खुल्यो बिपी राजमार्ग

२०८२ कार्तिक १६ गते आइतवार
सारांश
  • आइतबार बिहान ११ः३० बाट सडक सञ्चालनमा आएको काभ्रेको मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले जानकारी दिए । लगातारको वर्षाको कारण तीनदिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो ।

रामेछाप : वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

 

आइतबार बिहान ११ः३० बाट सडक सञ्चालनमा आएको काभ्रेको मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले जानकारी दिए । लगातारको वर्षाको कारण तीनदिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो ।

 

वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्ने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएका श्रेष्ठले बताए । 

 

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिकास्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको थियो। यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो र लेदोले सडक अवरुद्ध पारेको थियो ।

 

सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका थिए भने केही सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंतर्फ गएका थिए । सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पु¥याउँदै आएको छ ।

 

गत असोज १८ र १९ गते को वर्षाको कारण रोशी खोलामा आएको बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएको थियो । जसको कारण एक हप्तासम्म सडक अवरुद्ध भएको थियो । गत सालको असोज महिनामा आएको बाढीले सो राजमार्गमा ठुलो क्षति पुगेको छ । सो ठाउँमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ ।

 

बिपी राजमार्ग काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराई जोड्ने प्रमुख मार्गहरूमध्ये एक हो । यो मार्ग अवरुद्ध हुँदा काठमाडौँ–जनकपुर–बर्दिबास–इटहरीतर्फको सवारी सञ्चालनमा पनि असर पर्छ । त्यस्तै रामेछाप, ओखलढुङ्गा, सोलुदेखि पूर्वको भोजपुरसम्म जाने यातायात साधन यही मार्ग भएर चल्ने गर्दछन् ।

 

स्थानीय बासिन्दाहरूले राजमार्ग आसपासमा ढुङ्गा झिक्दा र क्रसर उद्योग सञ्चालनले माटो कमजोर बनेको भन्दै दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरेका छन् । मापदण्ड विपरीत सञ्चालन भएका ढुङ्गा खानी र क्रसर उद्योग बन्द गर्नु पर्ने उनीहरूको माग छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार