पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर

२२ आषाढ़, २०८३, सोमवार
सारांश
  • यसरी कानुनी आम्दानीभन्दा तीन करोड ४५ लाख ९९ हजार बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको आरोप छ। आयोगले उक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको दाबी गरेको छ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजारको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगका अनुसार गुप्ता २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो। सो अवधिमा उनी र उनको एकाघर परिवारको कानुनी आम्दानी तथा खर्चको विवरण विश्लेषण गर्दा आम्दानीभन्दा खर्च उल्लेख्य रूपमा बढी देखिएको आयोगको निष्कर्ष छ।

 

अनुसन्धानबाट गुप्ता र उनको परिवारले बैंक मौज्दात, तलब–भत्ता, कम्पनीबाट भएको आम्दानी, बैंक ऋण तथा कृषि आयलगायत स्रोतबाट कुल तीन करोड ५१ लाख ५२ हजार कानुनी आम्दानी गरेको देखिएको छ।

 

तर सोही अवधिमा बैंक मौज्दात, जग्गा खरिद, घर निर्माण, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, अध्ययन खर्च, सवारीसाधन खरिद, शेयर तथा कम्पनीमा लगानी, बीमा शुल्कलगायत शीर्षकमा छ करोड ९७ लाख ८१ हजार खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।

 

यसरी कानुनी आम्दानीभन्दा तीन करोड ४५ लाख ९९ हजार बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको आरोप छ। आयोगले उक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको दाबी गरेको छ।

 

आयोगका अनुसार अनुसन्धानका क्रममा गुप्ताले पेस गरेको सम्पत्ति विवरण पनि वास्तविक आर्थिक अवस्था र आर्जनसँग मेल नखाने तथा अस्वाभाविक देखिएको छ। गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति एकाघर परिवारका सदस्यहरूको नाममा समेत रहेको पाइएको आयोगले जनाएको छ।

 

यस प्रकरणमा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तासहित उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ताविरुद्ध समेत भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार