आज राष्ट्र बैंकबाट सुनका असर्फी बिक्री नहुने

२० कार्तिक, २०८३
सारांश
  • नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुरु गरेको सुनका असर्फी बिक्री कार्यक्रम एक दिनमै स्थगित गरेको छ। बिक्रीका लागि राखिएको सुनको मौज्दात सकिएपछि केन्द्रीय बैंकले शुक्रबार सुनका असर्फी उपलब्ध नगराउने निर्णय गरेको हो।

काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुरु गरेको सुनका असर्फी बिक्री कार्यक्रम एक दिनमै स्थगित गरेको छ। बिक्रीका लागि राखिएको सुनको मौज्दात सकिएपछि केन्द्रीय बैंकले शुक्रबार सुनका असर्फी उपलब्ध नगराउने निर्णय गरेको हो।

 

राष्ट्र बैंकले बिहीबारदेखि सुन तथा चाँदीका असर्फी र मेडालियन बिक्री गर्न थालेको थियो। बिक्री सुरु भएको पहिलो दिनमै सर्वसाधारण तथा बैंकका कर्मचारीसमेत गरी करिब ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएका थिए। माग उच्च भएपछि उपलब्ध सुनको मौज्दात बिहीबार नै सकिएको राष्ट्र बैंकले जनाएको छ।

 

केन्द्रीय बैंकले हरेक वर्ष तिहारको धनतेरसका अवसरमा सर्वसाधारणका लागि सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ। गत वर्ष सुनको अभावका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो। यसपटक भने विभिन्न वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी सुनका असर्फीसमेत बजारमा ल्याइएको थियो।

 

राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार बिक्रीयोग्य असर्फीको संख्या सीमित हुनु र उत्पादन प्रक्रियामा देखिएका प्राविधिक तथा प्रक्रियागत झन्झटका कारण थप असर्फी उपलब्ध गराउन नसकिएको हो।

 

बिहीबारको बिक्रीमा एक व्यक्तिले बढीमा एक थान सुनको असर्फी र दुई थान चाँदीका मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन्।

 

बिहीबार सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ र चाँदीको मेडालियन ३ हजार ८०० रुपैयाँमा बिक्री गरिएको थियो। शुक्रबार भने सुनका असर्फी उपलब्ध नहुने भए पनि चाँदीका मेडालियन बिक्री जारी रहनेछ। त्यसका लागि राष्ट्र बैंकले प्रतिमेडालियन मूल्य ३ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार