प्रहरी महानिरीक्षकविरुद्ध खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

३० भाद्र, २०८३, मगलवार
सारांश
  • सभामुख अर्यालले बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा “कहिल्यै पनि” भन्ने वाक्यांशदेखि “आरोप गम्भीर हुन्छ” भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध प्रतिनिधिसभामा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।

 

गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि भ्रष्टाचारको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । सभामुख डोलप्रसाद अर्यालले उक्त अभिव्यक्तिको केही अंश अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

 

सभामुख अर्यालले बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा “कहिल्यै पनि” भन्ने वाक्यांशदेखि “आरोप गम्भीर हुन्छ” भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

 

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर सांसद सुनारले व्यक्त गरेका केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिए ।

 

बैठकको शून्य समयमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको भन्दै उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेका थिए ।

 

‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ । करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ,’ सुनारले भनेका थिए, ‘यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ, यो सम्मानित सदनमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा भ्रष्टाचारसम्बन्धी उजुरी परेको दाबीसमेत गरेका थिए ।

 

उनले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै महानिरीक्षक कार्की, उनकी श्रीमती र अन्य उच्च अधिकारीमाथि लागेको भनिएको भ्रष्टाचारको आरोपमा छानबिन हुनुपर्ने माग गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार