काँग्रेस केन्द्रीय समिति विस्तारप्रति डा. शेखर कोइराला असन्तुष्ट

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • उनले सोमबार धारणा सार्वजनिक गर्दै पार्टीको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गरे । विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै उनले पार्टीभित्रको एकतालाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले कांग्रेसको बृहत्तर एकतामा असर पुगेको बताएका छन् ।
 

उनले सोमबार धारणा सार्वजनिक गर्दै पार्टीको समग्र एकता बिना राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी भूमिका खेल्न नसक्ने उल्लेख गरे । विगतको निर्वाचन परिणामले कांग्रेसलाई ठूलो शिक्षा दिएको भन्दै उनले पार्टीभित्रको एकतालाई राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
 

कोइरालाले विभाजित कांग्रेसका कारण विगतमा पार्टीले नागरिकको भरोसा गुमाएको स्मरण गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जनविश्वास जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिए ।
 

उनले हजारौं युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक र राजनीतिक रूपमा एकताबद्ध हुनुपर्ने धारणा राखे । अहिले लोकतन्त्र र संविधानवादमाथि चुनौती बढिरहेका बेला कांग्रेस गुट–उपगुटमा विभाजित हुनु दुःखद भएको उनको भनाइ छ । कोइरालाले १४ औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५ औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।
 

कोइरालाले सार्बजनिक गरेको पाँच बुँदे धारणा:
 

१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै  राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।


२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।  


३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।


४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।


५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार