इङ्ग्ल्यान्डको विश्वकपमा क्रोसियामाथि रोमाञ्चक जित

२०८३ अषाढ़ ०४ विहीवार
सारांश
  • मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो ।

काठमाण्डौ, ०४ अषाढ़ । इङ्ग्ल्यान्डले विश्वकप अभियानको सुरुआत रोमाञ्चक जितसँग गरेको छ । डलासमा भएको खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै समूह एलमा महत्वपूर्ण तीन अङ्क जोडेको हो ।

 

मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो ।

 

खेलको १२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । लुका मोड्रिचले नोनी माडुकेमाथि फल गरेपछि इङ्ग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले पहिलो प्रहार रोके पनि गोललाइन छाडेर अघि बढेको भन्दै पुनः पेनाल्टी दिइएको थियो, जसमा केनले गल्ती गरेनन् ।

क्रोएसियाले ३६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । मार्टिन बातुरिनाले शक्तिशाली प्रहार गर्दै गोल गरे । इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बलमा हात लगाए पनि त्यसलाई रोक्न सकेनन् ।

 

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डेक्लान राइसको कर्नरमा ह्यारी केनले हेडमार्फत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई पुनः अग्रता दिलाए । योसँगै उनले विश्वकपमा १० गोल पुर्‍याउँदै ग्यारी लाइनकरको कीर्तिमान बराबरी गरेका छन् । साथै, यो इङ्ग्ल्यान्डका लागि उनको ११५ खेलमा ८१औँ गोल पनि बन्यो ।

 

तर इङ्ग्ल्यान्डको रक्षापङ्क्ति फेरि कमजोर देखियो। पहिलो हाफको अतिरिक्त समयअघि नै इभान पेरिसिचको हेडर पासलाई पेटार मुसाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको केहीबेरमै जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरे । शक्तिशाली दौडपछि उनले सुन्दर फिनिसिङ गर्दै इङ्ग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मार्कस रासफोर्डले संयमित फिनिसिङमार्फत चौथो गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । यस जितसँगै इङ्ग्ल्यान्डले समूह एलमा सकारात्मक सुरुआत गरेको छ भने पहिलो खेलमा हार बेहोरेर क्रोसिया दबाबमा आएको छ ।

 

अब इङ्ग्ल्यान्डले अर्को खेल जुन २४ मा घानाविरुद्ध खेल्ने छ भने जुन २८ मा पनामाविरुद्ध खेल्ने छ । त्यस्तै, क्रोसियाले जुन २४ मा पनामासँग र जुन २८ मा घानासँग खेल्ने तालिका छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार