आन्दोलनरत मिटरव्याज पीडितहरुसँग वार्ता गर्न सरकारले बनायो समिति, के छन् माग ?

३२ आषाढ़, २०८३, बिहिवार
सारांश
  • उनीहरुले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिन्नुवा) पास, फर्जी चेक आदि) मन्त्रिपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गरिनुपर्ने, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं: सरकारले अनुचित लेनदेन (मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

 

विहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, गृह, भूमि व्यवस्था, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू सदस्य रहनेगरी वार्ता टोली बनाउने निर्णय गरेको हो । 

 

मिटरब्याज पीडितहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्न जनकपुरधामबाट पैदल यात्रा सुरु गरी काठमाडौँतर्फ अघि बढेका बेला सरकारले वार्ता टोली बनाएको हो ।

 

‘मिटरब्याज विरुद्ध (पैदल) न्याय मार्च’ गरिरहेका उनीहरूलाई फकाउन सरकारले मन्त्रिपरिषद्‌मार्फत विभिन्न आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने पीडितहरूलाई सम्बोधन गर्न र वार्ताका माध्यमबाट सहमति खोज्न गृहमन्त्री सुधन गुरुङ आफैँ निजगढ पुगेका थिए । निजगढस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा गृहमन्त्री र आन्दोलनरत मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिबिच दुई चरणको वार्ता सम्पन्न भएपनि निष्कर्षमा भने पुग्न सकेन ।

 

उनीहरुले आफ्ना ६ बुँदे मागहरूको बुँदागत र लिखित सम्बोधन नभएसम्म आन्दोलन र पैदल यात्रा नरोकिने स्पष्ट अडान राखेका छन् ।

यसैबीच सरकारले वार्ता टोली बनाएपछि अब उनीहरुका प्रतिनिधिलाई काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भएको छ । 

 

उनीहरुले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू (तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन (छिन्नुवा) पास, फर्जी चेक आदि) मन्त्रिपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गरिनुपर्ने, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण गर्नुपर्ने माग राखेका छन् ।

 

यस्तै उनीहरुले मिटरब्याज विरुद्ध न्यायाधिकरण गठन, साहुमहाजनले पीडितमाथि दायर गरेका मुद्दाको प्रक्रिया तथा पीडितमाथि जारी भएको पक्राउ पुर्जी स्थगित गर्नुपर्ने, फैसला भइसकेका मुद्दाको पुनरावलोकन हुनुपर्ने र फर्जी लिखतका आधारमा पक्राउ परेका पीडितहरूलाई क्षतिपूर्ति सहित स–सम्मान रिहाइ गरिनुपर्ने उनीहरुले माग राखेका छन् ।

 

त्यस्तै सुदखोरको सम्पत्ति छानबिन गर्न माग गरेका छन् भने साहु–महाजनले असुल गरेका चल र हडपेका अचल सम्पत्ति पीडितलाई फिर्ता गरिनुपर्ने साथै पीडितलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने र सम्पत्ति फिर्ता गर्ने प्रक्रियामा लाग्ने अदालती दस्तुर छुट हुनुपर्ने र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने माग उनीहरुको रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार