विपद् प्रभावितलाई 'समुन्नति कार्यक्रम' मार्फत संरक्षणदेखि आत्मनिर्भरतासम्म जोडिदै

२० असोज, २०८३
सारांश
  • कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिने मन्त्रालयले जनाएको छ । प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गरिनेछन् ।

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई संरक्षण, पुनर्स्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्ने गरी ‘समुन्नति कार्यक्रम’ अघि बढाएको छ ।

 

कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिने मन्त्रालयले जनाएको छ । प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गरिनेछन् ।

 

‘समुन्नति कार्यक्रम’को उद्देश्य विपद् प्रभावित नागरिकलाई तत्काल राहत र सहायतामा मात्र सीमित नराखी उनीहरूको जीविकोपार्जन पुनर्स्थापना, सीप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन तथा बजारसँगको आबद्धतामार्फत आर्थिक रूपमा पुनः उभिन सहयोग गर्नु हो ।

 

कार्यक्रमलाई विपद् प्रभावित लक्षित समुदायलाई तत्काल आवश्यकताबाट आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म पुर्‍याउने गरी आठ प्रमुख स्तम्भमा अघि बढाइनेछ ।

 

पहिलो, जीविकोपार्जनका लागि नगद, बीउपूँजी तथा व्यवसाय पुनर्स्थापना सहायता उपलब्ध गराइनेछ। विपद्का कारण प्रभावित आयआर्जन तथा व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक सहयोग प्रदान गरिनेछ ।

 

दोस्रो, औजार, उपकरण, मेसिन तथा उत्पादनका साधन उपलब्ध गराइनेछ । जीविकोपार्जन, व्यवसाय तथा उत्पादन पुनः सुरु गर्न आवश्यक साधनको व्यवस्थापनमा सहयोग गरिनेछ । तेस्रो, सीप तथा रोजगारमूलक तालिम सञ्चालन गरिनेछ। व्यक्तिको क्षमता, रुचि र बजारको मागअनुसार सीप विकास गरी रोजगारी तथा स्वरोजगारका अवसरसँग जोडिनेछ । चौथो, रोजगार सहजीकरण तथा रोजगारीमा आबद्धता गरिनेछ। सीप भएका तथा तालिम प्राप्त व्यक्तिलाई उपलब्ध रोजगारीका अवसरसँग जोड्दै रोजगारी प्राप्तिका लागि आवश्यक सहजीकरण गरिनेछ । पाँचौँ, व्यवसाय तथा उद्यमशीलता विकासलाई प्राथमिकता दिइनेछ। नयाँ उद्यम सुरु गर्न तथा विपद्बाट प्रभावित व्यवसाय पुनः सञ्चालन र विस्तार गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

 

छैटौँ, उत्पादन तथा बजार आबद्धतामार्फत प्रभावितको उत्पादनलाई बजार, खरिदकर्ता र मूल्य शृङ्खलासँग जोडिनेछ। यसबाट दिगो आयआर्जनको आधार निर्माण गर्ने लक्ष्य राखिएको छ ।

 

सातौँ, व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श प्रदान गरिनेछ। व्यक्तिको अवस्था, क्षमता र सम्भावनाका आधारमा रोजगारी, जीविकोपार्जन तथा व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्श र सहजीकरण गरिनेछ।

 

आठौँ, संरक्षण, लैङ्गिक हिंसा रोकथाम, जोखिम न्यूनीकरण तथा आवश्यक सेवामा आबद्धता गरिनेछ। विपद्पछि उत्पन्न हुन सक्ने संरक्षण जोखिम र लैङ्गिक हिंसा न्यूनीकरण गर्दै स्वास्थ्य, मनोसामाजिक, कानुनी, सुरक्षा लगायत आवश्यक सेवासँग प्रभावितलाई जोडिनेछ ।

 

कार्यक्रमअन्तर्गत बालबालिका भएका विपद् प्रभावित परिवारलाई विशेष प्राथमिकता दिइने भएको छ। मन्त्रालयको ‘बालबालिका दीर्घकालीन स्याहार योजना’ समेत कार्यान्वयनमा रहेको जनाएको छ । विपद् प्रभावित परिवारमा रहेका बालबालिकाको संख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई ध्यानमा राखेर जीविकोपार्जन तथा पुनर्स्थापना सहायतामा आवश्यकताअनुसार थप सहयोग उपलब्ध गराउन सकिनेछ ।

 

‘समुन्नति कार्यक्रम’लाई राहत वितरणमा मात्र सीमित नराखी विपद्बाट प्रभावित व्यक्तिलाई पुनः आयआर्जन गर्न सक्ने अवस्थामा पुर्‍याउने कार्यक्रमका रूपमा अघि बढाइएको छ । आवश्यकताअनुसार नगद, बीउपूँजी, सीप, औजार तथा उपकरण, रोजगारी, उद्यमशीलता, व्यवसाय पुनर्स्थापना र बजार आबद्धतामार्फत प्रभावित नागरिकलाई आत्मनिर्भरताको बाटोमा जोडिनेछ ।

कार्यक्रमको नीतिगत नेतृत्व मन्त्रालयले गर्नेछ भने संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गरी प्रभावित समुदायको आवश्यकता र स्थानीय सम्भावनाअनुसार कार्यक्रम कार्यान्वयन गरिनेछ ।

 

मन्त्रालयका अनुसार विपद् प्रभावित नागरिकलाई राहत दिएर मात्र छोड्ने नभई उनीहरूलाई पुनः उभिने अवसर, आयआर्जनको आधार र आत्मनिर्भरताको बाटो उपलब्ध गराउनु ‘समुन्नति कार्यक्रम’को मुख्य उद्देश्य हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार