बाढीपहिरो प्रभावित नेपालको पुनरुत्थानमा अमेरिकाले थप ३१ मिलियन डलर दिने

७ असोज, २०८३, बुधवार
सारांश
  • भविष्यमा हुने विपद्का बेला खोज तथा उद्धार र पुनरुत्थानका काममा प्रयोग गर्न अमेरिकी प्रविधिबाट निर्मित ड्रोन खरिदका लागि १३ मिलियन डलर छुट्याउने तयारी पनि गरिएको छ।

न्युयोर्क: बाढीपहिरोबाट प्रभावित नेपालको पुनरुत्थान तथा पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

 

अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले मंगलबार न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा थप सहयोगको योजना सार्वजनिक गरेकी हुन्।

 

अमेरिकी विदेश मन्त्रालयका अनुसार नयाँ प्याकेजअन्तर्गत बाढीबाट क्षतिग्रस्त महत्वपूर्ण यातायात पूर्वाधार पुनर्निर्माणका लागि स्थायी पुल निर्माण गर्न १० मिलियन डलर उपलब्ध गराइनेछ। यसका लागि अमेरिकी कंग्रेससँग आवश्यक समन्वय गरिने जनाइएको छ।

 

त्यस्तै, बाढी प्रभावित समुदायलाई खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा, आश्रय, संरक्षण, जीविकोपार्जन तथा जाडोयामका आवश्यक सामग्री उपलब्ध गराउन थप ८ मिलियन डलर खर्च गर्ने योजना छ।

 

भविष्यमा हुने विपद्का बेला खोज तथा उद्धार र पुनरुत्थानका काममा प्रयोग गर्न अमेरिकी प्रविधिबाट निर्मित ड्रोन खरिदका लागि १३ मिलियन डलर छुट्याउने तयारी पनि गरिएको छ।

 

यो नयाँ घोषणासँगै नेपालमा बाढी प्रतिकार्य तथा पुनरुत्थानका लागि अमेरिकाले घोषणा गरेको कुल सहयोग ३६ मिलियन डलरभन्दा बढी पुगेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

 

भेटका क्रममा उपसचिव हुकरले बाढीबाट प्रभावित नेपालीप्रति अमेरिकी सरकारका तर्फबाट समवेदना तथा सहानुभूति व्यक्त गरेकी थिइन्। मन्त्रालयका अनुसार बाढीपछि करिब ७० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

 

हुकर र परराष्ट्रमन्त्री खनालबीचको भेट संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन विश्वभरका नेता तथा उच्च अधिकारीहरू न्युयोर्कमा भेला भएका बेला भएको हो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार