एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता विवाद थप चर्कियो

२०८३ भाद्र ०७ आइतवार
सारांश
  • विश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ ।

काठमाण्डौ, ०७ भाद्र । विश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ । एप्पलले अमेरिकी अदालतसमक्ष ओपनएआईले दायर गरेको मुद्दा प्रारम्भिक चरणमै खारेज गर्नुपर्ने माग अस्वीकार गर्न आग्रह गरेको छ । यस मुद्दाको अर्को सुनुवाइ आगामी अक्टोबर १ मा हुने भएको छ ।

 

एप्पलले अदालतमा बुझाएको पछिल्लो निवेदनमा ओपनएआईले मुद्दा प्रारम्भिक चरणमै खारेज गर्न गरेको मागको विरोध गरेको छ । एप्पलका अनुसार ओपनएआईको दाबी तथ्यलाई गलत रूपमा प्रस्तुत गर्ने, बाह्य प्रमाणको अनुचित प्रयोग गर्ने र अनुमानमा आधारित रहेको छ । एप्पलले यसअघि लगाएका आरोपलाई पनि दोहोर्‍याउँदै व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोग भएको प्रमाण आफूसँग रहेको दाबी गरेको छ । एप्पलले ओपनएआईले त्यस्तो गतिविधिलाई प्रोत्साहनसमेत गरेको आरोप लगाएको छ ।

 

एप्पलले ओपनएआईसँग सम्बन्धित व्यक्तिहरूले आफ्ना केही कर्मचारीलाई कम्पनीको गोप्य जानकारी प्राप्त गर्ने तरिकाबारे निर्देशन दिएको आरोप लगाएको छ । एप्पलका अनुसार यो विषय सामान्य गल्ती वा अनजानमा भएका घटनामा मात्र सीमित नरहेको र मुद्दालाई अघि बढाउन पर्याप्त तथ्य र प्रमाण रहेको कम्पनीको दाबी छ । एपलले व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगबारे थप अनुसन्धान अघि बढाउनुपर्ने आधार रहेको जनाएको छ ।

 

एप्पलले ओपनएआईविरुद्ध व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि अगस्ट ५, २०२६ मा ओपनएआईले अदालतमा मुद्दा खारेज गर्न माग गर्दै निवेदन दिएको थियो ।

 

ओपनएआईले आफूलाई एप्पलको स्वामित्वमा रहेका गोप्य जानकारी आवश्यक नरहेको दाबी गरेको थियो । साथै, एप्पलले आफूलाई प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको आरोप लगाएको तर्कसमेत ओपनएआईले गरेको थियो । एप्पलले भने यी दाबी अस्वीकार गरेको छ । कम्पनीका अनुसार ओपनएआईले गम्भीर आरोपलाई सामान्य गल्ती वा अनजानमा भएका घटनाका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ, जबकि मुद्दा अघि बढाउन पर्याप्त आधार र प्रमाण उपलब्ध छन् ।

 

यस मुद्दामा अर्को महत्वपूर्ण सुनुवाइ अक्टोबर १, २०२६ मा हुने भएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश एडवर्ड जे. डाभिलाले त्यस दिन ओपनएआईको मुद्दा खारेज गर्ने मागमाथि दुवै पक्षका तर्क सुन्नेछन् । त्यसअघि ओपनएआईले एपलको विरोधमा आफ्नो जवाफ अगस्ट २६, २०२६ सम्म अदालतमा बुझाउनुपर्नेछ । त्यसैले आगामी दिनमा दुवै कम्पनीका थप तर्क र कागजात अदालतमा प्रस्तुत हुने सम्भावना छ ।

 

जानकारहरूका अनुसार न्यायाधीशले ओपनएआईको मुद्दा खारेज गर्ने माग अस्वीकार गरेमा यो मुद्दा प्रमाण तथा कागजात संकलनको चरणमा प्रवेश गर्न सक्छ । त्यस क्रममा दुवै कम्पनीले एकअर्कासँग मुद्दासँग सम्बन्धित कागजात, प्रमाण, कुराकानी तथा अन्य आवश्यक जानकारी माग गर्न सक्नेछन् । यस प्रक्रियामा ओपनएआईका उपकरणसम्बन्धी परियोजना, एपलका पूर्वकर्मचारीको नियुक्ति तथा ती कर्मचारीसँग आएको जानकारीसँग सम्बन्धित अभिलेखसमेत अनुसन्धानको दायरामा पर्न सक्नेछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार