डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

२०८३ जेठ २६ मङ्गलवार
सारांश
  • नेपाल राष्ट्र बैंकले विधुतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ ।

काठमाण्डौ, २६ जेठ । नेपाल राष्ट्र बैंकले विधुतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

 

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ ।

 

संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन् । यसका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पाइने भए पनि त्यससँग सम्बन्धित जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहने व्यवस्था गरिएको छ ।

 

राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन् । अन्य प्राकृतिक व्यक्तिका लागि यस्तो सीमा २ लाख रुपैयाँ तोकिएको छ । दुवै प्रकारका कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्षसम्म हुनेछ ।

 

त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीलाई अल्पकालीन चालु पुँजी कर्जाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ, जसको भुक्तानी अवधि १ वर्ष तोकिएको छ । यस्तै, दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीतिअनुसार निर्धारण गर्नेछन् ।

 

संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध व्यापारीको सहमतिमा उनीहरूको व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण प्राप्त गरी कर्जा विश्लेषणका लागि उपयोग गर्न सक्नेछन् ।

 

यसबाहेक, बैंक तथा वित्तीय संस्थाले प्रविधि सेवा प्रदायक संस्थामार्फत ग्राहकको सहमतिमा व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण संकलन गर्न सक्नेछन् । तर त्यस्ता कर्जामा निहित सम्पूर्ण जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, विवरण प्राप्ति प्रक्रिया, गोपनीयता, आधिकारिकता तथा ग्राहकको सहमतिसम्बन्धी विषय समेटेर प्रविधि सेवा प्रदायकसँग सम्झौता गर्नुपर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने प्रावधान पनि थपिएको छ ।

 

राष्ट्र बैंकले यो संशोधनमार्फत डिजिटल कर्जाको पहुँच विस्तार गर्दै विशेषगरी लघु, साना तथा मझौला व्यवसायीलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार