१६ करोडभन्दा बढी लकइन सेयर खुल्दै, दोस्रो बजारमा आपूर्ति बढ्ने चिन्ता
२५ श्रावण, २०८३, सोमवार
- यीमध्ये केही कम्पनीमा हाल बजारमा कारोबार भइरहेको सेयरको तुलनामा लकइनमा रहेको सेयरको मात्रा निकै ठूलो छ।
काठमाडौं : धितोपत्रको दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक, कर्मचारी तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लगायतका लागि छुट्याइएको सेयरको लकइन अवधि समाप्त हुने क्रम सुरु भएको छ। आगामी भदौ मसान्तसम्म १२ कम्पनीका ठूलो परिमाणका सेयर लकइनबाट बाहिरिने भएपछि दोस्रो बजारमा सेयरको आपूर्ति बढ्न सक्ने विषयमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ।
साउन र भदौ अवधिमा संस्थापक, प्रमोटर, कर्मचारी, म्युचुअल फन्ड तथा अन्य समूहका गरी १२ कम्पनीका कुल १६ करोड ५ लाख ४४ हजार १३८ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ। लकइन अवधि सकिएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार ती सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। यससँगै बजारमा कारोबारयोग्य सेयरको संख्या थपिन सक्नेछ।
नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले लकइन अवधि समाप्त हुने विषयलाई बजारले सकारात्मक वा नकारात्मक रूपमा कसरी लिन्छ भन्ने आधारमा बजारको उतारचढाव प्रभावित हुन सक्ने बताए। उनका अनुसार यो अवस्था लगानीकर्ताका लागि अवसर र चुनौती दुवै हो।
लकइन अवधि समाप्त हुन लागेका कम्पनीमा भुजुङ हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, अपर लोहोरे खोला हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, भागवती हाइड्रोपावर डेभलपमेन्ट, माण्डु हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
यीमध्ये केही कम्पनीमा हाल बजारमा कारोबार भइरहेको सेयरको तुलनामा लकइनमा रहेको सेयरको मात्रा निकै ठूलो छ। उदाहरणका रूपमा, भुजुङ हाइड्रोपावरमा हाल ९ लाख ३० हजार कित्ता सेयर मात्र कारोबारयोग्य रहेको अवस्थामा ८० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर र १० लाख ७० हजार कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयर लकइनमा रहेको छ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्समा १० लाख ९८ हजार २०० कित्ता कारोबारयोग्य सेयरको तुलनामा १ करोड ७० लाख ७३ हजार ४०० कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ।
विशेषगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ठूलो परिमाणको संस्थापक सेयर लकइनबाट बाहिरिने भएको छ। कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ। यसबाहेक ७ लाख ७१ हजार ५२० कित्ता म्युचुअल फन्ड तथा अन्य समूहको सेयर पनि लकइनमा रहेकाले कुल ३ करोड ७१ लाख ४९ हजार १२० कित्ता सेयरको लकइन अवधि समाप्त हुँदैछ।
त्यसैगरी, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ३ करोड कित्ता, रिलायन्स स्पिनिङ मिल्सको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता, होटल फरेस्ट इनको १ करोड ६० लाख कित्ता, सुपर खुदी हाइड्रोपावरको १ करोड २४ लाख कित्ता र माण्डु हाइड्रोपावरको १ करोड २० लाख कित्ता संस्थापक तथा प्रमोटर सेयर लकइनमा रहेको छ।
ठूलो परिमाणको सेयर लकइनबाट बाहिरिने भएपछि बजारमा बिक्री चाप बढ्न सक्ने आशंका लगानीकर्तामा देखिएको छ। विशेषगरी संस्थापक तथा ठूला सेयरधनीले लकइन अवधि समाप्त भएलगत्तै सेयर बिक्री गरेमा सम्बन्धित कम्पनीको बजारमा आपूर्ति बढ्न सक्छ। यसले सेयर मूल्यमा समेत दबाब सिर्जना हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, लकइन अवधि समाप्त हुनुको अर्थ सबै सेयर तत्काल बिक्रीमा आउने भन्ने होइन। लकइन खुलेपछि सेयर बिक्री गर्ने वा होल्ड गर्ने निर्णय सम्बन्धित सेयरधनीकै हातमा हुन्छ। त्यसैले वास्तविक बिक्री चाप कति हुन्छ भन्ने कुरा बजारको माग, सम्बन्धित कम्पनीको वित्तीय अवस्था तथा सेयरधनीको लगानी रणनीतिमा निर्भर रहनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।