बलिवुड फिल्म डन- ३ विवाद: अभिनेता रणवीर सिंहविरुद्ध असहयोग निर्देशन जारी

२०८३ जेठ १२ मङ्गलवार
सारांश
  • बलिउड अभिनेता रणवीर सिंहमाथि फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले असहयोग निर्देशन (एक किसिमको प्रतिबन्ध) जारी गरेको छ ।

काठमाण्डौ, १२ जेठ । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले असहयोग निर्देशन (एक किसिमको प्रतिबन्ध) जारी गरेको छ । अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीपछि यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

फेडेरेसनले रणवीर सिंहसँग काम नगर्न सदस्यहरूलाई निर्देशन दिएको हो । यो निर्णय चलचित्र डन–३ विवादसँग जोडिएको बताइएको छ । फरहान अख्तरले रणवीर सिंहले चलचित्रको पूर्वतयारी सुरु भइसकेपछि अचानक डन–३ बाट बाहिरिने निर्णय गरेको आरोप लगाएका छन् । उनका अनुसार यसका कारण निर्माण टोलीलाई करिब ४५ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

 

फेडेरेसनका अध्यक्ष वीएन तिवारीले रणवीरसँग तीन पटक सम्पर्क गर्ने प्रयास गरिएको तर कुनै जवाफ नआएको बताएका छन् । त्यसपछि रणवीरविरुद्ध असहयोग निर्देशन जारी गरिएको उनले बताए । फेडेरेसनका अनुसार रणवीरलाई २२ अप्रिल, ३० अप्रिल र १३ मे २०२६ मा पत्र पठाइएको थियो । त्यसको जवाफमा रणवीर पक्षले उजुरी समाधानका लागि फेडेरेसन उचित मञ्च नभएको र यो विषय सम्झौतासँग सम्बन्धित भएकाले कानुनी निकाय वा अदालतमा जानुपर्ने बताएको थियो ।

 

फरहान अख्तरले सन् २०२३ मा रणवीर सिंहलाई लिएर डन–३ निर्माणको घोषणा गरेका थिए । यसअघि सन् २००६ मा शाहरुख खान अभिनित डन र सन् २०११ मा आएको डन–२ प्रदर्शन भएका थिए । चलचित्र घोषणा हुँदा कियारा आडवाणीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको थियो । तर गर्भावस्था र सुत्केरी बिदाका कारण उनले चलचित्र छोडेपछि कृति सेननलाई ल्याउने चर्चा चलेको थियो ।

 

फरहान अख्तरले आफ्नो निर्माण संस्था एक्सेल इन्टरटेनमेन्टमार्फत चलचित्र निर्माण गरिरहेका थिए । उनले डन–३ अगाडि बढाउन आफ्नो अर्को चलचित्र ‘जी ले जरा’ समेत स्थगित गरेका थिए । चलचित्र ढिलो हुँदै जाँदा रणवीर सिंह ‘धुरन्धर’ चलचित्रमा व्यस्त बनेका थिए । सन् २०२५ मा ‘डन–३’ को छायांकन सुरु हुने चर्चा भए पनि त्यसपछि रणवीरले अचानक चलचित्र छोडेको खबर आएको थियो । निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको आरोप लगाएको छ । उनी अश्लील संवाद र हिंसात्मक दृश्य थप्न दबाब दिइरहेका थिए तर निर्माण टोली त्यसमा सहमत नभएको जनाइएको छ ।

 

भारतीय सञ्चारमाध्यम मिड डेका अनुसार रणवीरले चलचित्र छोडेर हस्ताक्षर रकम फिर्ता गर्ने तयारी गरेका छन् । तर निर्माण पक्षले पूर्वतयारी, छायांकन तालिका परिवर्तन र पटकथा पुनःलेखनमा ठूलो रकम खर्च गरिसकेको थियो । त्यसपछि फरहान अख्तरले प्रोड्युसर्स गिल्डमा उजुरी गर्दै ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । उनले पूर्वतयारी र छायांकन तालिकामा गरिएको परिवर्तनका कारण ठूलो आर्थिक क्षति भएको बताएका छन् ।

 

यस विवादमा अभिनेता आमिर खानले पनि मेलमिलाप गराउने प्रयास गरेका थिए । प्रोड्युसर्स गिल्डले दुवै पक्षलाई सहमतिका लागि समय दिएको भए पनि समाधान निस्कन सकेन । रणवीर सिंहका प्रवक्ताले भने अभिनेता रणवीर सिंहले चलचित्र उद्योग र ‘डन’ शृंखलासँग जोडिएका सबै व्यक्तिप्रति सम्मान राख्ने बताएका छन् । उनले ‘डन–३’ विवादबारे रणवीरले सोचेर मौन बस्ने निर्णय गरेको र काम तथा सम्बन्धलाई सधैँ सम्मान र समझदारीका साथ अघि बढाउनुपर्ने विश्वास राख्ने बताएका छन् ।

 

फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज भारतीय चलचित्र उद्योगका कामदार र कलाकारको अधिकार संरक्षण गर्ने सबैभन्दा ठूलो संस्था मानिन्छ । यसको स्थापना सन् १९५६ मा भएको थियो भने सन् १९५८ मा दर्ता गरिएको थियो । यसअन्तर्गत ३४ वटा विभिन्न सङ्घ आबद्ध छन् । अभिनेता, निर्देशक, निर्माता, प्राविधिक, क्यामेराकर्मी, कनिष्ठ कलाकार र स्पटब्वायसहित करिब ४ देखि ५ लाख सदस्य यसमा आबद्ध रहेको बताइएको छ । भारतीय चलचित्र उद्योगमा काम गर्ने झन्डै ९० प्रतिशत व्यक्ति यही फेडेरेसनसँग आबद्ध सङ्घका सदस्य छन् ।

 

फेडेरेसनले कुनै परियोजनामा काम नगर्न निर्देशन दिए छायांकन नै रोकिन सक्ने अवस्था हुन्छ । यसअघि निर्माता फिरोज नाडियाडवालाले प्राविधिक टोलीलाई रकम नदिएको विवादमा पनि फेडेरेसनले काम रोक्ने निर्देशन दिएको थियो । त्यसपछि बक्यौता रकम तिर्न बाध्य बनाइएको थियो ।

 

रणवीरमाथिको असहयोग निर्देशनले उनका आगामी चलचित्रमा असर पर्ने देखिएको छ । उनका आगामी परियोजनामा ‘किङ’मा विशेष भूमिका, निर्देशक आदित्य धरको नयाँ चलचित्र, कियारा आडवाणीसँगको अर्को चलचित्र र सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ रहेका छन् ।

 

यी चलचित्रमा काम गर्ने अधिकांश प्राविधिक र कनिष्ठ कलाकार फेडेरेसनसँग आबद्ध भएकाले छायांकन प्रभावित हुन सक्ने बताइएको छ । निर्माताहरूले रणवीरसँग नयाँ चलचित्र सुरु गर्नुअघि फेडेरेसनबाट ‘नो अब्जेक्सन’ प्रमाणपत्र लिनुपर्ने अवस्था आउन सक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार