सार्वजनिक खरिदमा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक तोकियो, सामाजिक सुरक्षा र बीमा अनिवार्य

२२ कार्तिक, २०८३
सारांश
  • सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ ।


काठमाडौँ : सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ ।

 

सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गर्दै श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक १ हजार ७४० रुपैयाँ कायम गरेको हो ।

 

पूर्वाधार विकास मन्त्रालयका अनुसार सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नु, स्वदेशी उद्योग तथा उत्पादनको संरक्षण गर्नु र व्यवसायीको हित स्थापित गर्नु कार्यविधिको मुख्य उद्देश्य रहेको छ ।

 

कार्यविधिअनुसार सार्वजनिक खरिदअन्तर्गतका तथा त्यससँग सम्बद्ध सबै श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य गरिएको छ। सामाजिक सुरक्षा कोषमा रोजगारदाता र सरकार वा सार्वजनिक निकायले समान १०–१० प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारी योगदानबापतको रकम लागत अनुमान तथा दररेट विश्लेषणमै समावेश गर्नुपर्नेछ ।

 

श्रमिकको न्यूनतम आधारभूत दैनिक पारिश्रमिक १ हजार ४५० रुपैयाँ तोकिएको छ । यसमा रोजगारदाताको १० प्रतिशत र सरकारको १० प्रतिशत योगदान जोड्दा श्रमिकले पाउने न्यूनतम दैनिक रकम १ हजार ७४० रुपैयाँ पुग्नेछ । उक्त रकम श्रमिककै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

कामको प्रकृति र श्रमिकको सीपअनुसार पनि न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । तोकिएका सर्त उल्लङ्घन गर्ने व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने, सूचीकरण खारेज गर्ने, धरौटी जफत गर्ने तथा इजाजतपत्र खारेज गर्नेसम्मको व्यवस्था कार्यविधिमा गरिएको छ ।

 

त्यस्तै, परामर्श सेवा खरिदमा १५ प्रतिशत उपरि खर्चको व्यवस्था गरिनेछ। सार्वजनिक निकायले बेहोर्नुपर्ने सामाजिक सुरक्षा योगदानबापतको १० प्रतिशत रकम पनि लागत अनुमानमै समावेश गर्नुपर्नेछ ।

 

सम्बद्ध उद्योग, व्यवसाय तथा मालसामान आपूर्तिकर्ताअन्तर्गत कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक ३२ हजार ६०७ रुपैयाँ कायम गरिएको छ । रोजगारदाताले उक्त रकमका अतिरिक्त सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ। साथै, प्रचलित कानुनअनुसार चाडपर्व खर्च, बिदा तथा अन्य भत्तासमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

 

यी व्यवस्था पालना नगर्ने उद्योग, व्यवसाय तथा मालसामान आपूर्तिकर्तालाई सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन निषेध गरिनेछ । निषेध गरिएको कम्पनी वा फर्मबाट अन्य सार्वजनिक खरिदमा आबद्ध व्यवसायीले पुनः खरिद गरेको पाइएमा त्यस्ता व्यवसायीलाई समेत कालोसूचीमा राख्न सकिने व्यवस्था गरिएको छ ।

 

कार्यविधिमा उल्लेखित व्यवस्था जारी भएपछि हुने ठेक्कामा अनिवार्य रूपमा लागू हुनेछ ।

 

सरकारले यसअघि सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ जारी गरेको थियो । नयाँ कार्यविधिलाई सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको पारिश्रमिक, सामाजिक सुरक्षा र कल्याण सुनिश्चित गर्ने अर्को कदमका रूपमा प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार