रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइँदै
२०८३ भाद्र ०६ शनिवार
- रिलिजन वा मजहबका आधारमा हुने हिंसाबाट पीडित व्यक्ति तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग र सहायता उपलब्ध गराउनुपर्ने महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
काठमाण्डौ, ०६ भाद्र । रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा प्रत्येक वर्ष अगस्ट २२ मा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । रिलिजन वा मजहबका आधारमा हुने हिंसाबाट पीडित व्यक्ति तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग र सहायता उपलब्ध गराउनुपर्ने महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
रिलिजन वा मजहबको स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सङ्गठनको स्वतन्त्रता एकअर्कासँग जोडिएका तथा परस्पर सहयोगी अधिकार हुन् । यी अधिकारलाई मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रका १८, १९ र २० धारामा समेटिएको छ । यी अधिकारको संरक्षणले रिलिजन वा मजहबका आधारमा हुने सबै प्रकारका असहिष्णुता र विभेदविरुद्धको अभियानलाई बल पुर्याउने विश्वास गरिन्छ ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विचारमाथि खुला, रचनात्मक र सम्मानजनक छलफल तथा विभिन्न रिलिजन, आस्था र संस्कृतिबीचको संवादले रिलिजियस वा मजहबी घृणा, हिंसाका लागि उक्साहट र हिंसात्मक गतिविधि रोक्न सकारात्मक भूमिका खेल्न सक्छ । त्यस्तै, विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग र सूचना खोज्ने, प्राप्त गर्ने तथा अरूलाई उपलब्ध गराउने अधिकारको पूर्ण सम्मानले लोकतन्त्रलाई बलियो बनाउन तथा रिलिजियस र मजहबी असहिष्णुता घटाउन सहयोग गर्ने बताइएको छ ।
विश्वका विभिन्न भागमा रिलिजियस वा मजहबी समुदाय तथा अल्पसङ्ख्यकसहित व्यक्तिहरूमाथि रिलिजनन वा मजहबका आधारमा हुने असहिष्णुता र हिंसाका घटना निरन्तर भइरहेका छन् । यस्ता घटनाको सङ्ख्या र गम्भीरता बढिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ ।
रिलिजन वा मजहबका नाममा व्यक्ति तथा धार्मिक अल्पसङ्ख्यकमाथि हुने निरन्तर हिंसा र आतङ्कवादी गतिविधिको कडा निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेको थियो । त्यसै प्रस्तावअनुसार अगस्ट २२ लाई रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।
महासभाले सबै प्रकारका आतङ्कवाद तथा आतङ्कवादलाई बढावा दिने हिंसात्मक अतिवादको स्पष्ट रूपमा निन्दा गरेको छ । यस्ता गतिविधि जुनसुकै स्वरूपमा, जहाँ र जसले गरे पनि स्वीकार्य नहुने जनाइएको छ । साथै आतङ्कवाद वा हिंसात्मक अतिवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा पनि जोड दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१९ मा पारित प्रस्तावमार्फत अगस्ट २२ लाई रिलिजन वा मजहबका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । दिवस घोषणासम्बन्धी प्रस्तावमा रिलिजन वा मजहबका आधारमा हुने हिंसाबाट पीडित व्यक्ति तथा उनीहरूका परिवारलाई प्रचलित कानुनअनुसार आवश्यक सहयोग र सहायता उपलब्ध गराउनुपर्ने महत्त्वलाई स्वीकार गरिएको छ ।
रिलिजन वा मजहबका आधारमा व्यक्तिमाथि हुने सबै प्रकारका हिंसाको महासभाले कडा निन्दा गरेको छ । उनीहरूका घर, व्यवसाय, सम्पत्ति, विद्यालय, सांस्कृतिक केन्द्र तथा धार्मिक स्थलमाथि हुने आक्रमणलाई पनि अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्यका रूपमा लिइएको छ ।
संयुक्त राष्ट्रसङ्घले यो दिवस घोषणा गर्दै मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने मुख्य जिम्मेवारी राज्यहरूको रहेको स्मरण गराएको छ । धार्मिक अल्पसङ्ख्यकसहित सबै व्यक्तिलाई आफ्नो धर्म वा आस्था स्वतन्त्र रूपमा अभ्यास गर्ने अधिकारको संरक्षण गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।