विश्वकपको नकआउटमा भोली बिहान जर्मनी र पराग्वे भिड्दै

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • जर्मनी र पाराग्वेबीच यसअघि दुई पटक भेट भएको छ । विश्वकपमा उनीहरू सन् २००२ मा आमनेसामने भएका थिए, जहाँ जर्मनीले अन्तिम समयमा गरेको एक गोलको मद्दतमा १-० को जित निकालेको थियो । त्यसयता सन् २०१३ मा भएको मैत्रीपूर्ण खेल भने ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो ।

काठमाडौँ: फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम ३२ को बहुप्रतीक्षित खेलमा जर्मनी र पाराग्वे आमनेसामने हुँदैछन् । बोस्टन रंगशालामा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।   

 

सन् २०१४ मा विश्वकप जितेपछि पहिलो पटक नकआउट चरणको खेल खेल्न लागेको जर्मनी उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ भने पाराग्वे इतिहास रच्ने योजनासहित मैदान उत्रनेछ ।

 

जुलियन नागेल्समानको प्रशिक्षणमा रहेको जर्मनी समूह ‘ई’ को विजेताका रूपमा नकआउट चरणमा पुगे पनि समूह चरणमा टोलीको प्रदर्शन मिश्रित रह्यो । पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी कुरासाओलाई ७-१ गोलले पराजित गरेको जर्मनीले त्यसपछि आइभरी कोस्टविरुद्ध पुनरागमन गर्दै २-१ को जित निकालेको थियो । अन्तिम खेलमा भने इक्वेडरसँग २-१ ले पराजित भए पनि समूह विजेता बन्न सफल भयो ।

 

सन् २०१८ र २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनीका लागि यसपटक नकआउट चरणमा पुग्नु नै ठूलो उपलब्धि बनेको छ । टोलीले पछिल्ला नौ नकआउट खेलमध्ये आठमा जित निकालेको इतिहास बोकेको छ । सन् २०१४ को विश्वकपको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १- ० ले हराउँदै जर्मनीले चौथो पटक विश्व उपाधि जितेको थियो ।

 

समूह चरणमा जर्मनीका लागि अर्को सकारात्मक पक्ष भनेको गोल गर्ने खेलाडीको विविधता रह्यो । टोलीले गरेको १० गोलमा सात फरक खेलाडीले गोल गरेका छन् । यदि नकआउट चरणमा अर्को फरक खेलाडीले गोल गरे जर्मनीले एकै विश्वकप संस्करणमा आठ फरक गोलकर्ता हुने आफ्नो पुरानो कीर्तिमानसँग बराबरी गर्नेछ ।

 

३८ वर्षका नागेल्समान विश्वकपको नकआउट खेलमा टोलीको नेतृत्व गर्ने पछिल्ला चार दशककै सबैभन्दा कम उमेरका प्रशिक्षक बन्नेछन् । यस्तै अनुभवी गोलरक्षक मानुएल नोयर मैदान उत्रिए विश्वकपमा जर्मनीका लागि सबैभन्दा धेरै खेल सुरु गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाउनेछन् । उनको यो २३औँ विश्वकप खेल हुनेछ।

 

यता पाराग्वेले भने कठिन सुरुआतपछि प्रभावशाली पुनरागमन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । आयोजकमध्ये एक अमेरिका विरुद्ध पहिलो खेल ४–१ ले गुमाएको पाराग्वेले त्यसपछि १० खेलाडीमा सीमित रहँदै टर्कीलाई १-० ले हरायो भने अस्ट्रेलियासँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गर्यो ।

 

पाराग्वेका लागि जुलियो एन्सिसो सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन् । उनले टोलीका दुवै गोलमा अवसर सिर्जना गरेका छन् र आक्रमण निर्माणका अधिकांश सूचकमा टोलीकै अग्रस्थानमा छन् । विपक्षीको क्षेत्रमा सबैभन्दा धेरै दबाब सिर्जना गर्ने खेलाडी पनि उनी नै हुन् । पाराग्वे इतिहासमा पाँचौँ पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । तर यसअघि खेलेका पाँच नकआउट खेलमध्ये उसले केवल एक खेल मात्र जितेको छ । त्यो जित सन् २०१० मा जापानविरुद्ध पेनाल्टी सुटआउटमार्फत आएको थियो । अझ उल्लेखनीय कुरा के छ भने पाराग्वेले विश्वकपका नकआउट चरणका पाँच खेलमा अहिलेसम्म नियमित समयमा एक गोल पनि गर्न सकेको छैन ।

 

जर्मनी र पाराग्वेबीच यसअघि दुई पटक भेट भएको छ । विश्वकपमा उनीहरू सन् २००२ मा आमनेसामने भएका थिए, जहाँ जर्मनीले अन्तिम समयमा गरेको एक गोलको मद्दतमा १-० को जित निकालेको थियो । त्यसयता सन् २०१३ मा भएको मैत्रीपूर्ण खेल भने ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो ।

 

तथ्याङ्क भने जर्मनीको पक्षमा देखिन्छ । जर्मनीले दक्षिण अमेरिकी टोलीविरुद्ध खेलेका पछिल्ला पाँच विश्वकप नकआउट खेल जितेको छ । अर्कोतर्फ पाराग्वेले युरोपेली टोलीविरुद्ध खेलेका चारै विश्वकप नकआउट खेल गुमाएको छ र तीमध्ये कुनै खेलमा गोल गर्न सकेको छैन । इतिहास, अनुभव र टोलीको गहिराइका आधारमा जर्मनीलाई बलियो दाबेदार मानिएको छ । तर समूह चरणमा संघर्षपूर्ण प्रदर्शन गरेको जर्मनीले पाराग्वेलाई हल्का रूपमा लिन सक्ने अवस्था छैन । पाराग्वे अनुशासित र रक्षात्मक खेलमार्फत फेरि एकपटक चमत्कार गर्ने लक्ष्यमा हुनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार