नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद् क्यालीको सदस्य बन्ने

३० भाद्र, २०८३, मगलवार
सारांश
  • प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले क्यालीको सदस्यता प्राप्त गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट स्पष्ट घोषणा प्रस्तुत गर्दै अनुमोदनको प्रस्ताव पेस गरेकी थिइन् ।

काठमाडौं: नेपालको संसद्ले एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स–क्याली) को सदस्यता प्राप्त गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ ।

 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले क्यालीको सदस्यता प्राप्त गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारको तर्फबाट स्पष्ट घोषणा प्रस्तुत गर्दै अनुमोदनको प्रस्ताव पेस गरेकी थिइन् । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

 

मन्त्री गौतमले यही भदौ १७ गते प्रतिनिधिसभामा दर्ता गराएको प्रस्ताव मंगलबार निर्णयार्थ पेस गरिएको थियो ।

 

क्याली एशियाली मुलुकका विधायिकी संस्थाबीच कानुन निर्माण, तर्जुमा तथा कानुनी प्रणालीसम्बन्धी अनुभव आदानप्रदान र सहकार्यका लागि स्थापना गरिएको अन्तरसरकारी परामर्शदाता निकाय हो । यसको समझदारीपत्र कार्यान्वयनमा आइसकेको छ ।

 

क्यालीका संस्थापक सदस्यमा उज्बेकिस्तान, थाइल्यान्ड, मंगोलिया र गणतन्त्र कोरिया रहेका छन् । नेपालले संस्थापक सदस्यका रूपमा नभई समझदारीपत्रको धारा १५ बमोजिम सदस्यता प्राप्त गर्नेछ ।

 

उक्त धारामा समझदारीपत्र लागू भएपछि सदस्य बन्न चाहने अतिरिक्त विधायिकी संस्थाले क्यालीका सबै सदस्यको पूर्वसहमति प्राप्त गरी समझदारीपत्रमा हस्ताक्षर गरेपछि सदस्यता ग्रहण गर्न सक्ने व्यवस्था छ ।

 

समझदारीपत्रले डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयबाट उत्पन्न विधायिकी चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्ने उद्देश्य राखेको छ । साथै, एशियाली राष्ट्रबीच सहकार्यका आधारमा कानुनी शासन सुदृढ गर्ने र कानुनी संस्कृतिको विकासमार्फत साझा समृद्धिमा योगदान पुर्‍याउने लक्ष्य लिइएको छ ।

 

क्यालीअन्तर्गत कानुनी जानकारी आदानप्रदान, सेमिनार, डिजिटल पहुँच विस्तार, विशेषज्ञहरूको आपसी भ्रमण तथा संयुक्त अनुसन्धानजस्ता गतिविधि सञ्चालन हुनेछन् । वार्षिक साधारण सभा र समन्वय समितिका बैठकमार्फत संस्थाका गतिविधि अघि बढाइनेछ ।

 

समझदारीपत्रमा सदस्यता तथा पर्यवेक्षकको व्यवस्था, साधारण सभा, समन्वय समिति र सचिवालयसहितको संस्थागत संरचना निर्धारण गरिएको छ । सचिवालय गणतन्त्र कोरियामा रहने तथा यसको सञ्चालन खर्च आयोजक संस्थाले व्यहोर्ने प्रावधान छ ।

 

सदस्यहरूबीच विवाद उत्पन्न भएमा आपसी परामर्श तथा वार्ताबाट समाधान गर्ने र बौद्धिक सम्पत्ति तथा गोपनीयताको संरक्षण गर्ने व्यवस्था पनि समझदारीपत्रमा उल्लेख छ ।

 

सरकारका अनुसार क्यालीको सदस्यता प्राप्त भएपछि नेपालले एशियाली राष्ट्रहरूसँग विधायिकी तथा कानुनी क्षेत्रमा सहकार्य र अनुभव आदानप्रदान गर्ने अवसर पाउनेछ । अनलाइन तथा अफलाइन सेमिनार, छलफल र अन्य गतिविधिमार्फत नेपालको विधायिकी प्रशासनलाई थप प्रभावकारी बनाउन तथा जनसहभागिता प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

कानुन संशोधनका लागि मस्यौदा तथा अनुभव आदानप्रदान गर्ने व्यवस्थाले नेपालको कानुन सुधार तथा संशोधन प्रक्रियामा सकारात्मक योगदान पुर्‍याउने विश्वास सरकारको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार