- अमेरिकी सेनाले इरानका कोनारक, चाबहारलगायत विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण सुरु गरेको छ भने दुवै देशबीचको सैन्य टकराव थप गम्भीर बन्दै गएको छ ।
काठमाण्डौ, २५ अषाढ़ । अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएसँगै मध्यपूर्वमा तनाव फेरि चुलिएको छ । अमेरिकी सेनाले इरानका कोनारक, चाबहारलगायत विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण सुरु गरेको छ भने दुवै देशबीचको सैन्य टकराव थप गम्भीर बन्दै गएको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका सैन्य पूर्वाधारलाई लक्षित गर्दै नयाँ सैन्य कारबाही गरिएको हो । यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य ठिकानामा हवाई आक्रमण गरेको जनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानविरुद्ध थप ठूलो सैन्य कारबाही हुन सक्ने संकेत दिएका थिए । उनले अमेरिकाले अघिल्लो रात शक्तिशाली आक्रमण गरेको र आवश्यक परे फेरि पनि त्यस्तै कदम चाल्न सक्ने बताएका छन् । ट्रम्पले इरानले लामो समयदेखि मध्यपूर्वमा अस्थिरता सिर्जना गरेको आरोप समेत लगाए ।
इरानले मंगलबार होर्मुज जलडमरूमध्यमा तीनवटा व्यावसायिक जहाजलाई निशाना बनाएको जनाएको थियो । इरानी पक्षका अनुसार ती जहाजहरूले आफूहरूले तोकेको जलमार्ग प्रयोग नगरेकाले कारबाही गरिएको दाबी गरिएको छ ।अमेरिकी अधिकारीहरूले भने नेटो सम्मेलनमा सहभागी रहेका बेला इरानले जहाजमाथि आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले तत्काल सैन्य प्रतिक्रिया दिन निर्देशन दिएको बताएका छन् ।
इरानले पछिल्ला अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का अध्यक्ष र महासचिवलाई छुट्टाछुट्टै पत्र पठाएको छ । संयुक्त राष्ट्रका लागि इरानका स्थायी प्रतिनिधि अमिर सईद इरावानीले अमेरिकाले इरानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठूलो सैन्य आक्रमण गरेको आरोप लगाउँदै यो कदम संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले गोलेस्तान प्रान्तको अक्काला सहर बाहिर रहेको रेल पुलमा बम प्रहार गरेको छ । स्थानीय समयअनुसार मध्यरातपछि भएको आक्रमणमा सातवटा बम खसालिएको र रेलमार्गमा विस्फोट भएको जनाइएको छ । त्यस्तै, दक्षिणपूर्वी इरानस्थित इरानशहर विमानस्थल नजिक भएको अर्को आक्रमणमा एक अग्निनियन्त्रकको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन् । स्थानीय प्रशासनका अनुसार मध्यराततिर सहरभर चारवटा ठूलो विस्फोटको आवाज सुनिएको थियो । यसैबीच, इरानी सञ्चारमाध्यमहरूले कोनारक र चाबहार क्षेत्रमा पनि लगातार विस्फोट सुनिएको जनाएका छन् ।
अमेरिका–इरानबीचको युद्धविराम समाप्त भई सैन्य कारबाही पुनः सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५.८ प्रतिशतले बढेर प्रतिव्यारेल ७८.४३ अमेरिकी डलर पुगेको छ युद्धको जोखिम बढेसँगै युरोपेली सेयर बजारमा पनि गिरावट आएको छ। बेलायत, जर्मनी र फ्रान्सका प्रमुख सेयर सूचकहरू उल्लेखनीय रूपमा ओरालो लागेका छन् । दुवै देशबीचको तनाव थप बढ्दै गएमा मध्यपूर्वको सुरक्षा अवस्था, विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा व्यापक प्रभाव पर्न सक्ने चिन्ता बढेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान
-
खुस्बु ओलीको रास्वपा सांसदहरुलाई ध्यानाकर्षण- तपाईँहरूको मौनता इतिहासको अभिलेखमा दर्ता हुदैछ !
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध
-
विश्वकपको उपाधि दौडमा अन्तिम आठ देश: कसको सम्भावना कति बलियो ?
-
युद्धविराम समाप्त भएपछि अमेरिकाको इरानमा पुनः हवाई आक्रमण
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।