैतिक रुपले कब्जा गऱ्यो । औपनिवेशिक कालमा युरोपमा त्यस्ता धेरै कम्पनीहरू खडा भएका थिए । जसले समुद्रपार व्यापार गर्थ्यो । त्यस्ता कम्पनीहरू प्रायः राजज्ञाबाट स्थापना भएका हुन्थे । ती कम्पनीहरुको साझेदारीमा राजाको आफ्नै मान्छेहरू र विशेषगरी दरबारिया र भाई भारदारहरू हुनेगर्थ्यो । सर्वसाधारणको त्यो बेला त्यस्ता कम्पनीमा हिस्सा हुने कुरै भएन ।

 

समुन्द्रपार व्यापार गर्दाखेरी तिनीहरूले धेरै जोखिमहरूको सामना गर्नुपर्थ्यो ।  एउटा त समुन्द्रमा आउने आँधिबेहरीले गर्दा जहाज डुब्ने खतरा भैहाल्यो, अर्को चाहिं 'जहाज पाईरेट्स'ले लुटने सम्भावना थियो । त्यस्तै, उत्पादित वस्तुहरु बिक्रि हुने-नहुने भन्ने अन्योल पनि हुन्थ्यो । कालान्तरमा ती व्यापारीहरूले त्यो जोखिमलाई न्युनिकरण गर्ने उपाय निकाले । त्यो जोखिमलाई कम गर्ने उपायका रुपमा उनिहरूले एउटा अवधारणा विकास गरे । उनीहरूले सार्वजनिक सुचना नै जारी गरेर हाम्रो व्यापार यस प्रकारको हो, यसमा तत्-तत् प्रकारले लाभ हानी हुन्छ, यो मात्रामा जोखिम हुन्छ र तिमीहरूले पैसा लगायौ भने नाफा पनि कमाउन सक्ने सम्भावना हुन्छ भनेर एक हिसाबले जनतालाई खुल्ला रुपमा हिस्सेदारीमा जोड्ने तरिका अपनाए । जस-जसले त्यसरी रकम लगानी गरे तिनीहरूलाई प्रमाण-पत्र पनि दिईयो । पछी यो विधि र प्रक्रिया नै शेयरको रुपमा विकसित हुँदै गयो । यहि नै शेयर हो, शेयरको इतिहास हो । व्यापारमा तमाम मानिसलाई सहभागी गराउने, साझेदार वा हिस्सेदारी बनाउने प्रक्रिया वा यस्तो प्रकृतिको कारोबार नै शेयर हो । शेयरको आधारभूत मर्म यहि हो र आजपनि यसको चरित्रमा परिवर्तन आएको छैन । तर आज प्रविधिले गर्दा त्यसमा सहभागी गराउने तरिका भने परिष्कृत भएर आएको छ ।

 

हाम्रोमा पनि शेयरको पृष्ठभूमी त्यस्तै छ । राणाकालमा राणाजी, दरवारिया लगायत कुलीन वर्गहरूको तत्कालिन ब्रिटिश शासकसँग धेरै सम्पर्क हुने गर्थ्यो । उनीहरूले कलकत्ता र मुम्बईतिर शेयरबजार देख्थे । त्यहाँ कम्पनीहरू सुचिकृत भएको र कारोबार गरेको देखेर त्यतिबेलाको जुद्धशमशेर र उनका भाईभारदारहरूलाई पनि नेपालमा यसै गर्नुपर्छ भन्ने लाग्यो। उनीहरूले दुईओटा कम्पनी त्यहि अवधारणा अनुसार पब्लिक लिमिटेडको रुपमा खोले, एउटा नेपाल बैंक लिमिटेड र अर्को बिराटनगर जुट मिल ।

 

उनिहरूले पहिलो पटक सर्वसाधारणलाई शेयर आव्हान गरिएको भनिएपनि उतिबेला को त्यस्तो सर्वसाधारण थियो होला जसले पैसा बचाएर शेयर किन्न सक्थे  ? त्यसबेलाका नेपालीहरूलाई खान लाउनै गाह्रो थियो ।  त्यसमा लगानी गर्ने राणाजी, केहि मारवाडी र नेवारहरू नै थिए । केहि काजीहरू पनि थिए होलान । जे होस् उनीहरूले कुलीन वर्गकै थिए । अन्य सर्वसाधारणको त पहुँच हुने कुरै भएन । त्यतिबेला मोहर रुपैया गाउँ-घरमा सजिलै देख्न पाईन्नथ्यो ! जे होस् त्यसरी नेपालमा शेयर कारोबार शुरु भएको इतिहास छ ।

 

एक हिसाबले ति दुई कम्पनीहरू - नेपाल बैंक लिमिटेड र बिराटनगर जुटमिलको प्रयोग सफल भयो । हुनत त्यतीबेलाको हाम्रो बजार पनि प्रतिस्पर्धीरहित थियो । ती कम्पनीहरु 'पायोनियर' भए । स्वभाविक रुपमा नाफा कमाउन सक्ने नै भए । त्यो समयमा लाभांश त मज्जाले बाँडे । पछि-पछि अरुलाई पनि त्यस्तै गर्ने रहर जाग्न थाल्यो। जोईण्ट स्टक कम्पनीमा नाफा हुँदो रहेछ भन्ने बुझे । यद्यपि के कारणले नाफा भयो भन्ने चाहिँ अधिकाँस जनताहरुलाई थाहा थिएन । यहि मोडेलमा कम्पनीहरु भटाभट स्थापना हुन शुरुभयो । यो विवरण सरदार भिमबहादुर पाण्डेको पूस्तक 'त्यसबखतको नेपाल' मा पनि पढ्न पाईन्छ ।  २५-२६ ओटा कम्पनीहरूको स्थापना भए भन्ने लेखेका छन् उनले । तर ती कम्पनीहरु कतिपय सञ्चलनमा आएनन् वा कतिपय घाटामा गए । अहिले सहकारीमा भएको जस्तो भयो, वा भनौं हुन गयो । सहकारी त राम्रो अवधारणा हो ।  पूँजी एकीकृत गरेर सदस्यहरूमा आर्थिक लाभ हुने व्यवसाय संचालन गर्नु पक्कै पनि राम्रो कुरा हो । तर मूल मर्मलाई छोडेर अन्तै बरालियो भने त बिग्रन्छ नि ! सहकारीमा भएको पनि यहि हो । जोईण्ट स्टक कम्पनी भनेर त खोलियो तर व्यवसायमा नाफा र नोक्सान कसरी हुन्छ भन्ने कुराहरू ध्यान नदिएपछि ति कम्पनीहरू बन्द हुन पुगे ।  

 

त्यसपछि लामो अन्तराल यस्ता गतिविधिमा 'ग्याप' आयो । संवत् १९९३ पछि एकैपटक २०३३ सालमा आएर सरकारलाई, खासगरी राष्ट्र बैंककै अधिकारीहरू जो बाहिरी बजारसँग भिजेका थिए, बुझेका थिए उनीहरूलाई यस बारेमा ज्ञान थियो । यसरी स्टक मार्केटको आवश्यकता बोध भएपछी २०१६ सालमा स्थापित नेपाल औधोगिक विकास निगम (एनआईडिसि) अन्तर्गत २०३३ सालमा सेक्युरिटी खरिद बिक्रि केन्द्रको स्थापना गरियो । शुरुवातीमा यो विभागले सबै काम गर्थ्यो । नियमनकारी, स्टक एक्सचेन्ज, ब्रोकर, ईसि व्यवस्थापकको काम आदि । आज पूँजी बजारमा जति पनि सक्रिय सदस्यहरू देख्छौँ ति सबै काम गर्थ्यो । अरु निकाय त छँदै थिएनन्।

 

त्यहिपनि बजार चलायमान भएन । सरकारले त्यस्ता सँस्था र विभाग स्थापना त गऱ्यो तर अर्थतन्त्रसँग जोडिने कामहरु भएनन् । पहिलो त जनताले आम्दानी गर्नुपऱ्यो, त्यसपछि बचत गर्नुपऱ्यो अनि बल्ल त्यो बचत रकम लगानी गर्ने हो । त्यतीबेला जनताको बचत हुने हिसाबको आम्दानी नै थिएन । बहुदल आउने बेलासम्म प्रतिव्यक्ति आय ६० डलर जति थियो । हामी त्यती गरिब थियौँ । आधा जनसङ्ख्या त गरिबिको रेखामूनी नै थियो । त्यो भनेको खान लाउन समस्या भएको जनसङ्ख्या हो । त्यो समयमा के बचत के लगानी ! त्यसले गर्दा ती कम्पनीहरु चल्न सकेनन् । तर बहुदल आएपछि पछि उदार-आर्थिक नीतिले हाम्रो अर्थतन्त्र चलयामान हुन गयो ।      

 

त्यसपछि संवत् ५० सालमा आएर त्यो सेक्युरिटी खरिद बिक्रि केन्द्रलाई 'स्पेसिलाईज इन्स्टिच्युट' को रुपमा ब्रेक डाउन गरियो । धितोपत्र बोर्ड त्यसैबाट शुरु भएको हो जुन नियामक निकाय हो । यसपछि स्टक एक्सचेन्जको रुपमा नेपाल स्टक एक्सचेन्जको स्थापना भयो । अर्थात् सेक्युरिटी खरिद बिक्रि केन्द्रको मूल प्रवाहको बिजनेस चाहिँ नेपाल स्टक एक्सचेन्जको रुपमा रुपान्तरण भयो । अर्को महत्त्वपुर्ण कार्य ३२ वटा ब्रोकरहरु नीजि क्षेत्रबाट आए। लगानीकर्ताहरू पनि बिस्तारै बढ्दै गए । ठ्याक्कै पूँजीबजारले आकार लिएको चाहिँ २०५० सालदेखि मात्रै हो ।

 

स्टक एक्सचेन्जको एउटा अन्तराष्ट्रिय संस्था छ । उसले हालसालै अध्ययन गरेको एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा केहि नमुनाहरू लिईएको छ।  विकसित देशहरू, उदियमान वा मध्यम आयस्तरका देशहरू, त्यसपछि हाम्रो जस्तो अलिकति तल्लो आर्थिक स्तर भएका मूलुकहरु छन् । त्यो अध्ययनले के देखाएको छ भने विकसित देशहरूमा चाहिं पूँजी बजारले आर्थिक वृद्धिलाई सहायोग गर्छ र आर्थिक बृद्धिले पूँजी बजारलाई सहयोग गर्छ । अर्थात् पूरक छ । यस्तो देशहरूमा आर्थिक विकास र पूँजीबजारको दोहोरो सम्बन्ध हुने देखाएको छ । तर यो सम्बन्ध मध्यमस्तर आय भएका मुलुकहरूमा कमजोर देखियो । त्यसमा एकोहोरो सम्बन्ध देखियो । भन्दाखेरी, पूँजी बजारले चाहिं आर्थिक वृद्धिलाई सहयोग गरेको देखियो तर आर्थिक बृद्धिले पूँजी बजारलाई सहयोग गरेको चाहिँ देखिएन।  

 

यो त भयो एकेडेमिक अध्ययनको कुरा । तैपनि हामी सर्वसाधारणले बुझ्ने भाषामा भन्दा  के हुन्छ भने कुनैपनि देशमा पूँजीबजारका विकासको चरणहरू हुन्छन । पहिलो चरणमा पूँजी बजार पनि लगानी गर्न लायक क्षेत्र हो भन्ने पहिचान गरिन्छ ।  सम्पत्ति भनेको घर जग्गा मात्रै हो भन्ने बुझिएको समाजमा शेयर भनेको अमुर्त कुरा हो, यो देखिदैन । त्यहि भएर यसलाई लगानीको क्षेत्र हो, अथवा लगानीको औजार हो भनेर पत्याई हालिंदैन । लगानीयोग्य क्षेत्रको रुपमा पहिचान नै गरिएको हुँदैन । अथवा त्यसलाई मान्यता नै दिईएको हुँदैन । यो भनेको पहिलो चरण हो।  मान्यता पाउनु पहिलो चरण हो ।  

 

दोस्रो चरणमा भनेको यसलमा हुने फराकिलो  आयाम गति हो । मेरो विचारमा चाहिं हामी दोस्रो चरणमा छौं। किनभने धेरै तिर यसको चर्चा हुन्छ । बजारको बारेमा गफहरु हुन्छन् । चिया पसल चौतारिहरूमा छलफल भैरहेको हुन्छ। मिडियाहरूमा आउँछ, भनेपछि यसको चर्चा व्यापक भईराखेको छ । त्यसमा मानिसहरूले सहभागी भने अर्को चरण हो तर पनि जानकारी चाहिं धेरैलाई भयो नि त !  लगभग सबै जसो नेपालीहरूलाई शेयर बजारको बारेमा थाहा भईसक्यो जबकि हामी १९९३ को समयको कुरा गर्ने हो भने त्यतिबेला केहि सिमित व्यक्तिलाई मात्र थाहा थियो । त्यसैले मलाई लाग्छ अहिले हामी दोस्रो चरणमा छौं ।  

अर्थतन्त्र र बजार एकदमै एकिकृत हुनु  तेस्रो चरण हो ।  

 

चौथो चरणमा त अहिलेको हङकङ, सिंगापुर, जापान अमेरिकाको जस्तो हुन्छ । यो चरणमा, बजारमा जहाँसुकै बसेर जुनसुकै कम्पनीको शेयर किनबेच गर्न सकिन्छ । आज कोहि हङकङको नागरिक छ भने, उसले अमेरिकाको स्टक एक्सचेन्जमा सुचिकृत जुनसुकै कम्पनीको शेयर किन्न सक्छ । सबैतिर यस्तो सुबिधा हुँदैन । यो अत्यन्त विकसित देशहरू सिङ्गापुर, जापान अमेरिका, हङकङ आदि जस्ता देशहरुमा हुन्छ । यो 'अल्टिमेट विकास' हो ।  

 

यसबाट पनि हामीले बुझ्न सक्छौं कि शेयर बजारले अथवा पूँजी बजारले अर्थतन्त्रलाई कत्तिको सहयोग गर्छ अथवा आर्थिक विकासलाई कत्तिको माथि उकास्न मद्दत गर्छ । नेपालको स्थिति आज कहाँ छ भन्ने आँकलन सजिलै गर्नसक्छौँ ।  

 

नेपालको सन्दर्भमा जस्तो विगत ३ दशकदेखि अलिक व्यवस्थित हिसाबले शेयर बजारको कारोबार हुँदै आएको भएतापनि धेरै जस्तो बैंक बित्तिय संस्थाहरू मात्रै समेटिए, उत्पादन मुलक क्षेत्रहरु समेटिएन् भन्ने छ । यसो हुनुमा केहि कारणहरु छन । हाम्रोमा तपाईं बैँक तथा वित्तीय व्यवसाय गर्दै हुनुहुन्छ भने पब्लिक लिमिटेड कम्पनीकै रुपमा खोल्नुपर्छ। सार्वजनिक संस्थाकै रुपमा खोल्नुपर्छ । अन्य प्रकारका कम्पनीहरू खोल्ने हो भने पब्लिक भनिरहन अनिवार्यता छैन । प्रालि कै रुपमा खोल्न सकिन्छ । उत्पादन गर्ने औधोगिक कम्पनीहरू खोल्नुभयो भने पब्लिक लिमिटेड रुपमा चलाउनुपर्छ भन्ने छैन । प्रालि  का रुपमा चलाउन सकिन्छ । यसैकारणले पब्लिक हुनैपर्छ भन्ने बैधानिक व्यवस्थाले गर्दा यसो हुन गएको हो । कानुनले अनिवार्यताको कारणले ।

 

नेपालमा धेरै बैंक वित्तिय संस्थारू मात्र सुचिकृत हुनुको कारण यहि हो । हाईड्रोपावरहरू सुचिकृत छन्, उनीहरूले स्थानीय श्रोत उपयोग गरेबापत स्थानियहरूलाई पनि सहभागी गराउनुपर्ने भयो जसले गर्दा ति हाईड्रोपावर स्वत: पब्लिक कम्पनी हुने भए । यसले गर्दा हाईड्रोपावर शेयर बजारमा समेटिए । ५० जना भन्दा बढिमा शेयर बाँढिने बित्तिकै पब्लिक कम्पनी भैहाल्यो । अहिले संख्यात्मक हिसाबले भन्दाखेरी २६७ ओटा कम्पनीहरू छन्, जसमा ९२ ओटा हाईड्रोपावर कम्पनिहरू समेटिएका छन् । स्थानीयलाई शेयर दिनुपर्ने कारणले गर्दा ।  

 

नेपालमा  पूँजीबजारलाई हेर्ने मानसिकता नै गलत छ।  विशेषगरी कम्युनिष्ट कित्ताका मान्छेहरू यसलाई जुवाको घर, वा जुवाको खेल भन्छन । यस्तो सोचको  बारेमा एकजना विद्वानले भनेका छन् कि जसले अर्थतन्त्र बुझेको हुन्छ, उ कम्युनिष्ट हुनै सक्दैन । अर्थशास्त्र बुझ्ने मानिस कम्युनिष्ट हुँदैन ।  कि त नियत नै 'ठग' हुनुपऱ्यो, होइन भने अर्थतन्त्रको आधारभूत ज्ञान बुझेको मान्छेले यसरी समाजवादी विचारबाट अर्थतन्त्र चल्छ भनेर भन्दै भन्दैन । कम्युनिष्ट/वामपन्थीको कित्तामा बसेर शेयर कारोबारलाई जुवा घर भन्नु स्पष्टतः अर्थशास्त्र नबुझ्नु भन्ने अर्थ हो ।

 

उनीहरूको 'वैश्विक सोच' नै संसारमा दुई खाले मान्छे हुन्छन् भन्ने हुन्छ, एउटा शोषक वर्ग अर्को शोषित वर्ग । त्यस हिसाबले भन्दा एउटा लुटने वर्ग र अर्को लुटिने वर्ग । एउटा वर्ग सिर्जनशील हुन्छ उसले सिर्जना गर्छ र  सर्वसाधारणमा उसले आफ्नो सिर्जना लैजान्छ, त्यसलाई सर्वसाधारणले स्विकारेपछि मात्रै उसले त्यसबाट लाभ कमाउँछ । उसले मात्रै होइन उसबाट अरुले पनि आर्जन गर्छ । उसले त्यहाँ वस्तु र सेवा दियो,  त्यसलाई सर्वसाधारणले स्विकार गऱ्यो जसले गर्दा कारोवार सम्भव भयो ।  यहाँ लिने र दिने बिचमा आपसी सहमतिबाट त्यो कारोबार भएको हो भन्ने कुरा कम्युनिष्ट/वामपन्थीहरूले बुझेकै हुँदैनन् वा बुझ्न चाहँदैनन् ।  

 

उनीहरूको धेरै गलत दृष्टि मध्ये यो पनि एक हो । यसैले उनीहरूले शेयर बजारलाई जुवा घरको रुपमा बुझ्ने गर्छन ।  

 

वास्तवमा शेयर बजार भनेको छरिएर रहेको पूँजीलाई संकलन गर्ने अनि संकलित  पूँजीबाट आएको नाफा फेरी ती आम मानिसहरू जसले लगानी गरेका हुन्छन् उनिहरूलाई नै वितरण गर्ने पद्दति हो । यो त सुन्दर 'आईडिया' हो । यसमा लाभ र जोखिम दुवै वितरण हुन्छ ।  

 

यस किसिमको सामाजिक आर्थिक विकासलाई 'कम्युनिष्ट'हरूले बुझ्दैनन् । उनीहरूले दुई वर्ग लुटने र लुटिने मात्रै देख्छन ।  जस्तो हाम्रो सामाजिक विकासले कस्तो कस्तो बजारको विकास गर्छ भन्दाखेरी पहिले-पहिले हाम्रो संयुक्त परिवार हुन्थ्यो ।  संयुक्त परिवारले बजारले उपलब्ध गर्ने सबै कुरा पूर्ति गर्थ्यो । हाम्रो घर नै 'चाईल्ड केयर' थियो, 'इन्स्योरेन्स ' पनि थियो । समुदायले हेर्थ्यो । परिवारका कुनै सदस्य केहि अशक्त भयो भने सबैले मिलेर हेरविचार गर्थे ।  बुढा बुढिहरूका लागि छोरा छोरी भनेको इन्स्योरेन्स नै हो बुढेसकालको लागि, पेन्सन सरह नै हो । जुन किसिमको संयुक्त परिवारको संस्कृति थियो, समाज थियो त्यो समयको लागि ठिक थियो । कृषिमा आधारित अर्थतन्त्रका लागि ठिक थियो । तर अब त हामी त्यसबाट अगाडि बढ्यौं नि ! अहिले हामी कृषि पेशालाई पनि छोड्दै आयौं ।  संयुक्त परिवार पनि छोडदै आयौं ।  हाम्रो एकल परिवार छ। सानो एकल परिवारमा त त्यसरी चल्दैन । अब त हामीलाई इन्स्योरेन्स चाहियो, पेन्सन चाहियो। सबै चिज चाहियो नि !

 

हो, यस्तो समाजको सामाजिक परिवर्तनलाई पनि वामपन्थी र कम्युनिष्टहरूले बुझ्दैनन्। समाजको स्वाभाविक परिवर्तनले माग गरेको कुराहरू पनि उनीहरू देख्दैनन् । उनीहरू आफुलाई भन्न चाहिं वैज्ञानिक भन्छन तर त्यो वैज्ञानिक हुँदै होइन, विज्ञानकै आँखाबाट हेर्दा पनि ।

 

समग्रमा भन्नुपर्दा शेयर बजार भनौं वा अर्थतन्त्रलाई बुझ्ने र बुझाउने हाम्रो सोचमा नै परिवर्तन गर्नुपर्ने देखिन्छ ।

 

प्रकाशित मिति: २०८१ माघ १० विहिबार

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु