भारतबाट ३५० मेगावाट विधुत् आयात र ५६ मेगावाट निर्यातको अनुमति
१ मार्ग, २०८३
- भारतको केन्द्रीय विधुत् प्राधिकरणले नेपाललाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा वास्तविक समय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विधुत् आयात गर्न अनुमति दिएको हो ।
काठमाण्डौ, ०१ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । साथै, तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड तथा वास्तविक समय बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म विद्युत् आयात गर्न पाउनेछ । बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आयात गर्न पाइने छैन । अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन सहज हुने बताएका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् ।
प्राधिकरणको अनुमानअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने देखिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात आवश्यक पर्ने अनुमान छ ।
पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने तथा वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि भएर आयात घट्दै निर्यात सुरु हुने प्राधिकरणको आकलन छ ।
प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् पनि २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ सम्म निर्यात गर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।