डबली सर्किट रन:२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक

२०८२ असोज ०५ आइतवार
सारांश
  • १८ वर्षमुनिका स्कुले खेलाडीबीच सम्पन्न प्रतियोगितामा गर्ल्सतर्फ २ किलोमिटर र ब्वाइजतर्फ ३ किलोमिटर दूरी तोकिएको थियो । दौड गहनापोखरीबाट सुरु भई भीमसेनस्थान, कृष्णमन्दिर डबली, कोटालटोल हुँदै पुनः गहनापोखरीमै सम्पन्न भएको थियो । उद्घाटन वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले सिट्ठी फुकेर गरेका थिए ।

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नं. ५ ले आयोजना गरेको डबली सर्किट रन–२०८२ सम्पन्न भएको छ । वडाबासी र वडाभित्रका विद्यालयका २६४ जना छात्रछात्रा (खेलाडीहरू) सहभागी उक्त प्रतिस्पर्धामा ब्वाइजतर्फ सफल पुन र गर्ल्सतर्फ साङ्ग्रिला श्रेष्ठ स्वर्ण पदक जित्न सफल भएका छन् ।

 

१८ वर्षमुनिका स्कुले खेलाडीबीच सम्पन्न प्रतियोगितामा गर्ल्सतर्फ २ किलोमिटर र ब्वाइजतर्फ ३ किलोमिटर दूरी तोकिएको थियो । दौड गहनापोखरीबाट सुरु भई भीमसेनस्थान, कृष्णमन्दिर डबली, कोटालटोल हुँदै पुनः गहनापोखरीमै सम्पन्न भएको थियो । उद्घाटन वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले सिट्ठी फुकेर गरेका थिए ।

 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रजापतिले भने- 'लिच्छविकालीन र पूर्वलिच्छवीकालीन समयमा डबलीले कुनै कुराको जानकारी दिने र सूचना आदान–प्रदान गर्ने थलोको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सोही ऐतिहासिक महत्त्वलाई आत्मसात् गरी प्रतियोगिताको नाम ‘डबली सर्किट रन’ राखिएको बताउनुभयो ।'

 

उनले यसले खेलकुदमा जागरण ल्याउनुका साथै सम्पदा–संस्कृति संरक्षणमा युवालाई आकर्षित गर्ने उद्देश्य बोकेको प्रष्ट पार्दै, ३० वर्षअघि गोर्खा रनर्स क्लबमार्फत आयोजित दौडलाई जीवन्त बनाउन पनि यस वर्षको 'डबली सर्किट रन' प्रतिस्पर्धा आयोजना गरिएको बताए । खेलकुदको विकासका लागि वडा नं. ५ भित्र तीन ठाउँमा व्यवस्थित खेलमैदान निर्माण हुँदै गरेको र वडास्तरीय मात्र नभई आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता समेत गरिने उनको भनाइ थियो ।

 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले खेलकुदलाई देश चिनाउने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गर्दै, काठमाडौँ महानगरपालिका अझ सशक्त रूपमा खेलकुदको विकासमा लाग्नुपर्छ । जिल्लाका अन्य पालिकासँग समन्वय गरी अगाडी बढ्न समिति तयार रहेको बताए ।

 

त्यस्तै, नर: दे जीवन्त हाडीगाउँका अध्यक्ष गोपाल डङ्गोलले पुर्खाले छोडेर गएको कला–संस्कृति, बाजागाजा, मूर्त–अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, ढुङ्गेधारा, जुँगा भएको महादेव, नारायण मन्दिरलगायत सम्पदाले वास गरेको पवित्र यस क्षेत्रमा खेलकुदसहित सामाजिक क्रियाकलाप निरन्तर गरिनुपर्नेमा जोड दिए । उनले सम्पदा संरक्षणसँगै समाजका विविध कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद १२ हजार, द्वितीयलाई ९ हजार, तृतीयलाई ६ हजार, चौथो र पाँचौँलाई क्रमशः ३ हजार र १५ सय रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिएको थियो । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही १ हजार रुपैयाँ प्रोत्साहन स्वरूप दिइएको थियो । सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

पुरस्कार वितरण वडा अध्यक्ष प्रजापति, वडा सदस्य शशी थापा, आरती सुनार, विजय प्रकाश कर्माचार्य, वडा सचिव विमल ज्ञवाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बलामी, नर: दे जीवन्त हाडीगाउँका उपाध्यक्ष रामकृष्ण प्रजापतिसहितका व्यक्तित्वले गरेका थिए ।

 

कार्यक्रमलाई सफल बनाउन नर: दे जीवन्त हाडीगाउँ, कैलाशकुट क्लब, त्रिशक्ति क्लब, बाजा खलः, आमा समूहलगायत वडाभित्रका विभिन्न संघ–संस्थाले सहयोग गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार