जलविधुत् आयोजनासम्बन्धी अनुमतिपत्र बारे अध्ययन गर्न गठित समितिले के के दियो सुझाव ?

२०८३ जेठ २७ बुधवार
सारांश
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष जलविधुत् आयोजनासम्बन्धी अनुमतिपत्रको अवस्था, प्रगति र प्रभावकारिताबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।

काठमाण्डौ, २७ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष जलविधुत् आयोजनासम्बन्धी अनुमतिपत्रको अवस्था, प्रगति र प्रभावकारिताबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ ।

मन्त्री श्रेष्ठले प्रतिवेदन ग्रहण गर्दै समितिले जिम्मेवारी अनुसार गहिरो अध्ययनसहित काम सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी तथा प्राविधिक पक्षको मूल्याङ्कन गरी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाइने बताए ।

 

समितिले अनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन पेश गरेको हो ।  समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको विस्तृत अध्ययन गर्दै नीतिगत, प्राविधिक, आर्थिक र कानूनी कमजोरीहरू पहिचान गरेको छ । साथै सुधारका लागि विभिन्न सुझावसहित प्रतिवेदन मन्त्रालयमा बुझाएको हो । प्रतिवेदनमा विधुत् खरिद सम्झौता भइसकेपछि पनि लामो समयसम्म निर्माण कार्य सुरु नगर्ने प्रवर्द्धकहरूको अनुमतिपत्र विधुत् ऐन अनुसार खारेजी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । यसैगरी अनुमतिपत्र वितरण प्रणालीलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन आवश्यक सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।समितिले विद्युत् ऐन, नियमावली, जलविधुत् विकास नीति र निर्देशिकाबीच देखिएका बाझिने तथा अस्पष्ट प्रावधानहरू पुनरावलोकन गरी एकरूपता कायम गर्न सुझाव दिएको छ । साथै लगानी बोर्ड, उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालयबीच दोहोरो जिम्मेवारी हटाई स्पष्ट कार्यक्षेत्र तोक्नुपर्ने पनि भनिएको छ ।

 

अनुमतिपत्र संशोधन, आयोजना बैंक व्यवस्थापन तथा बिक्री वा हस्तान्तरणजस्ता विषयलाई निर्देशिकाभन्दा माथिल्लो कानूनी तहमा समेटी नियमावलीमै व्यवस्था गर्नुपर्ने सुझावसमेत दिइएको छ । उत्पादन अनुमतिपत्र समाप्तिपछि स्वामित्व हस्तान्तरण, सञ्चालन व्यवस्थापन र राजस्व सम्बन्धी अस्पष्टता हटाउन पनि जोड दिइएको छ ।

 

हालको पहिलो आउनेले पाउने प्रणालीलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमा रूपान्तरण गर्नुपर्ने सुझाव दिँदै समितिले नयाँ विधुत् ऐन आवश्यक रहेको औँल्याएको छ । संघ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट हुने गरी विधुत् व्यापारसम्बन्धी व्यवस्था गर्नुपर्ने पनि सिफारिस गरिएको छ । त्यसैगरी राष्ट्रिय विधुत् विकास योजना, प्रसारण लाइन योजना र माग व्यवस्थापन योजना तयार गर्नुपर्ने सुझाव दिइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया १२ महिनाभित्र सम्पन्न हुने कानूनी व्यवस्था गर्नुपर्ने, साथै वन, निकुञ्ज र संरक्षण क्षेत्रसँग सम्बन्धित स्वीकृति प्रक्रिया सरल बनाउनुपर्ने उल्लेख छ ।

 

जग्गा प्राप्ति, वन उपयोग, विस्फोटक पदार्थ आपूर्ति लगायतका प्रक्रियामा देखिएका अवरोध हटाउन एकद्वार प्रणाली लागू गर्ने तथा सबै अनुमति ‘सन सेट’ कानुनमार्फत समयसीमाभित्र टुंग्याउने व्यवस्था गर्न पनि समितिले सिफारिस गरेको छ ।

 

मन्त्रिपरिषद्को शासकीय सुधार कार्य योजनाअन्तर्गत विधुत् विकास विभागबाट जारी अनुमतिपत्रहरूको समीक्षा गर्न चैत १९ गते सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिमा डा. दिवस बहादुर बस्न्यात, निकुन्ज भण्डारी, शालिकराम भण्डारी र जीवन राना मगर सदस्य रहेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार