- पुँजी एउटा उत्पादनशील साधन हो जसले हामीलाई मानव उपयोगी वस्तुहरू निर्माण गर्न सहयोग गर्छ । सम्पत्ति सिर्जना गर्ने क्षमता भएका सबै चीजहरुलाई हामीले पुँजी भन्न सक्छौं ।
पुँजीवाद प्रति मानिसहरुको जुन बुझाई छ, यो भन्नाले एउटा ‘सिंगल आईडिया’ होला भन्ने सोचिन्छ । तर यसमा धेरै कुराहरू जोडिएका छन्। जस्तो कि ‘वाद’ भन्ने बित्तिकै हाम्रो दिमागमा आउने समाजवाद, माक्र्सवाद इत्यादी ‘वाद’ जस्तै ‘पुँजीवाद’ पनि कुनै ‘वाद’ नै होला भन्ने सोचिन्छ । तर यो एउटा ‘सिंगल आईडिया’ नभएर विभिन्न विचारहरुको ‘कलेक्टिभ फर्म’ हो ।
यसलाई पछि कम्युनिष्टहरूले अवमुल्यन गरेर ’पुँजीवाद’मा सीमित गराईदिए । जस्तो व्यक्ति प्रधान होकि समूह भन्ने कुरा आउछ ? नेपालीमा भन्दा व्यक्तिवादी भनिन्छ, अंग्रेजीमा ‘इन्डुभिजुअलिज्म’ शब्द चाहिँ राम्रो छ । यसमा व्यक्तिलाई प्रधान मान्ने कि समूहलाई भन्ने हो। पुँजीवाद तर्फ त्यो विचार समूहमा सबैभन्दा महत्वपूर्ण विचार ‘व्यक्तिवाद’ हो । यसमा व्यक्तिलाई महत्व दिइन्छ । निजी सम्पत्तिको अधिकारलाई महत्व दिईन्छ । यसमा स्वचालित समाजको अवधारणाहरू रहन्छन । जस्तो अर्थतन्त्रलाई बजारले चलाउनु पर्छ भन्ने कुराहरु हुन्छन । सम्झौताबाट समाज सञ्चालन हुन्छ भन्ने कुराहरू हुन्छन । यस्ता धेरै कुराहरू मिलेर बल्ल पुँजीवाद बन्छ ।
खासगरी ब्रिटिश दार्शनिकहरू त्यतिबेला यस सिद्धान्तलाई शास्त्रीय उदारवाद भन्थे । जोन लक, डेबिड ह्युम, एडम स्मिथ, जेरेमी बेन्थाम, जेएस मिल लगायत अन्य दार्शनिकहरूको यसमा योगदान छ । उनीहरुले एक किसिमको राजनीतिक तथा आर्थिक उपायहरुद्वारा समाजलाई आगाडी बढाउन सकिन्छ भन्ने बताएका थिए । पछि जर्मन दार्शनिक खासगरी कार्लमाक्र्सले त्यो विचारलाई ‘क्यापिटालिज्म’ भनेर पुँजीवादको लेवल लगाइदिएर साँघुरो बनाइदिए । यसरी यसको नामकरण कार्ल माक्र्सले गर्दिए । कार्ल माक्र्स पछिका शास्त्रीय उदारवादलाई मन पराउने मान्छेहरू जो थिए उनीहरूले ठिकै छ पुँजीवाद भने पुँजीवादनै सही भनेर अगाडि बढे । हामी पुँजीवादी नै हो भनेर यो शब्दलाई स्वीकार गर्दै शास्त्रीय उदारवादी विचारकहरूले यसलाई अझै परिष्कृत गर्दै लगे ।
त्यहि हिसाबले बुझ्ने हो भने यसमा के हुन्छ भन्दा ‘पुँजी’ र ‘वाद’ गरी दुई शब्द जोडिएका छन् । पुँजी भन्नाले आम बुझाईमा पैसा भने बुझिन्छ । पुँजीका विभिन्न स्वरुपहरु हुन्छन, यसमध्ये एउटा चाहिं पैसा हो । वास्तवमा पुँजी मूर्त पनि हुन्छ, अमूर्त पनि हुन्छ । मुर्त भनेको हामीले चर्मचक्षुले अनुभव गर्न सक्ने चिजहरू हुन् । हाम्रो चर्मचक्षुले अनुभव गर्न नसक्ने चिजहरू पनि पुँजी हुन्छन, सम्पत्ति हुन्छन । जोसँग पैसा छैन, जो गरिब छ, उसँग के पुँजी हुन्छ र ? भन्ने पनि प्रश्न आउला ! तर जोसँग भौतिक रुपमा देखिने पुँजी हुँदैन, उसँग पनि पुँजी हुनसक्छ। उनीहरूसँग अमुर्त सम्पत्तिहरू हुन सक्छन ।
एउटा कलाकारसँग गित गाउने क्षमता हुनसक्छ । लेखकसँग लेख्ने कला हुन सक्छ । खेलाडीहरूसँग मूर्त सम्पति त केहि पनि हुँदैन तर उनिहरूसँग पुँजी आर्जन गर्न सक्ने क्षमता हुन्छ । उदाहरणका लागि रोनाल्डोसँग सुरुमा पैसा जस्तो केहि सम्पति त थिएन, खेलाडी हो तर उसँग खेल्ने शिप छ । उसले आफ्नो खेल्ने शिपले पैसा कमाउँछ । धेरै जसोले पुँजी भन्ने बित्तिकै पैसामा जोड दिएका हुन्छन् ।
धेरै जसोले पैसा भन्दा अगाडी बढेर गए भने यस्तै घर–जग्गा तथा बहुमुल्य धातुहरु, सेयर लगायतका चिजहरूलाई मात्रै पुँजी मानेका छन् । सेयर पनि अमूर्त सम्पत्ति हो । नगद वा नगद सरहका वस्तुहरुलाई मात्र पुँजी मान्ने चलन छ । तर पुँजी त्यतिमा मात्रै सिमित छैन । हामीले पुँजीलाई बुझ्दाखेरी यो एउटा यस्तो साधन हो जसले तपाइको अगाडि थप पुजी संरचना सिर्जना गर्न सक्ने अथवा आर्थिक स्रोतहरु दिन सक्ने जसले तपाईको जीवनलाई सहज बनाईदिन्छ । व्यक्तिलाई धनि बनाइदिन्छ ।
जस्तो प्रकृतिले हामीलाई निःशुल्क दिएको धेरै चिजहरु हुन्छन । नदि किनारमा लडिरहेको ढुंगालाई हेरौं । त्यो ढुंगालाइ ल्याएर जाँतो बनाउनु भयो भने त्यो मानव उपयोगी हुन्छ । त्यो पुँजी बन्छ ।
अनि यो विचारधाराका पक्षपोषकहरूको विचार चाहिँ के भन्दाखेरी उनीहरू व्यक्तिमा निजि सम्पतीको स्वामित्व हुनुपर्छ भन्ने मान्यता राख्छन । किनभने ढुंगामा उसको निजी सम्पति हो भनेर स्थापित गर्न नसकिएला, तर जाँतोमा सकिन्छ । जब उसले ढुङ्गालाई निश्चित आकार दिन्छ उसले आफ्नो समय, श्रम र बुद्धि प्रयोग गरेको हुन्छ तब मात्रै जाँतो बन्छ । यदि निजी सम्पतिको अधिकार हुँदैन भने कसैले पनि त्यो ढुंगालाई जाँतो बनाउदैन । मानव उपयोगी चिजहरु निर्माण नै हुँदैन थियो र संसारमा कुनै आविष्कार नै हुदैन थियो ।
हामी त्यहि जंगली सभ्यता र शिकारी युग, त्यसैमा सीमित हुन्थ्यौं । त्यो शिकारी युगबाट यहाँसम्म आउनुको प्रमुख कारण नै निजी सम्पत्तिको अधिकार हो । किनभने शिकारी युगबाट कृषि युगमा आउन थालेपछि मानिसहरुले खेतिपाती गर्न थाले, पशुपालन गर्न थाले । त्यतिबेला जग्गा जमिन त धेरै थियो । त्यतिबेला मैले खेतीपाती गरेको भनेर घेरा लगाउन थालियो । आफ्नो परिश्रम परेको कुरालाई मानिसहरूले मेरो हो भन्न थाले ।
विस्तारै आधुनिक युगमा आइसकेपछि कानुनले पनि त्यसलाई मान्यता दिन थाल्यो । कानुनले तिम्रै हो भन्न थाल्यो । पुँजीलाई चाहिँ त्यसरी बुझ्नु पर्छ ।
पुँजी एउटा उत्पादनशील साधन हो जसले हामीलाई मानव उपयोगी वस्तुहरू निर्माण गर्न सहयोग गर्छ । सम्पत्ति सिर्जना गर्ने क्षमता भएका सबै चीजहरुलाई हामीले पुँजी भन्न सक्छौं । पुँजीलाई यसरी बुझेपछि बल्ल पुँजीवादलाई बुझ्न अलि सजिलो हुन्छ । पुँजीलाई अधिकतम तथा आदर्शतम परिचालन गरेर अझै समृद्ध कसरी हुने भन्ने उपायहरूको संग्रहलाई पुँजीवाद भनिन्छ ।
हाम्रोमा केहि मानिसहरूले पुँजीलाई गलत ढंगले व्याख्या गर्ने, पुँजी परिचालन गर्नेहरूलाई ‘दलाल पुजीपति’ र ‘दलाल पुँजीवाद’ आदि इत्यादि भन्छन । वास्तवमा यो एक किसिमको सिमित बुझाई हो, यो उनीहरूको साँघुरो बुझाई हो।
मध्यस्थकर्तालाई हाम्रो समाजले अथवा खासगरी वामपन्थी विचार राख्नेहरुले अपराधी भन्ठानछन् । मध्यस्थता पनि एउटा सेवा हो । अब अहिले जग्गा दलाल भन्छन । जग्गा दलाललाई त्यसरी नकारात्मक रुपमा हेर्न जरुरी छैन । उसले खरिदकर्ता र बिक्रिकर्तालाई भेटाईदिने काम त गरेको छ । उसले सेवा त गरेको हो । उसको काम कारबाहीहरु पारदर्शी हुन्छ हुदैन । उसले कति कमिसन खान्छ, के गर्छ, त्यो त अलग कुरा हो ।
हामी सामुहिक क्रियाकलापहरुमा संलग्न हुन्छौं । हामी आर्थिक कारोबारहरु गर्छौ, सामाजिक कारोबारहरु गर्छौ । त्यसको व्यवस्थापन गर्दिने कामहरु त्यसमा मध्यस्थकर्ताहरू हुन्छन । आजको समयमा कुनै पनि व्यक्तिले आफैले खोजेर सबै कामहरू सहज ढंगले गर्न सकिदैन । विचमा मध्यस्थता चाहिन्छ, कसैको सहयोग चाहिन्छ । मध्यस्थकर्तालाई सकारात्मक रुपले हेर्ने, बुझ्ने हो भने उनीहरुको ठूलो भूमिका हुन्छ । तर वामपन्थीहरूले यो कुरा मान्दैनन, यसलाई उनीहरू बुझ्दैनन्।
वामपन्थीहरूले त केवल के भन्छन भने वस्तु निर्माण गर्नको लागि श्रमको मात्र भूमिका हुन्छ भन्ने ठान्छन । सम्पत्ति सिर्जना गर्ने, उपयोगी वस्तुहरू निर्माण गर्ने यौटै मात्र चिज श्रम हो भन्नेमा उनीहरूको जोड हुन्छ । भन्नको लागि उनीहरूले एडम स्मिथले भनेको जस्तो वस्तु निर्माण गर्नको लागि श्रम, पुँजी र भूमि आवश्यक हुन्छ भन्छन । उत्पादनका साधनहरू यी तिन कुराहरू हुन् भन्छन। तर श्रम बाहेक बाँकी दुईओटा कुराहरू गौण हुन् भन्छन। त्यहि श्रमिकहरूलाई शोषण गरेर केहि व्यक्ति धनि हुन्छन भन्ने उनीहरूको बुझाई छ, जुन गलत छ । अनि यस्तै विचार बोक्ने र यस्तै विचारको वरिपरि घुम्नेहरूले पुँजीपतिलाई गालि गर्ने, दलाल पुजीपति भन्ने जस्ता कुराहरू गर्छन ।
पुँजीवादको सबैभन्दा सवल पक्ष भनेको यो व्यक्तिवादी हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो हितको बारेमा सोच्न सक्छ । कुनै पनि व्यक्तिलाई कुनै प्रधिकारले लादेको मूल्य मान्यताको पछाडि लाग्दैन, यसको पछि लाग्नु पर्दैन । कुनै व्यक्ति कसैले लादेको कुराहरू गर्न बाध्य हुनुपर्ने कुरा नैतिक होइन । यो चाही स्वतन्त्र नागरिकले वा स्वतन्त्र व्यक्तिको लागि नैतिक हुने कुरै भएन ।
आजको समयमा कोहि व्यक्ति कसैको अधिनमा रहन्छ भने त्यसको पूर्ण जीवन नै भएन । पुँजीवादी अर्थ व्यवस्थामा व्यक्ति आफ्नो छनौट गर्न स्वतन्त्र हुन्छ, उसलाई कसैले लादेको कुरा स्वीकार गर्न बाध्य पारिदैन ।
दोस्रो कुरो निजी सम्पतिको कुरा हो। पुँजीवादी अर्थ व्यवस्थाको अर्को महत्वपूर्ण र सवल पक्ष भनेको यसमा निजी सम्पत्तिको अधिकार प्रत्याभूत गरिएको हुन्छ । निजी सम्पत्तिको अधिकारको महत्वका बारेमा माथि नै जाँतोको उदाहरण दिईसकिएको छ ।
तेस्रो कुरा चाहिं यसमा कारोबार स्वैच्छिक हुन्छ । कुनै पनि चिज गर्नका लागि कसैलाई पनि बाध्य पार्न पाइदैन, पारिदैन । कुनै काम गर्दा मैले लाभ देख्छु भने मात्र म त्यो काम गर्छु, नत्र गर्दिन। तर त्यो लाभलाई फेरी आर्थिकमा मात्र जोडेर सिमित गर्नु चाहिं हुदैन । लाभ भन्नुको अर्थ नाफा हो, र नाफा भनेको पाप हो भनेको जस्तो चाहिं होइन । किनभने हाम्रा गतिबिधिहरु यति धेरै हुन्छन जसमा प्रत्यक्ष आर्थिक लाभ नहुदा पनि हामी गर्छौ ।
धेरै कामहरु स्वान्तः सुखायको लागि पनि गरिन्छ । नाम प्रतिष्ठाको लागि पनि गरिन्छ । त्यसकारणकले गर्दा खेरि मान्छेले आफु रमाउने चिजहरु चाही स्वतन्त्र ढंगले गर्न सक्छन, यसमा अनिवार्य हुदैन । यसरी पुँजीवादको प्रस्थान बिन्दुमा नै यो स्वैच्छिक भन्ने हुन्छ, यसमा कुनै पनि कुरा बाध्यकारी हुँदैन ।
तर कम्युनिष्टहरूको सामुहिकतावादी सोचमा व्यक्ति आफ्नो क्रियाकलाप गर्न स्वतन्त्र हुँदैन, त्यहाँ जे हुन्छ ति अनिवार्य गरिएको हुन्छ । किनभने त्यहाँ एउटा माथिल्लो निकाय हुन्छ उसले नागरिकका भूमिकाहरूका बारेमा जे निर्णय गर्छ त्यो स्वीकार गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन जान्छ । यसमा न छनौटको अधिकार हुन्छ, न आफ्नो व्यक्तिगत ईच्छा न कुनै व्यक्तिगत स्वतन्त्रताको कुनै गुञ्जायस नै ।
पुँजीवादी अर्थव्यवस्थामा उपभोक्तालाई विभिन्न अवसरहरू प्राप्त हुन्छन, ति अवसरहरू असिमित हुन्छन। उपभोक्तालाई छनौटको अवसरहरू हुन्छन । पुँजीवादी व्यवस्थामा एउटा आदर्श के हुन्छ भने तपाईले विभेद चाहिं गर्न हुँदैन । जस्तै जातिगत, भाषागत, लैंगिक कुनैपनि आधारमा विभेद गर्नु हुँदैन। तपाईले विभेद गर्न थाल्नुभयो भने यसको हानी तपाईलाई नै हुन्छ ।
जस्तो म मेरो धर्म मान्ने बाहेक अरुसँग कारोबार नै गर्दिन भन्यो भने बजार त मेरै सिमित हुने हो । घाटा त मलाई नै हुने हो नि ! हालसालैको ताजा उदाहरण दिने हो भने एलन मस्कलाई लिन सकिन्छ । अहिले उसलाई ठूलो घाटा भयो नि ! किनभने मस्क एउटा राजनैतिक विचारधारासँग गएर जोडिए, खासगरी एउटा व्यक्ति राष्ट्रपति ट्रम्पसँग गएर जोडिन पुगे । उ ट्रम्पसँग जोडिदा उसका उपभोक्ताहरूले उसको सामानलाई बहिस्कार गरिदिए ।
टेस्लाको बिक्री स्वात्तै घट्यो। इभी विक्रीमा टेस्ला संसारमा एक नम्बरमा थियो । अब अहिले बिवाइडीले जित्यो। ट्रम्पसँग त्यसरी जोडिनु उसको गलत निर्णय हुन गयो । यसमा ठ्याक्कै जोडन खोजेको कुरा के हो भने निर्णय गर्दाखेरी स्वतन्त्र व्यक्तिले लिने निर्णयहरूमा सफल भयो, उसका अनुमानहरू सही भए भने यसबाट हुने प्रतिफल आदिको भोक्ता उ आफै हुन्छ, अरु हुँदैन । उसका निर्णयहरू गलत भए, अनुमानहरू गलत भए भने त्यसको पनि भागिदार उ आफै हुन्छ, अरु हुँदैन।
तर समाजवादी (सामुहिकतावादी) समाजमा त्यस्तो हुँदैन, सरकारले एउटा निर्णय गर्छ, त्यो कार्यकम असफल भयो भने व्यहोर्ने चाहिँ को हुन्छ भन्दा सबै करदाताहरू हुन्छन । एलन मस्कले गल्ति गर्दा त उसले मात्र भोग्छ । उ फेल हुँदा उ आफै घाटामा जान्छ ।
समाज स्वचालित हुन्छ, त्यो सञ्चालन हुनका लागि जम्मा दुई ओटा कुरा मात्र भए हुन्छ । एउटा बजार मूल्य अर्को नाफा । बजार मूल्यले गर्दा कुन कुरा उत्पादन गर्ने, कुन कुरा उत्पादन नगर्ने भन्ने जानकारी उत्पादकले पाउँछ , मैले आजको दिनमा किताव प्रकाशित गर्ने कि नगर्ने भन्ने कुराको निर्णय यसको बजार मूल्यले दिन्छ । र, अर्को कुरा प्रेरणा (आर्थिक वा गैर आर्थिक लाभ) हो । यसलाई सामान्य बोलिचालीमा नाफा भनिन्छ ।
कम्युनिस्ट रसियाको एउटा ठट्यौली प्रसिद्ध छ । यो खुश्चेवभको पालामा बनाएको होला सायद । स्टालिनले त सबै गर्यो, पुरै देशलाई समाजवादी बनायो, अर्थतन्त्र, लेनिनको पालासम्म पुर्ण रुपले समाजवादी ढाँचामा गएको थिएन । शहरी भेग पुरै समाजवादी ढाँचामा गैसकेको थियो।, ग्रामीण भेगहरूमा सामन्ती प्रथा थियो । स्टालिनको पालामा आउँदा सबै समाजवादीकरण गरे भन्ने लाग्यो । नगरे पनि गरे भन्ने भैहाल्यो उनीहरूमा ।
अझ यसलाई अगाडि बढाउन पर्यो भन्ने लाग्यो उनीहरूलाई । त्यसपछि उनीहरूले समाजवादी अर्थ व्यवस्थालाई अझ व्यापक गर्न धेरै कामहरू गर्ने योजना बनाउन थाले ।
उनीहरूले क्रान्तिलाई निर्यात गर्ने योजना बनाए । वस्तुहरू उत्पादन गर्ने कुरामा आईडिया भईसक्यो भन्ने लाग्यो। उनीहरूलाई लाग्यो समाजवादी क्रान्ति सफल भयो, अब यो बाहिर पनि निर्यात गर्नुपर्छ भन्ने सोंच आयो ।
मानिसहरूले लगाउने कति ’सर्ट’ उत्पादन गर्ने ? यसको लागि कति टाँक (बटम) चाहिन्छ, भन्ने पनि उनीहरूले हिसाब गरे, नत्र यो आईडिया फेल हुन्छ भन्ने भयो। यसमा पनि उनीहरूले आफुलाई सफल भयौं भन्ने लाग्यो। अब समाजवादी अर्थव्यवस्थालाई संसारभरी फैलाउनुपर्छ, यसका लागि पुरै संसार हाम्रो नियन्त्रणमा हुनुपर्छ। अन्यथा यो सफल हुँदैन भन्ने निचोडमा पुगे। त्यसो भए सबै देशहरू कब्जा गर्ने कुरा गर्न थाले । बिचमा कसैले भन्यो, एउटा देशलाई चाहिं छोडनुपर्छ होला ।
सबैले सोधे, किन छोडने ?
‘मूल्य थाहा पाउनु परेन ? हामीले उत्पादन गरेको चिजको मूल्य कति हो भनेर कसरी थाहा पाउने ? त्यसको लागि चाहिं यौटा देश छोडिदिनुपर्छ ।’
यसबाट थाहा पाउन सकिन्छ, यो मूल्य भन्ने कुरा एकदमै महत्वपुर्ण कुरा हो। बजारमा प्रतिस्पर्धा चाहिन्छ भन्ने कुरा पनि यसले प्रष्ट गर्छ ।
यसरी समाजवादी अर्थ व्यवस्था आफैमा सफल हुन सक्ने व्यवस्था होइन । पुँजीवाद हो ।
(पुँजीवादी अर्थव्यवस्था, यसको इतिहास, पृष्ठभूमि र विकाससँगै यस सिद्धान्तले आर्थिक विकास र समृद्धिमा खेल्न सक्ने भूमिकाका सन्दर्भमा आर्थिक विषयका जानकार लेखक तथा विश्लेषक मुरहरि पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश ।)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।