फ्रिज चोरेर भाग्न खोज्दा गेटमै फसे, बिहान प्रहरीले गर्‍यो उद्धार

१६ कार्तिक, २०८३
सारांश
  • चोरी गरेर फरार हुने योजनामा रहेका एक व्यक्ति आफैं गेटमा अड्किएपछि रातभर अलपत्र परेका छन्।

विराटनगर : चोरी गरेर फरार हुने योजनामा रहेका एक व्यक्ति आफैं गेटमा अड्किएपछि रातभर अलपत्र परेका छन्। 

 

विराटनगरको फिलचोकस्थित एक घरबाट फ्रिज निकालेर भाग्ने क्रममा फलामे किलामा अड्किएका उनलाई प्रहरीले बिहान उद्धार गरेको हो।

 

प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति सुनसरीको दुहबीमा बसोबास गर्ने विकास झा हुन्। सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’को कार्यालय रहेको भवन रातिको समयमा खाली थियो। सोही मौका छोपेर झा भवनभित्र प्रवेश गरेका थिए।

 

भवनभित्रबाट फ्रिज एक्लै बोकेर बाहिर निस्किएका उनले गेट पार गर्ने क्रममा समस्या भोग्नुपर्‍यो। फ्रिजसहित गेटमाथिबाट निस्कन खोज्दा उनको लुगा माथि रहेको धारिलो फलामे किलामा अड्कियो। त्यसपछि उनी न तल झर्न सके, न गेट पार गरेर भाग्न नै।

 

रातभर गेटमै अड्किएर बसेका उनलाई बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कविद कटुवालका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

कटुवालले राति कुन समयमा उनी गेटमा अड्किएका थिए भन्ने यकिन हुन नसकेको बताए। बिहान स्थानीयको सूचनापछि प्रहरी पुगेर उनको उद्धार गरिएको उनले जानकारी दिए।

 

प्रहरीका अनुसार उद्धार गरिएका झा घाइते अवस्थामा थिए। उनी लागू पदार्थको नशामा समेत रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

 

हाल उनको कोशी अस्पतालमा उपचार भइरहेको छ। उपचारपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरी प्रमुख कटुवालले बताएका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार