आयकरको दरमा ऐतिहासिक कटौती, लगानीका लागि अहिलेको जस्तो अनुकूल वातावरण कहिल्यै थिएन: अर्थमन्त्री
१ मार्ग, २०८३
- राष्ट्रिय कर दिवसका अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्रीले विगत ३० वर्षदेखि भाषणमा मात्र सीमित ‘करको दायरा फराकिलो बनाउने र दर घटाउने’ विषयलाई यस वर्षको बजेटले व्यवहारमा उतारेको बताए
काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले यस वर्षको बजेटमार्फत करका दर र दायरामा ऐतिहासिक पुनरावलोकन गरेको दाबी गर्दै करलाई बोझका रूपमा नभई राष्ट्रप्रतिको कर्तव्य र गौरवका रूपमा आत्मसात् गर्न करदाताहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्रीले विगत ३० वर्षदेखि भाषणमा मात्र सीमित ‘करको दायरा फराकिलो बनाउने र दर घटाउने’ विषयलाई यस वर्षको बजेटले व्यवहारमा उतारेको बताए ।
नेपालमा कर–जीडीपी अनुपात २० देखि २१ प्रतिशत हुनुको अर्थ करको दर उच्च भएको नभई राजस्व परिचालन उच्च भएको उनले स्पष्ट पारे । “करको दर आफैँमा उच्च होइन । यसपाली हामीले कसैले कल्पना नै नगरेको ढङ्गले करको दर घटाएका छौँ,” अर्थमन्त्रीले भने, “आयकर ३९ प्रतिशतबाट १० प्रतिशत बिन्दुले घटाएर २९ प्रतिशतमा झारिएको छ । यस्तै कर छुटको सीमा ५ लाखबाट एकैचोटी १० लाख रुपैयाँ पुर्याइएको छ ।”
सुरुमा यस निर्णयबाट राजस्वमा ठूलो भ्वाङ पर्ने आशङ्का गरिए पनि सरकारले अभूतपूर्व रूपमा दायरा विस्तार र दर कटौतीको अभ्यास सुरु गरेको उनको भनाइ थियो ।
विगत १०–१५ वर्षदेखि विभिन्न समस्यामा थिचिएर र थलिएर बसेका करदाताहरूलाई तङ्ग्रिन मद्दत पुगोस् भनेर सरकारले विवाद समाधान र स्वेच्छिक कर सहभागिता सम्बन्धी उदार र साहसिक योजना ल्याएको अर्थमन्त्रीले जानकारी दिए ।
“सुशासनमा निर्मम र आफ्नो इमान्दारीमा प्रतिबद्ध नहुने सरकारले यस्ता राहतमुखी स्किम ल्याउनै सक्दैन,” उनले भने, “यस्ता स्किमको बाहिर खासै चर्चा नभए पनि करदाताहरूले लाभ लिएर फर्स्योट गरिरहेका छन्, जसको सकारात्मक प्रभाव कर सङ्कलनको तथ्याङ्कमा समेत देखिन थालेको छ ।” उनले पुस महिनाभित्रै सबै करदाताले उपलब्ध शुल्क तथा राहत सुविधाको पूर्ण लाभ लिने विश्वास व्यक्त गरे ।
गभर्नरको भनाइलाई उद्धृत गर्दै अर्थमन्त्रीले वर्तमान आर्थिक परिसूचकहरू लगानीका लागि अत्यन्त अनुकूल रहेको बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून र स्थिर छ भने विगतको जस्तो ब्याजदरको आतङ्क र अनिश्चितताको अवस्था समाप्त भएको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र अर्थतन्त्र चलायमान हुँदा बढ्ने आयातलाई समेत धान्न सक्ने गरी पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको उनले उल्लेख गरे । साथै, कानुनी तथा कर सुधारका लागि ३०–३५ वटा विभिन्न सुधारात्मक उपायहरू (मेजर्स) अघि सारिएको र यो सुधार प्रक्रिया निरन्तर जारी रहने उनले स्पष्ट पारे ।
सम्माननीय ज्यूको आसन्न भारत भ्रमणको तयारीमा व्यस्त रहनुपरेकाले कार्यक्रममा केही ढिलो आइपुगेको भन्दै क्षमायाचना गरेका अर्थमन्त्रीले ठूला करदाताहरूलाई सम्मान गर्दा अन्य करदातामा पनि हौसला र प्रेरणा मिल्ने बताए । आफैँले पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले कार्यक्रम केही लामो भएको महसुस भएकाले आगामी वर्षहरूमा सम्मानमा कन्जुस्याइँ नगरी सन्तुलित र छरितो ढङ्गले कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धतासमेत जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।