भन्सार छली ल्याइएको २८ लाखको फूल खाल्डोमा पुरियो

२२ कार्तिक, २०८३
सारांश
  • सशस्त्र प्रहरी बलले झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल बरामद गरेको हो ।

काठमाडौँ : तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २८ लाख २७ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

 

सशस्त्र प्रहरी बलले झापा र धनुषाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली ल्याइएका सयपत्री, कमल र रजनिगन्धाका फूल बरामद गरेको हो ।

 

झापाको भद्रपुर नगरपालिका–८ देबीबस्तीबाट सशस्त्र प्रहरी नायव निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको टोलीले २२ लाख ६८ हजार ४ सय रुपैयाँ बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री माला तथा २ लाख ९५ हजार रुपैयाँ बराबरका १२ झोला कमलका फूल बरामद गरेको थियो । बरामद फूलको कुल मूल्य २५ लाख ६३ हजार ४ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । उक्त फूल जनप्रतिनिधिको उपस्थितिमा खाल्डो खनी नष्ट गरिएको हो ।

 

त्यस्तै, धनुषाको देवडिहा र फुलगामा क्षेत्रबाट पनि अवैध रूपमा भित्र्याइएका फूल बरामद गरिएको छ । देवडिहाबाट १ लाख २४ हजार रुपैयाँ बराबरका सयपत्री र रजनिगन्धाका फूल बरामद गरी नष्ट गरिएको थियो । फुलगामा क्षेत्रमा तस्करहरूले छाडेर भागेका करिब १ लाख ४० हजार रुपैयाँ बराबरका २०० केजी सयपत्री फूलसमेत प्रहरीले बरामद गरेको थियो ।

 

ती फूलहरू स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा स्थानीय बासिन्दाको रोहवरमा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

नेपाली किसानले उत्पादन गरेका स्थानीय फूलको प्रवर्द्धन तथा अवैध आयात नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार