विश्वकपमा आजराती स्विट्जरल्यान्ड र कोलम्बिया आमने सामने

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • स्विट्जरल्यान्ड र कोलम्बियाबीच यो पाँचौँ भेट हुनेछ । यसअघिका चार खेलमध्ये तीन मैत्रीपूर्ण थिए । पछिल्लो भेट सन् २००७ मा भएको थियो, जहाँ कोलम्बियाले ३-१ को जित निकालेको थियो । दुवै टोलीबीचको एकमात्र प्रतिस्पर्धात्मक खेल सन् १९९४ को विश्वकपको समूह चरणमा भएको थियो । त्यसबेला कोलम्बियाले २-० ले जित निकाले पनि प्रतियोगिताबाट बाहिरिनु परेको थियो ।

काठमाडौँ: जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को अन्तिम खेलमा आज राति स्विट्जरल्यान्ड र कोलम्बिया आमनेसामने हुँदैछन् । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

 

दुवै टोलीको लक्ष्य विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै क्वार्टरफाइनलमा स्थान बनाउने रहेको छ ।

 

स्विट्जरल्यान्डका लागि यो रंगशाला परिचित रहेको छ । यस प्रतियोगितामा उनीहरूको लगातार तेस्रो खेल यही मैदानमा हुनेछ । समूह चरणको निर्णायक खेलमा आयोजक क्यानडालाई २-१ ले हराएको स्विट्जरल्यान्डले त्यसपछि अन्तिम ३२ को खेलमा अल्जेरियालाई २-० ले पराजित गर्दै सन् १९३८ यताकै पहिलो नकआउट जित दर्ता गरेको थियो । त्यो खेलमा ब्रिल एम्बोलो र डान न्दोयेले गोल गरेका थिए । विशेषगरी युवा खेलाडी योहान मान्जाम्बी उत्कृष्ट लयमा छन् । उनले यस विश्वकपमा तीन गोल र दुई गोलका लागि अवसर सिर्जना गर्दै पाँच प्रत्यक्ष गोल योगदान दिएका छन् । २० वर्ष २६१ दिनको उमेरमा उनले यो उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।

 

पछिल्लो ६० वर्षमा २१ वर्षभन्दा कम उमेरमा यसभन्दा बढी योगदान गर्ने खेलाडी जर्मनीका थोमस मुलर मात्र हुन्, जसले सन् २०१० मा पाँच गोल र तीन सहयोग गरेका थिए । एम्बोलोले विश्वकपमा आफ्नो चौथो गोल गरेका छन् । स्विट्जरल्यान्डका लागि विश्वकपमा उनीभन्दा बढी गोल गर्ने खेलाडी जोसेफ हुगी (६) र जेरदान साकिरी (५) मात्र छन् ।

 

यस विश्वकपमा स्विट्जरल्यान्डले पहिलो पटक एउटै संस्करणमा तीन खेल जितेको छ । साथै लगातार तीन खेल जित्ने उपलब्धि पनि पहिलो पटक हासिल गरेको हो । मुख्य प्रशिक्षक मुराट याकिनले विश्वकपमा टोलीको नेतृत्व गर्दै आठ खेलमध्ये पाँच जित निकालेका छन्, जुन स्विट्जरल्यान्डका कुनै पनि प्रशिक्षकको सबैभन्दा उत्कृष्ट जित प्रतिशत हो । यदि स्विट्जरल्यान्डले यो खेल जितेमा सन् १९५४ पछि पहिलो पटक क्वार्टरफाइनल पुग्नेछ । यसअघि टोली सन् १९३४, १९३८ र १९५४ मा अन्तिम आठमा पुगेको थियो ।

 

उता कोलम्बियाको लक्ष्य सन् २०१४ को सफल यात्रा दोहोर्‍याउने रहेको छ । त्यसबेला टोलीका प्रमुख खेलाडी रहेका कप्तान हामेस रोड्रिगेज अहिले पनि टोलीका मुख्य आधार हुन् । उनी विश्वकपमा कोलम्बियाका सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । यद्यपि घानाविरुद्धको अन्तिम १६ को खेलमा उनी पहिलो हाफपछि मैदानबाट बाहिरिएका थिए । घानाविरुद्ध जोन आरियासले खेलको १३ मिनेट ४९ सेकेन्डमा गरेको गोल विश्वकपमा कोलम्बियाको दोस्रो सबैभन्दा छिटो गोल हो । त्यो गोल लुइस स्वारेजको उत्कृष्ट पासमा सम्भव भएको थियो। स्वारेज खेल सुरु भएको छ मिनेटमै मैदान प्रवेश गरेका थिए र विश्वकप इतिहासमै वैकल्पिक खेलाडीबाट सबैभन्दा छिटो गोल योगदान गर्ने खेलाडी बने ।

 

कोलम्बियाले घानाविरुद्ध नकआउट चरणमा आफ्नो अहिलेसम्मकै सबैभन्दा उच्च आक्रमण क्षमता प्रदर्शन गरेको थियो । टोलीले लगातार तीन खेलमा २० वा सोभन्दा बढी प्रहार गरेको छ । तर ती अवसरबाट दुई गोल मात्र सम्भव भएकाले गोल गर्ने क्षमतामा भने सुधार आवश्यक देखिएको छ ।

 

रक्षात्मक रूपमा भने कोलम्बिया निकै बलियो देखिएको छ। टोलीले लगातार तीन खेलमा कुनै गोल नखाई जित निकालेको छ । यस विश्वकपमा स्पेन र मेक्सिकोले मात्र कोलम्बियाभन्दा बढी खेलमा गोल खानबाट जोगिएका छन् ।

 

स्विट्जरल्यान्ड र कोलम्बियाबीच यो पाँचौँ भेट हुनेछ । यसअघिका चार खेलमध्ये तीन मैत्रीपूर्ण थिए । पछिल्लो भेट सन् २००७ मा भएको थियो, जहाँ कोलम्बियाले ३-१ को जित निकालेको थियो । दुवै टोलीबीचको एकमात्र प्रतिस्पर्धात्मक खेल सन् १९९४ को विश्वकपको समूह चरणमा भएको थियो । त्यसबेला कोलम्बियाले २-० ले जित निकाले पनि प्रतियोगिताबाट बाहिरिनु परेको थियो । 

 

यद्यपि यस विश्वकपमा युरोपेली टोलीविरुद्ध कोलम्बियाको प्रदर्शन उत्साहजनक छैन । सन् २०२६ मा युरोपेली टोलीविरुद्ध खेलेका तीन खेलमध्ये उसले कुनै पनि जित्न सकेको छैन । क्रोएसिया र फ्रान्ससँग पराजित भएको कोलम्बियाले समूह चरणमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो ।

 

स्विट्जरल्यान्ड उच्च आत्मविश्वासका साथ मैदानमा उत्रनेछ। लगातार तीन जित, सन्तुलित टोली, उत्कृष्ट लयमा रहेका युवा खेलाडी र बलियो आक्रमण उनीहरूको मुख्य शक्ति हो । कोलम्बियाको सबैभन्दा ठूलो बल भनेको उसको अनुशासित रक्षा पंक्ति हो । तर सिर्जना गरेका अवसरलाई गोलमा परिणत गर्न नसक्नु टोलीका लागि चिन्ताको विषय बनेको छ । यस कारण यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । स्विट्जरल्यान्ड आक्रमणमा धारिलो देखिएको छ भने कोलम्बिया रक्षामा मजबुत छ। क्वार्टरफाइनलको टिकट कसले हात पार्ने भन्ने निर्णय दुवै टोलीको सन्तुलित प्रदर्शनले गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार