प्रसाईको अस्पतालले क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने
२०८१ माघ २० गते आईतवार
- पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए ।
झापा, २० माघः क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए ।
यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले जानकारी दिए ।
उनले भने,“निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । “देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ”, उनले भने, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।” बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।
जनसम्पर्क अधिकृत गिरीले बिगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएकोे जानकारी दिए । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उनको भनाइ छ ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उनले बताए । विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा यादवले जानकारी दिए । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।
गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताए । उनले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गईरहेका छन्। बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उनले बताए । “हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ”, उनि भन्छन, “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”
पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो- विप्लव
-
कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
-
लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री यांकी उक्याब नियुक्त
-
झण्डै ५ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
-
पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।