आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

१३ श्रावण, २०८३, बुधवार
सारांश
  • त्यसैगरी, शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ ।

काठमाडौं: दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

 

राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म सेवा दुई सिफ्टमा सञ्चालन गरिनेछ । पछिल्लो एक सातादेखि विशेषगरी दक्षिण कोरियाको ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

 

विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।  दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गरिनेछ ।

 

त्यसैगरी, शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ । सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागको सूचनामा उल्लेख छ ।

 

ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चापसमेत बढेको हो। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक सातादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ ।

 

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्दै समयमै सेवा उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएको विभागले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार