विद्याकी देवी सरस्वती र विद्याको महत्त्व

२०८१ माघ २० गते आईतवार
सारांश
  • मनुष्यले अमर छु भने जस्तो गरी विद्याको र अर्थको (धनको) चिन्तन गर्नू अनि आफ्नो कपालमा मृत्युले आएर समातेको जस्तो मानेर धर्मको आचरण गर्नू।

अपूर्व: कोऽपि कोशोऽयं विद्यते तव भारति।
व्ययतो वृद्धिमायाति क्षयमायाति सञ्चयात् । 
अर्थ: हे भारती (सरस्वती) ! यहाँको खजाना कतै अन्त कतै नपाइने किसिमको छ किनभने यो खर्च गरे बढ्छ अनि जम्मा पारीराख्न खोज्दा घट्छ। 

बालबालिकाका लागि अक्षर अङ्क चिनाउन थाल्न (लिपिग्रहणारम्भ अथवा अक्षराराम्भ)का लागि विद्याकी देवी सरस्वतीको पूजा गरिने दिन भएकाले नै विशेष दिनका रूपमा श्रीपञ्चमीको दिन हाम्रो सनातनी समाजमा प्राचीन कालदेखि प्रचलित छ ।

 

हाम्रा माघे सक्राति जस्ता केही चाड छोडेर सबैजसो चाडपर्व चन्द्रमाका आधारमा अर्थात् चान्द्रमासको निश्चित तिथि पारेर मनाइञ्छन् । विशेष गरेर उत्तरायणमा पर्ने महिनाका शुक्लपक्ष (चन्द्रमाका कलामा वृद्धि हुँदै जाने पक्ष जसलाई आपूर्यमाणपक्ष पनि भनिञ्छ)  विविध मङ्गल कार्यका लागि शुभ हुञ्छन् भनेर शास्त्रमा उल्लिखित छ। हाम्रो वैदिक परम्परा अनुसारको पात्रोको गणनाका विषयमा “वैदिक परम्परामा नयाँ वर्षको प्रारम्भ : ह्लोसार माघी जस्ता नयाँ वर्षको वैदिकसिद्धान्तसितको सम्बन्ध” शीर्षकको लेखमा छोटकरीमा विवरण दिइएको थियो र यो माघ मैना भनिए पनि वास्तवमा वसन्त ऋतु कसरी भयो भन्ने कुरा पनि सो लेखबाट बुझ्न सकिञ्छ।  

 

विविध किसिमका विद्या वा कला कौशलको शिक्षा लिने दिने कार्यमा  लाग्नेहरुले देवी सरस्वतीको पूजा आराधनाद्वारा विद्याको साधनाको अभिवृद्धि होस् भनेर मनाउने यो श्रीपञ्चमी पर्व हाम्रो मूल वैदिक परम्परामा चान्द्रमान नै मुख्य भएकाले सो अनुसारको  वसन्त ऋतुको शुक्लपञ्चमी हुनाले वसन्तपञ्चमीका नामले पनि प्रसिद्ध छ। विद्याकी देवी सरस्वतीको पूजा आराधनाका अतिरिक्त वसन्त ऋतु रमाइलो ऋतु भएकाले रतिकामदेवको पूजा गरेर कामोत्सवका रूपमा मनाउने प्रचलन पनि छ।

 

 

सेतो रङ र सरस्वतीको सम्बन्ध 
विद्या बुद्धिको सम्बन्ध उज्यालो अनि सेतो रङसित छ । अत: देवी सरस्वतीको स्वरूप पनि सेतो पहिरन गरेकी अनि सेतै हंसमा चढेकी भनेर वर्णित छ। उज्यालो नभै सांसारिक वस्तु पनि देखिन्न त्यसरी नै ज्ञानको ज्योति नभैकन हामी दिउसै भएपनि अन्धकारमा रुमल्लिन बाध्य हुञ्छौँ। सेतो रङ वा प्रकाश ज्ञानको प्रतीक अनि अँध्यारो अज्ञानको प्रतीक भएकाले अँध्यारोबाट उज्यालोतिर लाग्न देवी सरस्वतीको वन्दना वा पूजा गरिञ्छ। तलको सरस्वती स्तोत्रात्मक श्लोकबाट पनि यो कुरा स्पष्ट हुञ्छ।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवै: सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती नि:शेषजाड्यापहा॥

अर्थ: जो कुन्दपुष्प, हिउँ, अनि मोतीको हार जस्ती उज्यालो वर्ण भएकी, सेता वस्त्र पहिरेकी, वीणा हातमा लिएकी, सेतो कमलको आसनमा बसेकी, ब्रह्मा विष्णु अनि शिवजी इत्यादि देवहरुले सदैव पूजा गरिएकी छन् ती सबै मूर्खताको नाश गर्ने सरस्वतीले मेरो रक्षा गरून् ।

 

सेता कुरा सरस्वतीका मन पर्ने कुरा हुन् । अत: आसन पनि सेतो कमलको अनि वाहन पनि सेतो हंस नै छ। सरस्वतीको पूजामा पनि सेता पुष्प तिनमध्येमा पनि पाएमा श्वेत कमल अनि श्वेतचन्दन नै चढाउनु उपयुक्त छ।  लगाउने लुगा, कोठाको रङ इत्यादिमा पनि सेतो रङको प्रयोग गर्नाले अनि  सेतो रङको बिम्बको ध्यान गर्नाले बुद्धि निर्मल बनाउँछ अनि पीर चिन्ता जस्ता नकारात्मक संवेगहरुबाट मुक्त बनाउन सहयोग गर्छ भन्ने मनोवैज्ञानिक पक्ष पनि छ।

 

सरस्वतीको अर्थ 
सर: (सरस्) को अर्थ तलाउ वा पोखरी हुञ्छ। कमल तलाउ वा पोखरीमा नै फुल्छ। स्वच्छ जल जीवनको लागि स्वच्छ वायुपछिको दोस्रो नभै नहुने आधार हो। सरस्वतीको शाब्दिक अर्थबाट ज्ञानको पोखरीले युक्त वा पोखरीमा बसेकी भन्ने लाग्छ। हाम्रो परम्परामा धेरै जसो तीर्थ जलाशय (नदी वा पोखरी) वा तिनका तटमा रहेका हुञ्छन् । वर्तमान समयमा सरस्वतीका मन्दिर धेरैजसो जलाशयसित सम्बद्ध नभै बनेका देखिए पनि जल र सरस्वतीको सम्बन्ध पद्मासन र हंसवाहन (दुवै पानीमा रहने)बाट पनि पानीसित रहेको छ भनेर बुझिञ्छ। राजहंसको विशिष्ट गुणका रूपमा दूध र पानी छुट्याउन सक्नु भनेर प्रसिद्ध छ।

 

प्रतीकात्मक रूपमा यो सत्य र असत्य छुट्याउनु हो जसलाइ दुधको दुध पानीको पानी भनेर भन्ने चलन अद्यापि छँदैछ। वास्तविक विद्या बुद्धि भनेका पनि सत्य असत्य छुट्याउन सक्ने क्षमता दिने भएकाले हंसको वाहनले पनि गुण र अवगुण छुटयाउन सक्ने क्षमताको प्रतिनिधित्व गरेको कुरा बुझ्न सकिञ्छ। देवी सरस्वतीका अनेकौँ नाम भए पनि प्रसिद्ध नामहरूमा भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी चन्द्रघण्टा इत्यादि हुन्। देवपत्तनमा पशुपतिनाथको नजीकै जय-वागेश्वरी (वागीश्वरी), नेपालगञ्जमा सतीदेवीको जिब्रो पतन भइ उत्पन्न भएको वागेश्वरी (वागीश्वरी ) मन्दिर अनि लाजिम्पाटको नीलसरस्वतीको मन्दिर विशेष प्रसिद्ध छन् । सनातन धर्मबाट नै अनुप्राणित भै हाम्रा समाजका अन्य विविध पन्थहरुमा मात्र होइन पुराकालमा यतैबाट गएको संस्कृतिअनुरूप चीन जापान इत्यादि देशमा पनि ज्ञानकी देवीका रूपमा सरस्वतीको पूजा गर्ने प्रचलन छ।

 

हितोपदेश अनि विद्याको महत्त्वसित सम्बद्ध सुभाषितहरू 
हितोपदेश र पञ्चतन्त्र रोचक कथाहरुका माध्यमले जीवनका विविध पक्ष समेटेर नीतिका कुरा सिकाउने ग्रन्थका रूपमा विश्वभर नै प्रसिद्ध छन्। संस्कृतभाषामा बनेका यी ग्रन्थको विश्वका विविध भाषामा अनुवाद भएको थियो र इ कथा फैलिएका थिए। तिनका कथाको मर्म बुझ्न सकेमा जीवन सुखी तथा शान्त बनाउन सहयोग पुग्छ अनि समस्या आइहालेमा समाधान गर्न पर्दा उचित निर्णय गरने क्षमताको पनि वृद्धि हुञ्छ । हितोपदेशको प्रारम्भमा विद्याको महत्त्वका विषयमा सारगर्भित सुभाषितहरू छन् । तिनै मध्येका केही सुभाषित अर्थसहित तल दिइएका छन् । बालबालिकादेखि नै सुभाषितहरू घोकाउनु र अर्थ बुझाउनु अत्यन्त लाभदायक हुञ्छ।

 

अजरामरवत् प्राज्ञो विद्यामर्थञ्च चिन्तयेत्।
गृहीत इव केशेषु मृत्यना धर्ममाचरेत् ॥ 
मनुष्यले अमर छु भने जस्तो गरी विद्याको र अर्थको (धनको) चिन्तन गर्नू अनि आफ्नो कपालमा मृत्युले आएर समातेको जस्तो मानेर धर्मको आचरण गर्नू।

 

सर्व-द्रव्येषु विद्यैव द्रव्यमाहुरनुत्तमम् ।
अहार्यत्वादनर्घत्वादक्षयत्वाच्च सर्वदा॥ 
सबै खालका धनमध्ये विद्या नै कसैले चोर्न नसक्ने अमूल्य र घट्दै नजाने भएकाले सर्वोत्तम छ ।

 

विद्या ददाति विनयं विनयाद् याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्मं तत: सुखम् ॥
विद्याले विशिष्ट नीति (सौजन्य नम्रता इत्यादि व्यवहारमा  दक्षता) सिकाउँछ अनि व्यक्ति पात्र बन्दछ, पात्रताले गर्दा धन प्राप्त हुञ्छ, अनि धनले धर्ममा सहयोग गर्छ जुन सुख प्राप्त गर्न सहायक हुञ्छ। 

अनेक-संशयोच्छेदि परोक्षार्थस्य दर्शकम् ।
सर्वस्य लोचनं शास्त्रं यस्य नास्त्यन्ध एव स: ॥

मनमा भएका शङ्का उपशङ्काको नाश गर्न सक्ने अनि यो आँखाले देख्न नसकिने (सूक्ष्म तथा परलोकादिका कुरा पनि) देखाउने आँखा शास्त्र हुन्, अत: शास्त्रका कुराको ज्ञान नभएको व्यक्ति दृष्टिविहीन नै हो। 


रूप-यौवन-सम्पन्ना विशाल-कुल-सम्भवाः।
विद्या-हीना न शोभन्ते निर्गन्धा इव किंशुका: ॥ 
देख्ता सुन्दर, यौवन भएका, मानिएका कुलमा जन्मेका भए पनि कुनै पनि विद्या नभएका मानिस कुनै सुगन्ध नभएकाले पलाशका पुष्प जस्तै शोभा नभएका बन्दछन् ।

 

असत्यको प्रसार र विद्याका निम्ति परिश्रमको आवश्यकता 
यद्यपि अहिलेको समय विज्ञानको युग वा वैज्ञानिक प्रगति द्रुत गतिमा भएको युग भनेर प्रचारित छ। भौतिक विज्ञानले धेरै नै प्रगति गरेको देखिए पनि धेरै विषयमा वास्तविकता के हो भनेर खोज्दा व्यापारीकरणले र विविध किसिमले भौतिक स्वार्थले थिचिएकाहरुको नियन्त्रणमा प्रविधि, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता सबैका लागि महत्त्वपूर्ण कुरा परेको  अवस्था छ। धर्म जस्तो पवित्र कुरामा पनि क्षणिक लोभ लालचमा परेर दम्भपूर्ण कार्य गर्नेहरु बढ्दै जाँदा साधारण व्यक्तिका लागि कुन कुरो सत्य हो कुन कुरो असत्य हो भनेर खुट्याउन कठिन बनाइएको छ। वास्तवमा यो समयलाई प्रविधिको दुरुपयोगको युग भनेर भन्न सकिञ्छ जस्ले गर्दा सत्य तथ्य बुझ्न साधारण जनसमुदायले कठिन भएको अनुभव गर्दछन् । 

 

शिक्षाका नाममा व्यापारीकरणले गाँजेको मात्र नभै बाह्यप्रभाव वा निर्देशनमा बालबालिकादेखि नै आफ्नो समाज, परम्परा, मौलिकताबाट वञ्चित पारेर आफ्नो भाषा बोल्न समेत प्रतिबन्ध लाउने, विद्यालयहरुको प्रयोग गर्दै मानसिक सामाजिक तथा शारीरिक रूपमा समेत स्वास्थ्यमा आघात पु-याउने कुराहरू नै राम्रो जस्तो भ्रम पार्न व्यापक रूपमा कार्य भैहरहेकाले कुन कुरा सर्वाङ्गीण रूपमा हितकर हो भनेर बुझ्न, बालबालिकाको स्वास्थ्यको रक्षा गरी मानसिक रूपमा बलीयो बनाउनका निम्ति वैज्ञानिक सत्य तथ्य खोज्न बुझ्न अनि आफ्ना मौलिक ज्ञान सिक्न स्वयं लाग्नु र बालबालिकालाइ पनि ती कुरा सिकाउँदै हानिकारक कुराबाट जोगाउन अभिभावकहरुले धेरै परिश्रम गर्नुपर्ने आवश्यकता छ। आयातित कुरा जति राम्रा हुन् भने जस्तो पार्नमा समय, शक्ति, धनको चरम दुरुपयोग निरन्तर गराइएको कुरामा हाम्रो ध्यान गएमा यो कुरो आफ्नो कला कौशल अनि विविध किसिमका परम्परागत विद्याको सुरक्षा गरेर नयाँ पुस्तामा सार्नका लागि प्रेरणा बन्न सक्छ।

 

असत्यबाट जोगिनका लागि हितोपदेशको मार्मिक कथा 
एक जना ब्राह्मणले यज्ञका लागि कतैबाट किनेर बोका बोकेरै लाँदै गरेका रहेछन् । ३ जना ठगले ती ब्राह्मणलाइ देखेछन् । अनि तिनको लोभ जागेछ। कुन उपाय गरेमा त्यो बोको उछिट्याउन सकिएला भनेर विचार गरेछन्। ती ३ जना ठगहरू तिनै ब्राह्मण जान लागेको बाटामा ३ ठाउँमा बाटो ढुकेर बटुवाजस्तै बनेर बसेछन् अनि पालैपालो भेट्यो कि यो तपाइँले लिएर आउनुभएको त कुकुर हो, ब्राह्मणले छुनै नहुने कुकुर काँधमा बोक्नुभएछ भनी भनी हो न हो ३ जनाले भनिसके म नै नराम्ररी झुक्किएछु भन्ने पारेर नराम्रोसित छक्याएर त्यो बोको बाटैमा छोडेर हिँड्न बाध्य पारेछन् र त्यो बोको हात पारेर खानमा सफल भएछन् । यो कथा बाट चारैतिरबाट भनाइएका असत्य नै कसरी सत्य जस्ता लाग्न सक्छन् र हामीलाइ विविध किसिमले हानि गर्न सक्छन् भनेर बुझी विचारपूर्वक निर्णय गर्नुपर्छ हाहामा लाग्नाले क्षति हुनसक्छ भन्ने महत्त्वपूर्ण शिक्षा पाइञ्छ।

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥ 

 

लेखकका थप लेखहरू: 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु