- मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ ।
काठमाण्डौ, २६ अषाढ़ । मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ ।
मुम्बईमा ह्वाट्सएपको तेस्रो बिजनेस समिटका क्रममा सार्वजनिक गरिएको यो प्रणालीले ग्राहकका प्रश्नको उत्तर दिनेदेखि उत्पादन सिफारिस गर्ने, भेटघाटको समय तय गर्ने र बिक्री बढाउन सहयोग गर्ने काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
मेटाका अनुसार यो एआई सहायक व्यवसाय र ग्राहकबीचको संवादलाई छिटो, सहज र व्यक्तिगत बनाउन तयार गरिएको हो । आवश्यक परेमा यसले भइरहेको संवादलाई मानव सहयोगी वा ग्राहक सेवा प्रतिनिधिसमक्ष पनि हस्तान्तरण गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।
यो बिजनेस एजेन्टले ग्राहकका जिज्ञासाको उत्तर दिने, व्यवसायको सूचीबाट उपयुक्त उत्पादन सिफारिस गर्ने, भेटघाटको समय मिलाउने, सम्भावित नयाँ ग्राहक पहिचान गर्ने तथा बिक्री प्रक्रिया पूरा गर्न सहयोग गर्नेछ । साथै, कुन अवस्थामा एआईले संवादलाई कम्पनीका कर्मचारीलाई हस्तान्तरण गर्ने भन्ने निर्णय व्यवसायीले आफैं गर्न सक्नेछन् ।
मेटाले यो प्रणाली ग्राहक सेवामा मात्र सीमित नरहेको जनाएको छ । यसले छुटेका च्याटहरूको सारांश तयार गर्ने, ग्राहकसँग भएका संवादबाट आवश्यक जानकारी संकलन गर्ने तथा व्यवसायलाई निर्णय लिन र दैनिक कामलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने क्षमता पनि राख्छ ।
यससँगै मेटाले ठूला कम्पनीका लागि मेटा बिजनेस एजेन्ट प्लेटफर्म पनि सार्वजनिक गरेको छ । यस प्लेटफर्ममार्फत कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार एआई एजेन्ट निर्माण र अनुकूलन गर्न सक्नेछन्। यो प्रणाली शपिफाइ, जेन्डेस्क र शोपी जस्ता व्यवसायिक प्रणालीसँग पनि जोडिएर काम गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाल मेटाले इच्छुक व्यवसायीका लागि प्रतीक्षा सूची खुला गरेको छ । स्विगी, मधुलिका इन्टरप्राइजेज र काइजेन एडभेन्चर्स यो प्रणाली प्रयोग गर्ने प्रारम्भिक कम्पनीमध्ये रहेका छन् ।
मेटाले ह्वाट्सएप प्रयोगकर्ताका लागि पनि नयाँ सुविधा ल्याउने घोषणा गरेको छ। अब चाँडै प्रयोगकर्ताले ह्वाट्सएपको खोजी खण्डबाटै कुनै व्यवसायको नाम सिधै खोज्न सक्नेछन्। साथै, व्यवसायिक सम्पर्क साथीभाइ र परिवारसँग साझा गर्न सकिने सुविधा पनि थपिने भएकाले मनपर्ने व्यवसायसम्म पुग्न अझ सहज हुने कम्पनीको विश्वास छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।