- गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि पार्टी विभाजनको तयारीमा रहेको देउवा समूहले तत्कालका लागि त्यस प्रक्रिया स्थगित गरेको छ।
काठमाडौं: सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएपछि पूर्वसभापति शेरबहादुर देउवा समूह उत्साहित बनेको छ।
गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि पार्टी विभाजनको तयारीमा रहेको देउवा समूहले तत्कालका लागि त्यस प्रक्रिया स्थगित गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि पुनरावलोकनका लागि सुनुवाइ गर्न आदेश दिएको थियो।
सर्वोच्चको यस निर्णयसँगै कांग्रेसको आधिकारिकता विवाद फेरि अदालतमै पुगेको छ। यद्यपि, पुनरावलोकनको अनुमति पाए पनि देउवा समूहले साउन २९ गते तय गरिएको राष्ट्रिय भेला भने नरोकिने जनाएको छ।
अब सर्वोच्च अदालतले गगन थापा समूहलाई दिएको आधिकारिकता कायम राख्ने वा देउवा समूहलाई आधिकारिकता दिने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ। उता गगन समूहले भने आफूहरूले प्राप्त गरेको आधिकारिकता यथावत् रहने दाबी गर्दै आएको छ।
नेता डा. प्रकाशशरण महतले अघिल्लो फैसलामा त्रुटि देखिएकै कारण सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको बताए। उनका अनुसार अब अदालतको अन्तिम आदेश नआएसम्म आफ्नो समूह ‘पर्ख र हेर’को अवस्थामा रहनेछ।
महतले राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएकाले कार्यक्रम कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे। उनले भने, ‘भेला हुन्छ। कांग्रेसको यो अवस्था किन आयो, अब कसरी अघि बढ्ने, विधान, संगठन सञ्चालन, आर्थिक नीति र राजनीतिक दृष्टिकोणलगायत विषयमा छलफल गर्छौँ।’
उनले आफूहरू अझै पनि पार्टी एकताको पक्षमै रहेको दोहोर्याए। उनका अनुसार भेला पार्टी विभाजनका लागि नभई एकताको सम्भावना खोज्न आयोजना गरिएको हो। उनले भने, ‘हाम्रो प्रयास एकताकै हो। तर त्यो सम्भव नभए अर्को विकल्पबारे सोच्नुपर्ने अवस्था आउन सक्छ भन्ने मात्रै थियो। अहिले पुनरावलोकनको अवसर खुलेको भएकाले तत्काल त्यो बाटोमा जानुपर्ने अवस्था छैन।’
महतले अदालतको निर्णय जुनसुकै पक्षमा आए पनि अन्ततः कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। ‘हाम्रो चाहना एकतामै अघि बढ्ने हो। भोलि निर्णय हाम्रो पक्षमा आए पनि मिलेरै जानुपर्छ,’ उनले भने।
उनका अनुसार अदालतबाट अन्तिम फैसला आउन केही समय लाग्ने भएकाले तत्काल संस्थापन पक्षसँग संवादको योजना भने छैन। ‘अहिले हाम्रो ध्यान राष्ट्रिय भेलामै केन्द्रित छ। त्यसपछि आवश्यक छलफल हुन सक्छ,’ उनले बताए।
महतका अनुसार हाल हङकङमा रहेका पूर्वसभापति शेरबहादुर देउवा पनि राष्ट्रिय भेलामा सहभागी हुनेछन्। ‘हामीले उहाँलाई निमन्त्रणा गरिसकेका छौँ। उहाँ २६ गते नेपाल आइपुग्नुहुन्छ र भेलामा सहभागी हुनुहुन्छ,’ उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।