पोर्चुगलको विश्वकपमा निराशाजनक शुरुवात, डिआर कङ्गोले बराबरीमा रोक्यो
२०८३ अषाढ़ ०४ विहीवार
- पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ ।
काठमाण्डौ, ०४ अषाढ़ । पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग निराशाजनक बराबरी खेलेको छ । प्रभावशाली प्रदर्शन गरेको डिआर कङ्गोले बलियो पोर्चुगललाई रोक्दै महत्वपूर्ण एक अंक बटुल्न सफल भएको हो ।
खेलको छैटौँ मिनेटमै मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । पेड्रो नेटोको बायाँ विङबाट आएको क्रसलाई उनले जाली चुमाएका थिए ।
त्यसपछि पोर्चुगलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकेन । लगातार बल नियन्त्रणमा राखे पनि गोल गर्ने अवसर सिर्जना गर्न टोली असफल रह्यो ।
पोर्चुगलको यही कमजोरीको फाइदा डिआर कङ्गोले पहिलो हाफको अतिरिक्त समयको पाँचौँ मिनेटमा उठायो । आर्थर मासुआकुको क्रसमा न्युक्यासलका फरवार्ड योआने विस्साले कुनै मार्किङबिना छ यार्डबाट हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । यो डिआर कङ्गोको विश्वकप इतिहासकै पहिलो गोल पनि बन्यो ।
यसअघि सन् १९७४ मा तत्कालीन जायरेका रूपमा विश्वकप खेलेको डिआर कङ्गोले तीनवटै खेल हार्दै १४–० को समग्र नतिजा बेहोरेको थियो । तर ५२ वर्षपछि विश्व वरीयताको ४६औँ स्थानमा रहेको डिआर कङ्गो निकै बलियो टोलीका रूपमा देखिएको छ ।
डिआर कङ्गोले रक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतिआक्रमणमा पनि लगातार खतरा सिर्जना गर्यो । सेड्रिक बाकाम्बुले नजिकको दूरीबाट गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । उनले अर्को अवसरमा गरेको प्रहार भने लक्ष्यभन्दा बाहिरिएको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्दै छैटौँ पटक विश्वकपको अन्तिम चरण खेलेका छन् । तर ४१ वर्षीय रोनाल्डोले लगातार छैटौँ फरक विश्वकपमा गोल गर्ने इतिहास रच्ने अवसर भने पहिलो खेलमै पूरा गर्न सकेनन् । दोस्रो हाफको मध्यतिर वैकल्पिक खेलाडी फ्रान्सिस्को कोन्सेइसाओले दिएको दुईवटा लो कटब्याक पासमा रोनाल्डोले प्रहार गरे पनि दुवै प्रयास लक्ष्यभन्दा थोरैले बाहिरिए ।
पोर्चुगलसँग धेरै प्रतिभावान खेलाडी भए पनि टोलीले पूरै खेलमा जम्मा चारवटा प्रहार मात्र गर्न सकेको थियो ।पोर्चुगलले अब अर्को खेल जुन २३ मा उज्बेकिस्तानसँग खेल्दैछ भने त्यसपछि जुन २८ मा कोलोम्बियासँग खेल्ने तालिका छन् ।
त्यस्तै, डिआर कंगोले भने जुन २४ मा कोलोम्बियासँग र जुन २८ मा उज्बेकिस्तानसँग खेल्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।