चिनी निर्यातमा भारतले लगायो प्रतिबन्ध

२०८३ वैशाख ३१ विहिवार
सारांश
  • देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

काठमाण्डौ, ३१ वैशाख । भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ । यो प्रतिबन्ध कम्तिमा आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नआएसम्म लागू रहनेछ । देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

 

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले यससम्बन्धी सूचना जारी गरेको हो । सूचनाअनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यातमा रोक लगाइएको छ । सरकारले चिनीलाई अब ‘निषेधित श्रेणी’मा राखेको छ । यद्यपि हाल कायम रहेको शुल्क दर कोटा तथा व्यवस्थाअनुसार युरोपेली सङ्घ र अमेरिकातर्फ हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू नहुने बताइएको छ ।

 

भारतको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा सेतो चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । साथै ब्राजिल र थाइल्यान्डजस्ता प्रतिस्पर्धी उत्पादक देशलाई एशिया र अफ्रिकाका खरिदकर्तातर्फ थप चिनी निर्यात गर्ने अवसर मिल्ने देखिएको छ ।

 

भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यातकर्ता देश हो । यसअघि भारत सरकारले चिनी मिलहरूलाई १५ लाख ९० हजार टन चिनी निर्यातको अनुमति दिएको थियो । तर लगातार दोस्रो वर्ष पनि उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएपछि सरकारले नयाँ निर्णय लिएको हो ।

 

मुख्य उखु उत्पादन क्षेत्रमा उत्पादन कमजोर भएको तथा एल निनो मौसम प्रणालीका कारण यस वर्षको मनसुन प्रभावित हुन सक्ने जोखिमले आगामी सिजनको उत्पादन प्रारम्भिक अनुमानभन्दा कम हुन सक्ने चिन्ता बढेको छ ।

निर्यातका लागि स्वीकृत १५ लाख ९० हजार टनमध्ये व्यापारीहरूले करिब आठ लाख टन चिनीको सम्झौता गरिसकेका थिए । तीमध्ये छ लाख टनभन्दा बढी चिनी निर्यात भइसकेको बताइएको छ ।

 

सरकारले भने केही अवस्थामा पहिले नै प्रक्रियामा रहेका निर्यातलाई अनुमति दिने जनाएको छ । सरकारी राजपत्रमा सूचना प्रकाशित हुनुअघि नै मालसामान जहाजमा चढाउन सुरु गरिएको भए, सिपिङ बिल दर्ता भइसकेको भए वा जहाज भारतीय बन्दरगाहमा पुगिसकेको भए निर्यात गर्न पाइनेछ । त्यस्तै सूचना जारी हुनुअघि नै चिनी भन्सार वा संरक्षक निकायलाई बुझाइसकिएको अवस्थामा पनि निर्यातलाई अनुमति दिइनेछ ।

 

प्रतिबन्ध घोषणा भएपछि न्युयोर्कमा कच्चा चिनीको वायदा मूल्य दुई प्रतिशतभन्दा बढीले बढेको छ भने लन्डनमा सेतो चिनीको वायदा मूल्य तीन प्रतिशतले उकालो लागेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार