अन्तिम खेल पछि मेसीले भने- अर्जेन्टिनाका लागि खेल्नु जीवनकै सबैभन्दा ठूलो गौरव हो
२१ असोज, २०८३
- लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन् ।
काठमाडौं : लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन् ।
अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । खेलपछि मेसीले अर्जेन्टिनाका लागि खेल्न पाएकोमा आफूलाई गर्व र कृतज्ञता रहेको बताएका छन् ।
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा निकोलस ओटामेन्डीले ४८औँ मिनेटमा, निको पासले ६१औँ मिनेटमा र मेसीले ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । मेसीको गोलसँगै अर्जेन्टिनाले ३–० को जित सुनिश्चित गरेको थियो । यो गोलसँगै मेसीको करियर गोल संख्या ९३२ पुगेको छ । उनले अर्जेन्टिनाका लागि २०८ खेलमा १२६ गोल गरेका छन् भने ६७ खेलमा असिस्ट गरेका छन् ।
खेलपछि मेसीले आफ्नो राष्ट्रिय टोलीको यात्रालाई सम्झिँदै भने, 'अर्जेन्टिनी भएर जन्मिन पाएकोमा म भगवानप्रति कृतज्ञ छु ।' उनले अर्जेन्टिनाको घरेलु मैदानमा खेल्न अब निकै सम्झना आउने बताए । 'म यहाँ खेल्न धेरै सम्झनेछु । म तपाईंहरू सबैलाई माया गर्छु र अर्जेन्टिनी भएकोमा गर्व गर्छु,' मेसीले भने ।
राष्ट्रिय टोलीसँगको यात्राबाट सन्तुष्ट रहेको उल्लेख गर्दै उनले भने, 'म कृतज्ञ, गर्विलो र शान्त मन लिएर जाँदैछु। सबै कुराका लागि धन्यवाद ।'
मेसीले अर्जेन्टिनाका समर्थक र नयाँ पुस्ताका खेलाडीलाई आफूले सधैँ समर्थन गर्ने बताएका छन् । 'म तपाईंहरू सबैलाई धेरै सम्झनेछु, तर म सधैँ तपाईंहरूको साथमा रहनेछु । यी खेलाडीहरू र उनीहरूपछि आउने सबैलाई म समर्थन गरिरहनेछु,' उनले भने ।
अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिँदा आफू र टोलीका खेलाडीहरूमा रहेको आत्मविश्वास सम्झिँदै मेसीले भने, 'हरेक पटक मैदानमा उत्रिँदा हामी जोसुकै टोलीसँग पनि प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने मलाई थाहा हुन्थ्यो ।'
उनले टोलीका साथीहरूलाई ‘योद्धा’को संज्ञा दिँदै भने, 'मैले आफ्ना छेउमा त्यस्ता योद्धाहरू महसुस गर्थें, जो मैदानमा आफ्नो सबैथोक दिन तयार हुन्थे ।'
मेसीले अर्जेन्टिनासँग जितेका उपाधिहरूलाई पनि सम्झिए । 'हामीले विश्वकप, दुई कोपा अमेरिका र फिनालिसिमा जित्यौँ। यी सबैका लागि म अत्यन्तै कृतज्ञ छु,' उनले भने ।
उनका अनुसार अर्जेन्टिनाको सफलता सन् २०२२ को विश्वकप वा पछिल्लो विश्वकपबाट मात्रै बनेको होइन । 'यो यात्रा केवल २०२२ वा पछिल्लो विश्वकपको बारेमा थिएन । हामी विश्व च्याम्पियन बन्नुअघि नै धेरै साथीहरूले यो जर्सीका लागि मसँगै संघर्ष गरेका थिए । अर्जेन्टिनाका लागि उनीहरूले कति लडे र कति योगदान दिए भन्नेमा कहिल्यै शंका नगर्नुहोस्,' मेसीले भने ।
विश्वकपको फाइनलसम्म पुग्ने यात्राका कठिन क्षण पनि उनले सम्झिए । इंग्ल्यान्डविरुद्धको खेलले टोलीलाई निकै थकित बनाएको उल्लेख गर्दै मेसीले भने, 'त्यो खेलले हामीबाट धेरै कुरा लगेको थियो, किनकि हामीले आफ्नो सबैथोक दिएका थियौँ ।'
पछिल्लो विश्वकपको फाइनलमा आफूहरू निकै कठिन अवस्थामा पुगेको बताउँदै उनले भने, 'हामीसँग फाइनल खेल्नका लागि आवश्यक जति ऊर्जा मात्रै बाँकी थियो, तर हामीले अन्तिमसम्म लड्यौँ, जसरी सधैँ लड्दै आएका थियौँ ।'
विश्वकप फेरि जित्ने अवसर नजिक पुगेको स्मरण गर्दै मेसीले आलोचनाको पनि उल्लेख गरे । 'हामी फेरि जित्ने निकै नजिक पुगेका थियौँ । हाम्रो बारेमा जे–जे भनिए पनि केही पनि असामान्य भएको थिएन,' उनले भने ।
मेसीले अर्जेन्टिनाका लागि खेल्ने आफ्नो चाहना जीवनभर रहने भए पनि अब राष्ट्रिय टोलीबाट बिदा हुने समय आएको बताए । 'म अर्जेन्टिनासँग सधैँ, जीवनको अन्तिमसम्म यहाँ रहन चाहन्थेँ। तर अब सन्यास लिने समय आएको छ,' उनले भने । उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले दुई दशकसम्म निरन्तर संघर्ष गरेको पनि बताए । 'मैले यो जर्सीका लागि कहिल्यै हार मानेनँ। सधैँ लडेँ, प्रयास गरेँ र आफ्नो उत्कृष्ट दिएँ,' मेसीले भने । '२० वर्षसम्म मैले अर्जेन्टिनाका लागि आफ्नो उत्कृष्ट दिएँ । अब यो जर्सीलाई धन्यवाद दिनुबाहेक मसँग केही बाँकी छैन । मैले अर्जेन्टिनाका लागि आफ्नो सबैथोक दिएको छु ।'
अन्तिम खेलपछिको भावनाबारे मेसीले भने, 'आज रातिका भावनाहरू अविश्वसनीय छन्। सबैलाई धन्यवाद ।' उनले अन्तिममा आफूले सम्झिएका पहिलो व्यक्ति आफ्ना बुबा भएको बताए । 'अहिले मैले सोचिरहेको पहिलो व्यक्ति मेरा बुबा हुनुहुन्छ,' मेसीले भने ।
मेसीले अर्जेन्टिनालाई एक विश्वकप र दुई कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिका जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए। बेनिनविरुद्धको खेलसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसीको दुई दशक लामो अन्तर्राष्ट्रिय यात्रा भावुक रूपमा टुंगिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थानले खस्कियो ।
-
कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
-
इजरायल पठाउने भन्दै साढे २ करोडभन्दा बढी ठगी, पीडितलाई जाहेरी दिन सीआईबीको आग्रह
-
कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।