४० हजार धरौटीमा छुटे किस्पाङ अध्यक्ष तामाङ, १० करोडभन्दा बढीका मुद्दामा पुनः पक्राउको तयारी

३० भाद्र, २०८३, मगलवार
सारांश
  • प्रहरीले तामाङलाई मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार सिंहदरबारबाट पक्राउ परेका तामाङलाई अदालतको आदेशपछि पनि अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरीले पुनः हिरासतमा लैजाने भएको छ ।

 

प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको जाहेरीका आधारमा तामाङ पक्राउ परेका थिए । उनीविरुद्ध अरुण अर्यालले ५ लाख २५ हजार रुपैयाँको बाउन्स चेकसम्बन्धी मुद्दामा जाहेरी दिएका थिए ।

 

प्रहरीले तामाङलाई मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

 

तर, तामाङविरुद्ध अन्य नौवटा मुद्दा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार परिसरमै बैंकिङ कसुरसम्बन्धी पाँचवटा मुद्दा दर्ता छन् । त्यस्तै, महाराजगञ्ज, जनसेवा र लैनचौर प्रहरी वृत्तमा पनि उनीविरुद्ध बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।

 

भक्तपुर जिल्ला प्रहरी परिसरमा भने तामाङविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । दर्ता भएका सबै मुद्दाका मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । प्रहरीका अनुसार तामाङविरुद्ध दर्ता भएका मुद्दाको कुल रकम १० करोड रुपैयाँभन्दा बढी छ ।

 

भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलपछि बाहिरिने क्रममा सोमबार अनामनगरको हनुमानस्थानबाट तामाङ पक्राउ परेका थिए ।

 

पक्राउपछि प्रहरी वृत्त दरबारमार्गमा राखिएका उनलाई मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा लैजाने तयारी गरिएको छ । परिसरमा दर्ता भएका पाँचवटा मुद्दामा अनुसन्धान अघि बढाउन उनलाई पुनः अदालतमा पेश गरिने प्रवक्ता एसपी थापाले बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार