यूएन महासभामा प्रधानमन्त्री नजाने, नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले गर्ने नेतृत्व
१३ श्रावण, २०८३, बुधवार
- संयुक्त राष्ट्रसंघ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ मा हुनेछ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुनेछ। परराष्ट्रमन्त्री खनालले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघ (यूएन) को वार्षिक महासभामा सहभागी नहुने भएपछि नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले महासभाको तयारी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ।
संयुक्त राष्ट्रसंघ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ मा हुनेछ भने उच्चस्तरीय बैठक सेप्टेम्बर २२ देखि सुरु हुनेछ। परराष्ट्रमन्त्री खनालले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। गत चैत १४ मा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेयता प्रधानमन्त्री शाहले कुनै पनि विदेश भ्रमण गरेका छैनन् भने उनको पहिलो विदेश भ्रमणबारे पनि निर्णय भएको छैन।
महासभाको अवसरमा सार्क मन्त्रिपरिषद्को बैठक आयोजना गर्ने सम्भावनाबारे पनि परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको छ। तर भारत–पाकिस्तानबीचको तनावका कारण सन् २०१६ यता सार्क शिखर सम्मेलन हुन सकेको छैन र उच्चस्तरीय बैठकहरू पनि ठप्प छन्। नेपालले एक दशकभन्दा बढी समयदेखि सार्कको अध्यक्षता गर्दै आएको छ।
विगतमा आन्तरिक राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्रीहरू महासभामा सहभागी नभएका उदाहरण भए पनि यसपटक त्यस्तो कुनै विशेष कारण सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीको अनुपस्थितिले नेपालले महत्त्वपूर्ण कूटनीतिक अवसर गुमाउने चिन्ता परराष्ट्र मामिलाका जानकारहरूले व्यक्त गरेका छन्।
पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले प्रधानमन्त्रीले महासभामा सहभागी भएर विश्वका नेतासँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने, नेपालको प्राथमिकता, सुशासन र लगानीका एजेन्डा प्रस्तुत गर्ने अवसर सदुपयोग गर्न सक्ने बताएका छन्।
प्रधानमन्त्री तथा उनको सचिवालयले विदेश भ्रमण नगर्ने विषयमा औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेताले प्रधानमन्त्री शाहले कम्तीमा एक वर्ष विदेश भ्रमण नगर्ने बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
-
नेप्सेमा आज पनि गिरावट, ४ अर्ब २ करोडको कारोबार
-
यूएन महासभामा प्रधानमन्त्री नजाने, नेपालका तर्फबाट परराष्ट्रमन्त्री खनालले गर्ने नेतृत्व
-
गोपालमानको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय बन्द
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।