ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्
११ मार्ग, २०८३
- बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ ।
बागलुङ: बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन उपत्यकासम्म राष्ट्रिय ग्रिडको विद्युत् पुर्याएको हो ।
कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौंदीअमराई हुँदै बागलुङको बुर्तिवाङसम्म निर्माण गरिएको १३२ केभी प्रसारण लाइन र बुर्तिवाङमा रहेको १३२ केभी सबस्टेसनमार्फत ढोरपाटन क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको हो ।
बुर्तिवाङ सबस्टेसनबाट ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी बुर्तिवाङ फिडर बिहीबारदेखि सञ्चालनमा आएको छ । फिडर सञ्चालनमा आएसँगै बोवाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा वितरण ट्रान्सफर्मर चार्ज भएका छन् । यससँगै त्यस क्षेत्रका बासिन्दाले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।
यसअघि स्थानीय बासिन्दाले लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गर्दै आएका थिए। राष्ट्रिय ग्रिडको विद्युत् पुगेपछि ढोरपाटन उपत्यका र आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान हुनुका साथै विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि स्थानीय बासिन्दा, पर्यटन व्यवसाय तथा समग्र क्षेत्रको सामाजिक–आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने प्राधिकरणले विश्वास लिएको छ ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिवाङ नो लाइटमार्फत आवेदन दिएर सेवा लिन सक्ने बताएका छन् ।
बागलुङमा अब निसीखोला गाउँपालिका–५ स्थित निसिलढोरमा मात्र राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुग्न बाँकी रहेको छ। चालु आर्थिक वर्षभित्रै उक्त क्षेत्रमा विद्युतीकरण गर्न आवश्यक बजेटको व्यवस्था भइसकेको मरासेनीले बताएका छन् ।
उनका अनुसार अब ठेक्का प्रक्रिया अघि बढाएर विद्युतीकरणको काम सुरु गरिनेछ। निसिलढोरमा समेत राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् विस्तार भएपछि बागलुङ जिल्लाका सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको पहुँच पुग्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।