लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ

१८ असोज, २०८३, आइतवार
सारांश
  • ‘सिंहदरबार जल्दा सत्तामा बस्नेको मात्र जलेन, हामी सबैको जल्यो। देश बिग्रिँदा कुनै एउटा पार्टीको मात्र होइन, हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले भने।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अपरिवर्तनीय दस्तावेज नभएको उल्लेख गर्दै मुलुकलाई निकास दिन राजादेखि नयाँ पुस्तासम्मलाई समेट्ने नयाँ राष्ट्रिय समझदारी निर्माण गर्न प्रस्ताव गरेका छन्।

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले व्यक्ति वा सरकार परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने बताए। उनले दलहरूले उत्कृष्ट दाबी गरेको वर्तमान व्यवस्था र संविधानमै अनेकौँ त्रुटि रहेको जिकिर गरे।

 

काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधानलाई समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने दस्तावेजका रूपमा बुझ्नुपर्ने बताए। ‘संविधान गीता, बाइबल वा कुरान होइन, यो छुनै नहुने वा चलाउनै नहुने चिज होइन। हिजो तपाईंहरूले राम्रै सोचेर बनाउनुभएको होला, तर आज यसमा त्रुटि नै त्रुटिका चाङहरू देखिएका छन्। त्यसैले नमिलेका कमजोरीहरू सुधारेर जानुपर्छ,’ उनले भने।

 

पछिल्लो ६ महिनाको राजनीतिक घटनाक्रमले नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने पुष्टि गरेको उनको भनाइ थियो। उनले मुलुक अहिले अँध्यारो सुरुङतर्फ धकेलिँदै गएको भन्दै सबै राजनीतिक शक्तिलाई साझा निकास खोज्न आग्रह गरे।

 

‘सिंहदरबार जल्दा सत्तामा बस्नेको मात्र जलेन, हामी सबैको जल्यो। देश बिग्रिँदा कुनै एउटा पार्टीको मात्र होइन, हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले भने।

 

विगतमा राजाले राजनीतिक दलहरूलाई र दलहरूले राजा तथा एकअर्कालाई निषेध गर्ने प्रवृत्तिका कारण मुलुक संकटमा परेको उल्लेख गर्दै उनले अब कसैले हार्नु नपर्ने र सिंगो देशले जित्ने खालको साझा सहमति आवश्यक रहेको बताए।

 

उनले २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय प्रतिस्पर्धा, २०६२/०६३ को समावेशिता र समानुपातिक प्रतिनिधित्व तथा पछिल्लो समयको जेन-जी विद्रोहले उठाएका आकांक्षालाई एकै ठाउँमा समेट्नुपर्नेमा जोड दिए। यी सबै उपलब्धि र चाहनालाई समेट्दै राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच नयाँ राजनीतिक सम्झौता हुनुपर्ने उनको प्रस्ताव थियो।

 

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका नेता गगन थापा, विश्वप्रकाश शर्मालगायत सम्पूर्ण राजनीतिक नेतृत्वलाई निषेधको राजनीति त्यागेर मुलुकको हितका लागि नयाँ राष्ट्रिय समझदारी निर्माण गर्ने दिशामा अघि बढ्न आह्वान गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार