राष्ट्र बैंकको समष्टिगत आर्थिक प्रतिवेदन: बाह्य क्षेत्र मजबुत तर आन्तरिक अर्थतन्त्र अझै शिथिल

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • नयाँ सरकारले आगामी आर्थिक वर्षका लागि २१२४.३ अर्बको महत्त्वाकाङ्क्षी बजेट ल्याउँदै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । कर कटौती र व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याइएकाले बजारमा माग बढ्ने अपेक्षा छ ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको समष्टिगत आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै देशको बाह्य क्षेत्र इतिहासकै सबैभन्दा मजबुत अवस्थामा पुगेको जनाएको छ । बाह्य क्षेत्र बलियो भइरहँदा आन्तरिक उत्पादन, सरकारी पूँजीगत खर्च र बैंकहरूको कर्जा प्रवाहमा भने अझै पनि गम्भीर सुस्ती देखिएको छ । 

 

विश्वव्यापी भू-राजनीतिक तनाव, आन्तरिक आन्दोलन र इन्धनको मूल्यमा भएको उतारचढावका बीच नेपाली अर्थतन्त्रले मिश्रित प्रदर्शन गरेको राष्ट्र बैंकको ताजा तथ्याङ्कले देखाएको छ ।

 

खाडी मुलुकहरूमा बढेको भू-राजनीतिक तनावका बाबजुद नेपाली श्रमिकहरूले पठाउने रेमिट्यान्स प्रवाहमा ऐतिहासिक उछाल आएको छ । समीक्षा अवधिमा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९१६.९ अर्ब पुगेको छ । डिजिटल भुक्तानी र औपचारिक माध्यमको प्रयोग बढ्नु यसको मुख्य कारण मानिएको छ । रेमिट्यान्सको यही बाढीका कारण नेपालको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा २४.१९ अर्ब अर्थात् नेपाली रुपैयाँमा ३७०४.५ अर्ब पुगेको छ । यो सञ्चितिले इतिहासकै उच्च १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यस्तै देशको शोधनान्तर स्थिति ८६३.६ अर्ब र चालु खाता ७२९.३ अर्ब रुपैयाँको ठूलो बचतमा रहेको छ ।

 

बाह्य क्षेत्र बलियो देखिए पनि वास्तविक आर्थिक वृद्धिदर भने सरकारको लक्ष्यभन्दा कम अर्थात् ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । वास्तविक वृद्धिदर सम्भावित वृद्धिदर भन्दा कम रहेकाले अर्थतन्त्रमा नकारात्मक उत्पादन अन्तर कायमै देखिएको छ । यस वर्ष बेमौसमी वर्षा र खडेरीका कारण कृषिको वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान १२.६ प्रतिशतमा झरेको छ । अर्कोतिर, जलविद्युत उत्पादनमा झन्डै २० प्रतिशतको विस्तार भएसँगै उद्योग क्षेत्रको वृद्धिदर ५.६७ प्रतिशत पुगेको छ । थोक तथा खुद्रा व्यापार र वित्तीय क्षेत्रको सुधारका कारण सेवा क्षेत्र ४.२१ प्रतिशतले विस्तार भएको छ, जसको जीडीपीमा ६२.५८ प्रतिशतको मुख्य योगदान छ ।

 

बैंकिङ प्रणालीमा हाल ११ खर्ब रुपैयाँ बराबरको अत्यधिक लगानीयोग्य रकम थुप्रिए पनि बजारमा कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर घटेर ६.७३ प्रतिशत र औसत आधार दर ४.९७ प्रतिशत कायम भई ऐतिहासिक रूपमा सस्तो हुँदा पनि कर्जा विस्तार हुन सकेको छैन । बैंकहरूको निष्कृय कर्जा अनुपात बढेर ५.६ प्रतिशत पुग्नु, ऋण असुलीमा समस्या आउनु र घरजग्गा बजारमा मन्दी देखिनुले बैंकहरू नयाँ ऋण दिन हच्किएका हुन् । यसैबीच, डिजिटल बैंकिङको बढ्दो प्रयोग र सञ्चालन खर्च घटाउने राष्ट्र बैंकको नीतिका कारण चालू वर्षमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूका १६० वटा भौतिक शाखाहरू घटेका छन् ।

 

पछिल्ला महिनाहरूमा उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी फेरि उकालो लाग्न थालेको छ । अघिल्लो वर्षको नोभेम्बरमा इतिहासकै न्यून १.१ प्रतिशतमा झरेको मुद्रास्फीति अहिले ५.०४ प्रतिशत पुगेको छ । पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा इन्धनको भाउ र यातायात खर्च बढ्नु यसको मुख्य कारण राष्ट्र बैंकले उल्लेख गरेको छ । खाद्य समूहतर्फ फलफूल र घिउ तथा तेलको मूल्यमा तीव्र वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

 

सरकारी वित्तको पाटो यो वर्ष पनि निराशाजनक देखिएको छ । आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि विकास निर्माणका लागि छुट्याइएको पूँजीगत खर्च जम्मा ३२.५३ प्रतिशत मात्र हुन सकेको छ, जुन अघिल्लो वर्षको तुलनामा पनि ७.५ प्रतिशतले कम हो । अर्कोतर्फ, आन्तरिक ऋणको सावाँ-ब्याज भुक्तानीमा भने ३०५.७ अर्ब रुपैयाँ खर्च भएको छ । नेपालको कुल सार्वजनिक ऋण हाल कुल गार्हस्थ्य उत्पादनको ४४.९ प्रतिशत पुगेको छ ।

 

नयाँ सरकारले आगामी आर्थिक वर्षका लागि २१२४.३ अर्बको महत्त्वाकाङ्क्षी बजेट ल्याउँदै ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । कर कटौती र व्यक्तिगत आयकरको सीमा १० लाख पुर्‍याइएकाले बजारमा माग बढ्ने अपेक्षा छ । राष्ट्र बैंकले आगामी वर्षको औसत मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गर्दै आन्तरिक बजारको सुस्ती चिर्न आगामी वर्ष पनि सतर्कतापूर्वक लचिलो मौद्रिक नीति अवलम्बन गरेको स्पष्ट पारेको छ । यद्यपि, बजेटको कमजोर कार्यान्वयन शैली र कृषि क्षेत्रमा मौसमको अनिश्चितता अर्थतन्त्रका लागि मुख्य जोखिमका रूपमा रहने प्रतिवेदनमा उल्लेख छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार