९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो ।

काठमाडौँ,  ३ फागुनः  पर्वत  कुश्मा  –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन ।  दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ ।    

 

उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो ।  उहाँले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाउनुभएको हो ।

 

उहाँले भन्नुभयो  “सात–आठ वर्ष अगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो ।  दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ  । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ । ”  उसो  त उहाँको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहनुभएको छ ।

 

दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहनुभएकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भन्नुभयो “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”

 

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो ।

 

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।

 

शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

 

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी: आँखा सेवामा साझेदारी’ भन्ने मुल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।” हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार