प्रधानमन्त्रीको कार्यशैलीमाथि महामन्त्री पौडेलको प्रश्न, ‘गुण्डाराज

१२ मार्ग, २०८३
सारांश
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सत्ता सञ्चालनका नाममा गुण्डाराज चलाइएको आरोप लगाएका छन्।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सत्ता सञ्चालनका नाममा गुण्डाराज चलाइएको आरोप लगाएका छन्।

 

काठमाडौं–६ मा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले प्रधानमन्त्री शाहलाई सरकार सञ्चालनको शैलीबारे प्रश्न गर्दै सरकार यस्तो हुन नसक्ने बताए।

 

उनले भने, ‘तपाईं सरकार चलाइराख्नुभएको छ कि गुण्डाराज गरिराख्नुभएको छ। सरकार यस्तो हुन्छ? तपाईंको मातहतमा रहेको जेलभित्र कसैलाई ज्यानको धम्की दिएर बयान लिइँदो रहेछ। यसो बोल्ने भए बोल, नत्र म तँलाई मारिदिन्छु भनेर भनिँदो रहेछ।’

 

पौडेलले इनम सापकोटालाई पार्टी सभापतिविरुद्ध बयान दिन लगाइएको विषयमा समेत प्रश्न उठाए। उक्त घटना प्रधानमन्त्रीकै निर्देशनमा भएको हो वा सम्बन्धित व्यक्तिले आफैं गरेको हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

 

उनले भने, ‘त्यो तपाईंको निर्देशनमा भएको हो कि भन्नेले आफैं भनेको हो? भन्नेले आफैं भनेको हो भने त्यसलाई कारबाही गरेर निकाल्नुहोस्। तपाईंको निर्देशनमा भएको हो भने, यो त सरकारमा बसेर गर्न मिल्छ र?’

 

कसैलाई राजनीतिक रूपमा दबाबमा पार्न जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिने काम सत्ता दुरुपयोग भएको पौडेलले आरोप लगाए।

 

उनले सञ्चारमाध्यम र पत्रकारमाथि समेत सरकारले दबाब सिर्जना गरेको आरोप लगाए। सभापतिको घर, पत्रकारको घर वा मिडिया हाउस अगाडि गाडी तेर्स्याएर तर्साउने, पत्रकारलाई गिरफ्तार गर्ने तथा पत्रिकाको कार्यालयमा खानतलासी गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

 

पौडेलले भने, ‘यो समाचार छाप्यो भने खबरदार भन्न पाइन्छ?’

सरकारले आफूहरूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने भन्दै उनले प्रश्नबाट भागेर शासन सञ्चालन गर्न नसकिने बताए।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार